चितवन – स्वाइन फ्लुका नामबाट परिचित एचवान एनवान एन्फ्लुएन्जाबाट सक्रमित हुनेको संख्या चितवनमा बढ्दो गतिमा रहेको छ।
पछिल्लो समयमा गत साता शंकास्पद ५४ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएकोमा थप १३ जनामा स्वाइन फ्लु संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। योसँगै जिल्लामा स्वाइनफ्लु संक्रमितको संख्या एक सय ६६ पुगेको छ।
संक्रमितमध्ये ९७ जना महिला र ६९ जना पुरुष रहेका छन्। एक जनाबाहेक सबै संक्रमित उपचारपछि सञ्चो भएर घर फर्किसकेका छन्। एक जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
रुघाखोकी र ज्वरो आएर स्वाइन फ्लुको शंका लागेका हालसम्म पाँच सय ५६ जनाको नमूना परीक्षण गर्दा एक सय ६६ जनामा संक्रमण पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। भरतपुर उपमहानगरपालिकाको दस र एघार नम्बर वडामा बढी संक्रमित फेला परेको जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीले जानकारी दिएका छन।अन्नपूर्णबाट