Fri. Mar 29th, 2024

वातावरण संरक्षण महत्व र चुनौती

हेमनाथ खतिवडा –

नेपाल प्राकृतिक सम्पदाले धनी मानिन्छ तर नेपालको मुख्य सहर काठमाडौँ तथा अन्य सहरदूषित भइरहेका छन् । विदेशी पर्यटक नेपालको हिमाल हेर्ने सपना बुनेर आउँछन् त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ नाक खुम्च्याउँछन् । काठमाडौं उपत्यका नछाडेसम्म दुर्गन्धले नाक, कान, घाँटी, आँखा र छालाको समस्याले चाहेर पनि दुई दिन बढी राजधानीमा बस्न सक्तैनन् । चीन सरकारको सहयोगमा बनेको चक्रपथमा कलंकीदेखि ललितपुर हुँदै कोटेश्वरसम्म बाटो फराकिलो गर्ने सिलसिलामा डँढेलो लागेको जंगलको धुवाँको मुस्लो जस्तो वा माघ महिनाको बाक्लो हुस्सु र तुवाँंलोझैँ हिँड्नै नसकिने गरी धुलो उडेको देखिन्छ । अन्यत्र पनि यो समस्या धेरै छ । जसका करण श्वासप्रश्वासमा पनि समस्या हुन्छ ।

वातावरण संरक्षणको कुरा गर्दा संरक्षणकर्मी भन्दा पनि हामी उपभोक्ता सजग हुनु पर्छ । मुलुकको पुनसंरचना भएको छ । हामी ०३१ सालमै बनेका नीति नियमबाट साशित छौं । समयानुकुल परिमार्जन भएर आउन आवश्यक छ । जिल्लाका नदिनाला , हिमाल नै यहाँका गहना हुन् । यहाँ हिमाल हेर्न, वातावरण जैविक, विविधता, संस्कृतिसँग रमाउनका लागि विश्वका कुनाकुनाबाट आउने पर्यटकको व्यवस्थापन गर्न नसके रसुवाको लाङटाङ, गोसाईकुण्ड र तामाङ सम्पदामार्गका व्यवसायीले आय बृद्धि गर्न सक्दैनन् । तसर्थ यहाँ वातावरण मैत्री पुर्वाधार निर्माण गर्नु आवश्यक छ । सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाउन लाग्दा यस क्षेत्रमा पुर्वाधार विकासमा पनि ध्यान दिन जरुरी छ । के दैनिक रुपमा ४÷५ सय पर्यटक आए भने हाम्रो विद्यमान लाङटाङ र गोसाईकुण्ड मार्गमा बनेका होटल , लज, विश्राम स्थल बाटो लगायतका पुर्वाधारले धान्न सक्ला ? यतिमात्र होईन पर्यटकीय क्षेत्रमा फोहोर व्यवस्थपन अहिले गाउँमा समेत समस्या देखिन थालेको छ ।

लाङटाङलाई मात्र भएपनि प्लाष्टिक मुक्त गर्न सुरुगर्न आवश्यक छ । प्लाष्टिक जन्य र सीसा जन्य फोहोरले सुन्दरता मात्र बिगारेको छैन । यसले हाम्रौ स्वास्थ्यमा नदेखिने गरी असर पारेकोले हाम्रो फोहोर आफैले सुरक्षित तवरले विर्सजन गर्ने कुरा अवको विषय हुनुपर्छ ।
अहिले विकास र वातावरण एक–अर्काका विरोधीजस्तै बनेका छन्। त्यसैले वातावरणमैत्री विकास अगाडि बढाउनुपर्ने देखिन्छ । जसले भावी पुस्ता स्वच्छ वातावरणमा जीवन यापन गर्न पाउने वातावरण बनोस् । वन जङ्गल विनास हुनेगरी सडक लगायत विकास निर्माण गर्दा कतै अर्को प्रकोप त निम्त्याउँदै छैनौँ ?यसबारे पनि गम्भीर भएर सोच्न जरुरी छ । महत्वपूर्ण संरक्षित क्षेत्र लाङटाङ जस्ता प्रमुख पर्यटकीय केन्द्रलगायत १४ जिल्लामै भत्केका मन्दिर, गुम्बा लगायत भौतिक संरचनाहरू पुराना काठसमेत प्रयोग गरेर संरक्षणमैत्री पुनर्निर्माण गर्न जरुरी देखिन्छ । अहिले प्लास्टिकजन्य फोहोरमैला व्यापक देखिन्छ । यसको व्यवस्थापनबारे खासै सोचिएको पाइन्न्। थोरै फोहोर फोहोर व्यवस्थापन गर्न सजिलै हुन्छ, दिनदिन बढ्दै जान्छ अनि समस्याको रूप लिन् ।

नेपालको सन्दर्भमा अहिले सरसफाइ तथा वृक्षरोपणका कार्यक्रम त बढिरहेका छन् । तर यो मात्र समस्याको समाधान होइन । दीर्घकालीन नीति र योजनाकै खाँचो छ ।

