Thu. Mar 28th, 2024

अपराधको जालो तोडौं


गायत्री खतिवडा –

“अरुका लागि जन्मदिने बुबाले ज्ञान दिन्छन् । नराम्रो कुराहरुसंग लड्ने साहस र शक्ति दिन्छन् । तर मेरो बुबाले मेरो अस्तित्व लुटे । मलाई जन्म दिए र फेरी ज्यूँदै मारे ।” आफ्नै बाबुद्धारा बलात्कारको शिकार भएकी १४ वर्षिया किशोरीको पीडा हो यो ।

मन गाँठो पारेर आखाँभरि आँशु पार्दै उनले भनिन् : “म फलानाको छोरी भनेर समाजमा कसरी बाँच्ने ? मलाई त्यो मान्छेसंग नाम जोड्न मन छैन । म र मेरी आमालाई दिएको यातनाको हिसाब छैन ।”

यो त प्रतिनीधि उदाहरण मात्र हो । पछिल्लो समयमा बलात्कारका क्रुर रुपहरु बाहिर आइरहेको छ । हरेक दिन बलात्कारको घटना भइरहेको छ । ३ सय ६५ दिनमा कुनै दिन छैन सायद बलात्कारको घटना नभएको ।

बलात्कार कानुनी रुपमा जघंन्य फौजदारी अपराध हो । प्रभावित व्यक्तिको व्यक्तिगत जीवन र सामाजिक जीवन पार्ने असरको यहाँ हिसाब गर्न सकिन्न । धादिङ जिल्लामा हरेक वर्ष ३० देखि ३५ वटा बलात्कारको घटना बाहिर आउने गरेको छ । अझै कति घटना उजुरीमा आउन सकेको छैन । यि मध्ये अधिकांश प्रभावितहरु घरपरिवारबाट विस्थापित हुन्छन् । कति जना प्रभावितको परिवार समेत गाउँ निकाला र बहिष्कारमा पर्नुपर्छ । सामाजिक बहिष्कारको डरले कति प्रभावितका आफन्तले घटना बाहिर ल्याउन नै चाहदैनन् ।

“मेरो चार वर्षकी छोरी माथी तीन जना केटाहरुले जवरजस्ती करणी गरेछन्् । त्यस पछि मेरो छोरी बिरामी परिन् । काठमाडौ टिचिङ अस्पताल लगेर उपचार गराएँ । मेरो छोरीको यौनी च्यातिएर पाठेघर सम्म असर पुगेको छ रे । घटना भए पछि यता छोरीको पिसाब नरोकिने समस्या देखिएको छ । छोरीले हिड्दा खुट्टा खोच्याउँछिन् । ”

“मेरो यही एउटी छोरी हो । छोरीमाथी भएको घटनाको बारेमा उजुरी गरेमा गाउँ निकाला गर्छौं भनेका छन् छिमेकीहरुले । त्यसैले उजुरी गर्न मन लागेन । हाम्रो परिवार गरिब छ । जग्गा जमिन धेरै छैन । ज्यालादारी गरेर जिविका चलाउँदै आएका छौं । छोरीको बारेमा उजुरी गरिस् भने तेरो श्रीमानलाई काम दिदैनौं भनेका छन् । त्यसैले उजुर गर्न मन लागेन ।”
“मेले उजुर गरेर के पाउँछु ? मेरी छोरीले के पाउछे ?”

एक जना बलात्कार प्रभावित बालिकाकी आमाको अभिव्यक्ति । यि महिलाको भनाइबाट पनि बुझ्न सकिन्छ कि बलात्कार प्रभावित र उनको परिवारले कुन परिस्थितिको सामना गरिरहनु परेको छ भन्ने ।

हामीलाई सानै देखि नचिनेको मान्छे देखि सावधान हुन सिकाइयो । तर आफ्नाहरु देखि होशियार रहन सिकाइएन । म सानो हुँदा आमाले भन्नुहुन्थ्यो “नचिनेको मान्छेसंग नबोल्नु र नचिनेको मान्छेले दिएको नखानु” । म पनि यस्तै सोच्थें । अहिले पनि नचिनेको मान्छेसंग हत्तपत्ति कुरा गरिहाल्न मन लाग्दैन । तर मलाई कहिल्यै भन्नुभएन “तिमी आफ्ना भनिएकाहरु संग पनि सावधान रहनु , आफ्ना भनिएकाहरुले तिम्रो इच्छा विरुद्धको व्यवहार गरेमा चिच्याउनु , कराउनु र नाइँ भन्नु” ।

