Fri. Mar 29th, 2024

सूचना संस्कृति र हाम्रो अभ्यास

राजेन्द्र प्रताप शाह

सूचना संस्कृति हाम्रो प्राण हो । आत्मा हो । सूचना संस्कृति बिनाको समाजको अब कल्पना पनि गर्न सकिन्न । हामी समृद्धिको कुरा गरिरहेका छौँ । विकासको सपना देखि रहेका छौँ । अरु देश जस्तो विकासको शिखरमा हाम्रो देश किन पुग्दैन भनेर आफैमा प्रश्न गरिरहेका छौँ । फेसबुक लगायत सामाजिक संजालमा गुनासो र आक्रोस पोखिरहेका छौँ ।

हाम्रो देशमा दूरदर्शी नेता भएन भन्ने हामी कतिपयको ठम्याई होला । जनता नै अल्छी भएर विकास नभएको भन्ने पनि कत्तिको बुझाई हुन सक्छ । यी सबै ठम्याई र बुझाई सहि पनि होलान् । लोकतन्त्रमा यस्ता धारणा, बुझाई, दृष्टिकोण र चिन्तनको ठूलो महत्व हुन्छ । र, यसलाई सम्मान पनि गरिन्छ ।

तर हामीले यहाँ बुझ्नु पर्ने कुरा के हो भने सबै कुरा हुँदाहुँदै पनि सूचना संस्कृतिको विकास छैन भने त्यो मुलुकमा सही विकास हुन सक्दैन । विकासको शिखरमा पुगेको मुलुक पनि सूचना संस्कृृतिको राम्रो अभ्यास हुन नसक्दा क्रमशः अधोगतितिर लाग्न पुग्छ । सूचना संस्कृति के हो त ? हामीले यसलाई कसरी बुझ्ने ? कसरी मापन गर्ने ? प्रश्न उठ्न सक्छ । प्रश्न उठ्र्नै पर्ने आजको यो विषय पनि हो । सूचना जानकारी हो ।

हाम्रो जिज्ञासाको परिणाम पनि हो । मनको तिखाई र खुल्दुलीको समाधान पनि हो । हरेक घटनामा हामी के भयो होला भनेर छिटोभन्दा छिटो सामाजिक संजालमा आखाँ नचाउछौँ । साथीभाइसँग उत्सुुकता पोख्छौँ । हो, त्यसबाट आउने नतिजा नै सूचना हो ।

सूचनाबाट नयाँनयाँ कुरा सिकिन्छ, बुझिन्छ । सूचना प्राप्त हुदाँ हामी आफूलाई सम्पन्न सोच्छौँ । शक्तिशाली महशुस गछौँ । त्यसैले सूचना शक्ति पनि हो ।
मलाई नयाँ उद्योग खोल्नु प¥यो । देशमा केही न केही त गर्नै प¥यो । । हो, त्यसोभए अब मैले खोल्न लागेको उद्योगबारे पर्याप्त सूचना लिनु प¥यो । आफूलाई चाहिदो जानकारी नलिइकन उद्योग खोलेमा म फस्न सक्छु ।
राम्रो सूचना लिएर खोलिएको उद्योग चल्छ । उद्योग खोल्नुभन्दा पहिले सूचना लिने, त्यसपछि साथीभाइसँग सरसल्लाह लिने र अन्तमा आफू निश्चित भएर लगानी गर्नुपर्दछ ।

हामी पहिले लिने सूचना उद्योग चलाएपछि मात्र लिन खोज्छौँ । उल्टो दिशामा हाँकेपछि हाम्रो सवारी दुर्घटनामा पर्ने निश्चित छ ।
सूचना भनेको जानकारी हो भनेर सरल भाषामा बुझ्न सकिन्छ । तीन अक्षरको सूचना बुझ्नोस् या चार अक्षरको जानकारी कुरा उही हो ।
सूचना माथिको पहुँच नै सूचनाको हक हो । सूचना माग्ने, मागेको सूचना प्राप्त गर्ने र प्राप्त गरेको सूचना प्रयोग गर्न पाउने प्रत्येक व्यक्तिमा अधिकार हुन्छ । यसलाई सूचनाको हकको अधिकार पनि भनिन्छ । सार्वजनिक निकायको सूचना माग्न पाउने प्रत्येक नागरिकमा अधिकार हुन्छ । यो संविधान प्रदत्त अधिकार पनि हो ।

सूचनाको हकको अधिकार प्रयोग विश्वमा पहिले स्वीडेनमा भएको हो । सन् १७६६ को डिसेम्बर २१ मा स्वीडेनको संसदमा सूचनाको हक अधिकार सम्बन्धि विधेयक प्रस्तुत भयो । चर्काचर्की बहसपछि विधेयक पारित भयो । विधेयक प्रेस कानूनको रुपमा आएपछि स्वीडेनी जनतालाई राज्यको कामकारबाही बारे जान्ने, बुझ्ने र सोध्ने अधिकार प्राप्त भयो । यो एउटा ऐतिहासिक र युगान्तकारी घटना थियो । सिङगो विश्वलाई स्वीडेनले तरङगीत बनायो ।

स्वीडेनमा सूचनाको हक सम्बन्धी प्रेस कानुन आएको ठीक दुई सय वर्षपछि मात्र अमेरिकामा यससम्बन्धी कानुन निर्माण भयो । सन् १९६६ मा अमेरिकामा सूचनाको हक अधिकार सम्बन्धी कानून आएपछि यसको प्रभाव सिङगो विश्वमा प¥यो । स्वीडेनमा कानून आइसक्दा पनि मौन बसेको विश्व अमेरिकामा सूचनाको कानून निर्माण भएपछि निकै तातेको र छटपटाएको देखिन्छ ।

