Thu. Oct 10th, 2024

खिम्ती-ढल्केबर बनाउन सुरक्षाकर्मी परिचालन हुने

khimti
काठमाडौ –  खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माणका लागि सुरक्षा प्रदान गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र सिन्धुलीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई आदेश दिएको छ । रणनीतिक महत्त्वको उक्त प्रसारण लाइनको काम रोकिएको २० महिनापछि ऊर्जा मन्त्रालयको आग्रहमा गृहले सोमबार त्यस्तो आदेश दिएको हो ।

गृह मन्त्रालयले खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण गर्न सुरक्षा प्रदान गर्ने भएको छ, ऊर्जा मन्त्रालय स्रोतले भन्यो, सुरक्षा प्रदान गर्न सिन्धुलीका सीडीओ र प्रहरी प्रधान कार्यालयलाई आदेश जारी भएको जानकारी आएको छ ।

सुरक्षाकर्मी परिचालन हुने भएपछि विद्युत् प्राधिकरणले बुधबारदेखि काम सुरु गर्न ठेकेदारलाई निर्माणस्थल परिचालन गरिसकेको छ । तर विपक्षी मोर्चाको बन्दका कारण काम सुरु हुन एकरदुई लाग्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिनुभयो । बुधबारदेखि काम सुरु गर्ने तयारी हो, उहाँले भन्नुभयो, ठेकेदार फिल्डमै भए पनि बन्दका कारण काम सुरु हुन एकरदुई दिन लाग्न सक्छ ।

प्राधिकरणकै अनुरोधमा ऊर्जा मन्त्रालयले सुरक्षा माग गर्दै गृहलाई पत्राचार गरेको हो । काफ्लेले स्थानीय बासिमाथिन्दा बल प्रयोग गरेर प्रसारण लाइन निर्माण गर्नु प्राधिकरणको उदेश्य नभएको बताउनुभयो ।

उहाँले अब कुनै पनि बहानामा खिम्ती-ढल्केबर प्रसारण लाइन निर्माण कार्य नरोकिने पनि प्रस्ट पार्नुभयो । बल प्रयोग गर्ने हाम्रो उद्देश्य होइन । स्थानीय बासिन्दालाई वार्ताका लागि आह्वान गरिसकेका छौं, उहाँले भन्नुभयो, तर अब कुनै पनि बहानामा काम रोकिनु हुन्न भन्नेमा पनि उत्तिकै सजग छौं ।

२ सय २० केभी क्षमताको उक्त प्रसारण लाइन निर्माण कार्य विश्व बैंकको आपत्तिका कारण २०७० असारदेखि रोकिएको हो । उसले ऊर्जा मन्त्रालयलाई पत्र पठाएर स्थानीय बासिन्दाले क्षतिपूर्ति नपाएको, अन्यायमा परेको भन्ने लगायत उजुरी गरेको भन्दै काम रोकेको थियो । त्यतिबेला विश्व बैंकले आफ्नो ऋण सहयोगमा सञ्चालित उक्त प्रसारण लाइनमा आफैंले छानबिन गरेपछि मात्र काम सुरु गर्न भनेको थियो । तर उसले २० महिना बितिसक्दा पनि छानबिन प्रतिवेदन बुझाएको छैन ।

पछिल्लो समय विद्युत् प्राधिकरणले एकतर्फी रूपमा काम सुरु गर्न लागेका बेला विश्व बैंकले करिब २ साताअघि काम रोक्नुको कारणबारे छानबिन प्रतिवेदन एकतर्फी रूपमा सार्वजनिक गरेको थियो । त्यसपछि प्राधिकरणले उक्त प्रतिवेदनले गरेको सिफारिससमेत समेट्ने उद्देश्यले काम रोकेको थियो । तर विश्व बैंकले उक्त प्रतिवेदन नै नदिएपछि अझ पर्खिंदा निर्माण कार्य हुने मुख्य समय बित्ने भएकाले प्राधिकरणले यही हिउँदमा उक्त प्रसारण लाइनको काम सक्ने उद्देश्यसहित सुरक्षा माग गरेको हो । विश्व बैंकले खिम्ती-ढल्केबर प्रसारण लाइनको महत्त्व र संवेदनशीलता नै बुझेन, कार्यकारी निर्देशक काफ्लेले भने । विश्व बैंक, एसियाली विकास बैंक र जाइकालगायत दातृ निकाय नेपालको विकास निर्माणको काम महँगो र ढिलो बनाउन भूमिका खेलिरहेको भन्दै आलोचित छन् । खिम्ती-ढल्केबर निर्माण गर्न करिब ३ महिना लाग्छ । तत्काल काम सुरु नगरे वर्षा लाग्नुअघि उक्त प्रसारण लाइन निर्माण सकिँदैन । इकान्तिपुर अनलाइनबाट

About The Author