मलाई मात्र होइन आज सम्म कुनै पनि आमाहरुले आफ्नो छोरीहरुलाई “नचिनेको मान्छेहरु संग जस्तै आफ्नाहरु देखि पनि सजग रहनु र मन नपरेको व्यवहार गरेमा नाइँ भन्नु” भनेर सिकाएकै छैनन् । त्यसैले त आफ्नै बाबु, दाई , मामा, हजुर बा , काका जस्ता नजिकका नाताका व्यक्तिहरुले बलात्कार गर्नेको संख्या धेरै रहेको छ । यस्ता नजिकका आफन्तहरुले गर्ने बलात्कारको घटना निकै लामो समय पछि मात्र बाहिर आउने गरेको छ । कति घटना बाहिर आउन नै सक्दैन । प्रभावित बालिका र किशोरीले भन्नै सक्दैनन् ।

२० जना बलात्कारका प्रभावितलाई घटना भएको कति समयपछि भन्न सक्नुभयो ? भनेर सोधिएको प्रश्नमा चाँडोमा एक महिनापछि देखि एक वर्ष कटिसकेपछि मात्र भन्न सकेको बताएका थिए । साथै को नाता पर्ने ? भनेर सोधिएकोमा २० जना मध्ये ३ जनाले मात्र नचिनेको मान्छे भएको बताएका थिए । यो एउटा प्रतिनीधि उदाहरण मात्र हो । यहाँ ख्याल गर्नुपर्ने के छ भने बलात्कारको कानुन अनुसार घटना भएको ६ महिना कटेपछि उजुर गर्न पाइदैन । आफ्नो परिवारका सदस्यले गर्ने अधिकांश यौन हिंसामा लामो समय सम्म पनि भन्न नसकेर उजुरीमा जान नपाएको देखिन्छ ।

जति बलात्कारको घटना भइरहेको त्यसको विरुद्धमा कम मात्र आजाव उठ्छ । पत्रपत्रिका र रेडियो , टेलिभिजनमा पनि पाँचौ, छैठौं नम्बरको समाचार बन्छ । पत्रिकाको तेस्रो पेजको कुनोतिर सानो कोलममा सामाचार छापिन्छ । रेडियो र टेलिभिजनको अन्तिमतिर दुई हरफका समाचार बन्छ ।

महिलामाथी हुने हिंसा अझ बलात्कार जस्तो अघंन्य अपराध आज पनि “सामान्य विषय ” बन्नु दुःखद कुरा हो । एउटा मान्छेको स्वतन्त्रता छिन्ने कुरा “मानवअधिकारको गंम्भिर मुद्दा” बन्नुपर्ने थियो । तर कहिल्यै हुन सकिरहेको छैन । कसरी अपराधको जरा उखेल्न सकिन्छ ? भनेर खोज र अनुसन्धानको सवाल हुनुपर्ने थियो । तर दुःखद कुरा बलात्कारको घटना त “राजनीति गर्ने हतियार भैइरहेछ ।” भोट किनबेच गर्ने राजनीतिक हतियार ।

आफ्नो गाउँ, समाज र टोलमा हरेका दिन हुने बलात्कारको घटना सुन्दा पुरुष वर्गले शिर निहु¥याउनु पर्ने, लज्जाको विषय हुनुपर्नेमा उल्टै सामाजिक सञ्जाल मार्फत महिलालाई गालि र दुव्र्यवहार गर्दैछन् । आफ्नो वर्गमाथीको कलंकको धब्बा हटाउन हात र साथ दिनुपर्नेमा उल्टै हिंसा र अपराधको विरुद्धमा पैरवी गर्ने अभियान्ता महिलाहरुमाथी नै दुव्र्यवहारको शब्द ओकलेर कुन्ठा पोखिरहेछन् ।
एक जोर स्तन, एक यौनी र पाठेघर लिएर जन्मिएका हरेक स्त्री जाति केवल भोग्ने साधन हुन् भन्ने चेत भएका पुरुष वर्गको सोचमा परिवर्तन नहुँदा सम्म बलात्कारको घटना भइरहनेछ । “म मर्द हुँ , स्त्री जाति मेरो मनोरञ्जनको साधन हो । मेरो इच्छा अनुसार भोग्ने साधन हो” भन्ने पुरुष वर्गको सोच नबदलिए सम्म बलात्कार भइरहने छ ।

त्यसैले अपराधको जरा उखेल्न पितृसत्ताले उन्मत्त भएको समाजको जरा उलेख्न जरुरी छ । कानुनी रुपमा दण्ड सजायँको व्यवस्था कडा बनाउँदै हिजो देखि “पुरुषलाई मालिक र महिलालाई दासीको” रुपमा पढाउँदै आएको हानिकारक मुल्य मान्यताको जालो तोड्न ढिला भइसकेको छ ।

[email protected]

२०७५ साउन २५ गते प्रकाशित

About The Author

Loading...