Tue. Jul 16th, 2019

पेट्रोल पम्पजस्तै सवारी चार्जिङ स्टेशन’

८ कात्तिक, काठमाडौं

सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेशनहरु स्थापनाका छुट्टै नीतिगत र कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्ने देखिएको छ । अहिले विद्युतीय सवारी चलाउनेहरुका लागि चार्जिङ स्टेशनको ठूलो समस्या छ ।

विद्युतीय सवारीको ब्याट्री सीमित दूरी पार गरेपछि फेरि चार्ज गर्नुपर्ने हुन्छ । नेपालमा ब्याट्री साटेर चलाउने व्यवस्था पनि आइसकेको छैन । त्यसैले अहिले चार्जिङ स्टेशन नहुँदा विद्युतीय सवारीधनीहरु हैरान छन् भने यसको प्रयोगका लागि उत्सुक रहेकाहरु पनि प्रोत्साहित हुन सकेका छैनन् ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अब विद्युतीय चार्जिङ स्टेशनमा निजी क्षेत्रको लगानी ल्याउनुपर्ने बताउँछन् । उनी अब चार्जिङ स्टेशन पनि पेट्रोल पम्पजस्तै गरी खोल्न दिन छुट्टै नीति नियम र निर्देशिका जरुरी रहेको औल्याउँछन् ।

शहर र राजमार्गहरुमा पेट्रोल पम्प जस्तै विद्युतीय चार्जिङ स्टेशन खोल्ने बाटो कानुनतः खुलिकसकेको छैन । त्यसैले अब एउटा स्पष्ट कानुनी व्यवस्था गरेर अघि बढ्नुपर्नेबारे ऊर्जा मन्त्रालयमा प्राधिकरणले छलफल अघि बढाएको घिसिङले बताए ।‘सबैतिर प्राधिकरणले चार्जिङ स्टेशन खोल्न सक्दैन, पेट्रोल पम्पमा निजी क्षेत्रको लगानी यसमा आउनुपर्छ,’ उनले भने,’विद्युतीय सवारीका लागि चार्ज गर्दा लाग्ने सुलभ रेट भने हामीले तोक्नुपर्छ । सवारी प्रयोगकर्तालाई प्रोत्साहन गर्ने गरी चार्जिङ स्टेशनको विजुलीको रेट तोकिनुपर्छ ।’

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार अहिले पनि विद्युतीय टेम्पोको चार्जिङलाई लक्षित गरेर यातायात वर्गको छुट्टै विद्युत महशुल रेट छ । उनी त्यसमा अझ सुधार गरेर विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताउँछन् ।चार्जिङ स्टेशनका लागि केही नीतिगत गृहकार्य जरुरी रहेको भन्दै अधिकारीले अब सरकारले निकट भविष्यमै यसबारे ठोस निर्णय लिनसक्ने बताउँछन् । अब विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न सरकार अघि सरेकाले राजमार्गमा चार्जिङ स्टेशनहरु निर्माणका लागि निजी क्षेत्र पनि तयार भएर आउने अपेक्षा सरकारको छ ।

काठमाडौंमा अहिले केही निजी क्षेत्रका विद्युतीय सवारी आयातकर्ताले चार्जिङ स्टेशन बनाएका छन् । विद्युतीय टेम्पोको पनि चार्जिङ स्टेशन छ । तर, अब सबैको साझा पहुँचमा हुने गरी शहर र राजमार्गका विभिन्न भागमा चार्जिङ स्टेशन राख्नुपर्ने अवस्था आइसकेको निश्कर्ष यातायात व्यवसायीहरुको छ । प्राधिकरण पनि त्यही व्यवस्था हुनुपर्ने निश्कर्षसहित सरकारसँग छलफलमा छ ।पछिल्लो सयममा कार उत्पादक कम्पनीले पनि नेपालमा लक्षित गर्दै विद्युतीय कारहरु भित्र्याएका छन् । महिन्द्र्रा, किया, हुण्डाई, टाटा लगायतका ब्राण्डले आफ्ना विद्युतीय कार नेपालमा ल्याइसकेका छन् ।

२०७५ कात्तिक गते प्रकाशित

Loading...