त्यसकै प्रतिफल हो, सन् २००० को दशकमा यो कानून लागू गर्ने मुलुक ४० पुग्यो । २०१० मा ८२ र २०१६ मा ११४ मुलुकले सूचनाको हक सम्बन्धी ऐन लागु गरे । सूचनाको हकसम्बन्धी ऐन कुनै पनि शासकले त्यति सजिलो दिएका छैनन् । स्वीडेनकै कुरा गर्ने हो भने त्यतिबेला देशको ठूलो बजेट सैनिक खर्चमा छुट्टाइएको थियो । जनतामा सरकारप्रति ठूलो गुनासो र आक्रोश थियो । त्यहि आक्रोशलाई मत्थर गर्न यो कानून ल्याइएको थियो ।

अमेरिकामा सन् १८०० मा कोर्ट अफ भर्जिनियाले जान्न पाउने हक सबैमा सुरक्षित रहेको फैसला गरेर एक नजिर बसालेको थियो । तर त्यस नजिरलाई अमेरिकी सरकारले लामो समयसम्म बेबास्ता गरिरह्यो ।
नेपालमा २०४७ सालको संविधानले सूचनाको हकलाई मौलिकहकको रुपमा स्वीकार गरेको थियो । त्यससम्बन्धी कानून भने २०६४ सालमा मात्र बन्न पुग्यो । सूचनाको हकसम्बन्धी नियमाबली २०६५ सालमा आयो ।

सूचनाको हकसम्बन्धी अधिकार अन्य देशको तुलनामा हाम्रो नेपालमा निकै राम्रो छ । छिमेकी भारत लगायत कतिपय देशमा राजनैतिक दलको सूचना माग्न पाउने कानून छैन । हाम्रो ऐनले राजनैतिक दललाई समेत सार्वजनिक निकायको परिभाषामा राखेको छ । हाम्रो कानूनले सबै सार्वजनिक निकायको सूचना माग्न पाउने छुट छ । सार्वजनिक निकायमा सरकारी निकाय, संघसंस्था, सहकारी, विद्यालय सबै पर्दछन् ।

सबै सार्वजनिक निकायले एक जना सूचना अधिकारी राख्नु पर्ने व्यवस्था छ तर हामीले त्यो नियम राम्ररी पालना गर्न सकिरहेका छैनौँ ।
स्थानीय सरकारको रुपमा चिनिने अधिकांश गाउँपालिका र नगरपालिकाले अझै सूचना अधिकारी राखेका छैनन् । कतिपयको बुझाईमा त आफ्ना आइटी अफिसर र कम्प्यूटर अपरेटर नै सूचना अधिकारी हुन् भन्ने छ । तर त्यसो होइन । कार्यालय प्रमुखभन्दा एक तहमुनिको कर्मचारीलाई सूचना अधिकारी बनाइदाँ राम्रो हुन्छ । त्यस्ता कर्मचारीमा स्वतः सूचनाको पहुँच हुन्छ । र अन्यले माग्न आउँदा दिन सक्ने हैसियत राख्दछ ।

नेपालमा एक शक्तिशाली सूचना आयोग छ । आयोगमा कृष्णहरि बास्कोटा प्रमुख सूचना आयुक्त हुनु्हुन्छ भने अन्य आयुक्तमा किरणकुमार पोखरेल र यशोधा तिमिल्सीना हुनुहुन्छ । सूचना आयोगमा रहेको सुन्दर टिमले सूचना संस्कृतिको विकासमा ठूलो योगदान दिएको छ । बरिष्ठ पत्रकार बबिता बस्नेतको नेतृत्वको म्याग नेपालले पनि गैरसरकारीको क्षेत्रबाट यसमा केही न केही भूमिका खेलिरहेको छ ।

म्याग नेपालले धादिङमा तालिम प्राप्त दशजना सूचना अभियन्ता परिचालित गरेको छ । ती सूचना अभियन्तामा गोमा थापा, गंगा सिलवाल, राममाया श्रेष्ठ, कमला कोइराला, ज्ञानु गुरुङ, सीता अधिकारी, अनिता तामाङ, शान्ति घर्ती, ज्ञानु तामाङ र रन्जिता तामाङ रहनु भएको छ । म्याग नेपालले दुईसय जना महिलालाई सूचनाको हक सम्बन्धी तालिम दिई सकेको छ । त्यसैगरी जनप्रतिनिधि सूचना अधिकारी, पत्रकार र संघसंस्थाका प्रतिनिधिलाई समेत यसले तालिम दिइसकेको छ ।

दर्जनौ सार्वजनिक निकायमा सूचना अभियन्ता र सर्वसाधारणले सूचना मागीसकेका छन् । सूचनाको हकको प्रयोगमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले पनि भूमिका निर्वाह गरेको छ । बेलाबेलामा विभिन्न कार्यक्रम मार्फत महासंघले सूचनाको प्रयोगमा योगदान दिइरहेको पाइन्छ ।

सूचना माग्ने र सूचना दिने प्रकृयालाई हाम्रोमा सहज रुपमा लिइएको छ । यसले सूचना संस्कृतिको विकासमाज्ञ योगदान पुग्छ । सूचना माग्ने अभ्यासले सूचना संस्कृतिको प्रवद्र्धनमा मद्धत पुग्छ । सूचना संस्कृति राम्रो भएको मुलुकमा भ्रष्टाचार शून्य हुन्छ । सहनशिलता हुन्छ र त्यो देश समृद्धिको बाटोमा अघि बढ्छ ।

२०७५ साउन २१ गते प्रकाशित

 

About The Author

Loading...