६ बैशाख, धादिङ – देशभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कार्यक्रम अनुसार वैशाख ६ र ७ गते भिटामिन ए खुवाउने कार्यक्रम रहेको छ । यस्तै एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने बाल स्वास्थ्य महाशाखाले जनाएको छ । नगरपालिका र गाविसका हरेक वडामा तोकिएका केन्द्रहरूमा भिटामिन ‘ए’ जुकाको औषधी खुवाउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । यसका लागि स्वास्थ्य स्वयम्सेविकाहरूलाई परिचालन गरिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच धादिङमा पनि खुवाइदै छ ।
भिटामिन ए ले बालबालिकामा पोषणसँगै स्वास्थ्य राम्रो राख्न तथा विभिन्न रोगहरुसँग लड्ने क्षमता बढाउन मद्धत गर्छ । भिटामिन ए को कमीका कारण बालबालिकाको आँखाको दृष्टि कमजोर हुने, शारीरिक बृद्धि राम्रोसँग नहुने, पछि प्रजनन् स्वास्थ्यमा समेत समस्या देखिन सक्ने हुँदा सबै बालबालिकालाई भिटामिन ए खुवाउन क्षेत्रीय स्वास्थ्य निर्देशक भिम आचार्यले आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयले हरेक ६,६ महिनामा वालवालिकालाई भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि निशुल्क खुवाउने गर्दछ ।