रामकुमार थापा
४ बैशाख, धादिङ – उत्तरी धादिङका झार्लाङ, तिप्लिङ र सेर्तुङ गाउँ विकास समितिका स्थानीयहरुलाई नुनको जोहो गर्न कठिन भएको छ ।
उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समितिका स्थानीयले अहिले पनि एक पोका नुनलाई ६० रुपैया तिरेर खान बाध्य छन् । धादिङबेसीबाट ३ दिनको पैदलयात्राबाट पुग्न सकिने तिप्लिङका स्थानीयहरु सरकारले अनुदानमा वितरण गरेको आयोडिन नुन चर्को मुल्य तिरेर उपभोग गरिरहेका छन् ।
बजारमा २० रुपैँयाामा पाईने नुन उत्तरी धादिङको तिप्लिङ गाउँ विकास समितिमा भने ५५ देखी ६० रुपौया सम्म पर्ने गरेको छ । धादिङबेसीबाट सामान लैजादा निकै महंगो पर्ने भएको कारण दैनिक उपभोग्य सामानको मुल्य बढेको झार्लाङ गाउँ विकास समितिका सुन बहादुर बिकले बताउनुभयो ।
धादिङबेसीबाट डुन्डुर खोला सम्म गाडीमा सामान लगेर त्याहाँबाट खच्चरमा सामान गाउँ लैजादा ढुवानी महंगो भएको हो । खच्चडले एक किलो ग्राम सामान बोकेर तिप्लिङ पुगेको २० रुपैँया सम्म लिने गरेको छ । दैनिक जिवनमा अति आवश्यक पर्ने नुनको मुल्य महंगो हुँदा न्युन आर्थिक अवस्थामा भएकोहरुलाई निकै समस्या भएको तिप्लिङका प्रेम बहादुर तामाङले बताउनुभयो ।
बजारमा पाईने मुल्य भन्दा बढी ढुवानी खर्च लाग्ने गरेको स्थानीय देउवा तामाङले बताउनुभयो । सडक मार्गले अहिले पनि छुन नसकेकोको झार्लाङ, तिप्लिङ र सेर्तुङका स्थानीयहरु चर्को मुल्य तिरेर दैनिक उपभोग्य बस्तु खरिद गरिरहेका छन् ।