भूकम्पले नेपालको २ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षति पुगेको छ । भित्ता चर्किएका अस्पतालका भवनबाट बिरामीलाई उपचार सेवा दिँदा रेडियो विकिरण चुहिने गर्छ । नेपाल राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का चिकित्सकले त्रिवि शिक्षण अस्पतालमा गरेको अध्ययनले रेडियो विकिरणले मानव स्वास्थ्यमा खतरा पारेको निचोड निकालेका थिए । अस्पतालबाट निस्कने फोहोरको समस्यामाथि थप समस्याका रूपमा अहिले विकिरण थपिएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रामचन्द्र खनालले जानकारी दिएका छन् । चिकित्सकहरूले रेडियो विकिरणका कारण शरीरका कोषिकाहरू नष्ट हुने, रक्त क्यान्सर र अन्य अङ्गमा प्रभाव बढ्दै गएपछि थाइराइड, फोक्सो र मुटुको क्यान्सरको खतरा हुने बताएका छन् । पुनर्निर्माणमा राज्यले सोच्नुपर्ने कुरापनि धेरै छन् । कसरी प्रकृतिको संरक्षणमैत्री पुनर्निर्माण गर्ने, भूमिहीन सुकुमबासी किसानका समस्या र आर्थिक पुनर्निर्माणको पाटो महत्वपूर्ण कुरा हो ।

वातावरणले जीवनका लागि आवश्यक स्रोतहरू उपलब्ध गराउने हुनाले वातावरण सम्पूर्ण प्राणीको घर हो । प्राकृतिक स्रोत साधनको अत्यधिक प्रयोगले आज मानवलाई नै संकटमा पार्न खोजिरहेको छ । ओजन तहको विनासका कारण सूर्यबाट अत्यधिकरूपमा आउने परावैजनी किरण पृथ्वीमा आउने र पृथ्वीबाट माथि फर्केर जाने वातावरण नभएकै कारण पृथ्वीमा विश्वव्यावी उष्णता, जलवायु परिवर्तन, मरुभूमीकरण जस्ता समस्या अत्यधिक मात्रामा देखापरेका छन् ।

विकासका नाममा वातावरणलाई असरपार्ने काम पनि अत्यधिक भइरहेका छन् । जस्तै– वायु, जल, ध्वनि प्रदूषण कलकारखाना, गाडीले अत्यधिक गरिरहेका छन् भने विभिन्न कारखाना अव्यवस्थित तरिकाले सञ्चालन गर्दा जलप्रदूषण बढ्न गएको छ । कलकारखानाकै कारण ध्वनि प्रदूषण पनि भएको छ । जसका कारण मानसिक रोग र क्यान्सर जस्ता डरलाग्दा रोग पनि बढिरहेका विज्ञ बताउँछन् । प्रदूषणको मात्रा हेरेर त्यसको दोब्बर वातावरण संरक्षणको काम गर्न लगाउने हो भनेमात्र वातावरण संरक्षणमा केही सहयोग पुग्ने देखिन्छ ।

अहिले जलवायु परिवर्तनका अजेन्डा विश्वव्यापीरूपमा उठेको छ । उत्तिकै चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ । विश्वमा दिनानुदिन औद्योगिक क्रान्ति भइरहेको छ । विकासले भने फड्को मार्दै गइरहेको छ । एकातिर भौतिक विकास गर्न प्रतिस्पर्धा छ भने अर्काेतिर वातावरणीय पक्ष बिग्रँदैछ । वातावरण संरक्षणका नाममा विकास रोक्नुपर्छ भन्ने होइन, विकासको नाममा वातावरणीय विनाश भएकोतर्फ ध्यान दिनैपर्छ । यही ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ। भविष्य बिर्सेर हामीले आजका लागिमात्रै सोचेका छौंँ ।

यसकारण विश्वका वातावरणविद्हरू वातावरण जोगाउन लागिपरेका छन् । यसै सन्दर्भमा नेपालमा पनि वातावरण संरक्षण तथा जलवायु परिवर्तन न्यूनीकरण र जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमले प्राथमिकता पाउँदै गइरहेको छ । विकसित राष्ट्रहरूले औद्योगिक क्रान्ति त गरे तर त्यहाँबाट निष्काशित धुवाँ–धुलोका कारण वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जनको मात्रा बढ्यो । यसले गर्दा पृथ्वीमा जलवायु परिवर्तन हुन थाल्यो । नेपालजस्ता मुलुकले जलवायु परिवर्तन गराउनमा निकै कम भूमिका खेलेको देखिन्छ तर जलवायु परिवर्तनको असर भने खेप्न बाध्य भइरहेका छौँ ।

जलवायु परिवर्तनको विषयलाई पनि गम्भीररूपमा लिनुपर्छ । जलवायु परिवर्तनका कारण हुने प्राकृतिक प्रकोपका कारण धनजनको क्षति बेहोर्दै आइरहेका छौँ । कालान्तरमा अझै बढ्न सक्छ । यसकारण जलवायु परिवर्तनले निम्त्याएका समस्यासँग जुध्न सक्ने क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने योजना ल्याउनु आवश्यक छ । कसरी क्षति कम गर्ने भनेर पूर्वतयारी पनि गर्नु आवश्यक छ ।

जलवायु परिवर्तन र दिगो विकासको लक्ष्यबीच निकै नै अन्तरसम्बन्ध छ । जलवायु परिवर्तनका मुद्दालाई छाडेर दिगो विकासको लक्ष्य पूरा हुन सक्दैन । दिगो विकासका हरेक लक्ष्य जलवायु परिवर्तनसँग सम्बन्धित छ । यसले हरेक मुद्दालाई छुन्छ पनि । जब जलवायु परिवर्तन हुन्छ, कृषिमा ह्रास, ऊर्वर भूमिको विनाश, भौतिक पूर्वाधार विनाश हुने र आर्थिक समृद्धिमा बाधा पुग्छ । मानवको स्वास्थ्यमा प्रतिकूल असर पुग्छ । त्यसैले जलवायु परिवर्तनको अजेन्डालाई प्राथमिकता दिन नसके दिगो विकासका लक्ष्य पूरा गर्न सकिँदैन ।

२०७५ असार १६ गते प्रकाशित

About The Author

Loading...