Wed. Dec 4th, 2024

सार्वजनिक सवारीमा सकसपूर्ण यात्रा

सिर्जना खनाल

sirjana khanal
कोही आनन्दले सिटमा वसेर निदाइरहेका छन् । कोही मुख खुम्च्याउँदै दुई हातले डण्डीमा झुन्डिरहेका छन् त कोही बसको छततिर तछाड मछाड गर्दै उक्लिदै छन् । ग्रामीण क्षेत्रमा चल्ने अधिकांश सार्वजनिक सवारी साधनको दुर्दशा भनौ, रहर भनौ या बाध्यता भनौ । ग्रामीण रुटमा चल्ने सार्वजनिक सवारी साधनहरु घटिमा एउटा र बढिमा दुईओटा मात्रै चल्ने गर्छन् । चाडबाडको वेलामा त ति दुवै सवारीहरु भरिभराउ हुन्छ । खुट्टो राख्ने ठाउँ समेत पाइदैन । जो सिटमा बसिरहेका हुन्छन उनीहरुलाइ अलिकति छोइँदा पनि कस्तो ठेलेको अलि उता सर्नुस् न ? भन्छन् । अनि जो उभिइरहेका हुन्छन् उनीहरु चाँही थोरै सर्नुस् न ल ? मिलेर बसौं भनेर भनिरहेका हुन्छन् ।

गाडीमा महिला मैत्री, अपाङग मैत्री सिट भनेर लेखेको देख्दा देख्दै पनि कतिपय सपाङग दाजुभाईहरु नटेरी सिटमा बसिरहेका हुन्छन् । महिला आफ्नो बच्चासहित गाडीमा चढ्छे, उनी आफ्नो जीउ समेत धान्न सक्दिनन्, अनि गाडी साउ र ड्राइभरलाइ गुहार्न पुग्छे अङकल एउटा सिट मिलाई दिनोस् न अप्ठ्यारो भयो । गाडी साउले सिट छैन बैनी कोहीलाइ भनेर उठ्न माने वस्नुहोला भनेर टार्ने गर्छन । जो सिटमा बसिरहेका हुन्छन् उनीहरुले सिटमा बल्ल बल्ल बस्न पाको कस्ले छोड्थे । दुखको कुरा सिटमा वस्नेले बैनि तपाइलाई गाह्रो भयो बच्चा दिनुस् म लिग्दिन्छु समेत भन्दैनन् ।

खाल्टाखुल्टी परेको सडक कतै भिरालो त कतै उकालै उकालो । गाडी चड्न सुरु भएपछि भगवान्को नाम पुकार्न मन लाग्छ । सम्झिदा आङ नै सिरिङ हुन्छ । कत्तिको त गाडीको डण्डिमा ठोक्किएर टुटिल्कै टुटिल्का हुने गर्छ । सामान्यतया बसको चालक सहित २६ देखि ५६ जना मात्र यात्रु बोक्ने क्षमता हो भनेर सवारी तथा यातायत व्यवस्था नियामावलि २०५४ को तेस्रो संसोधन २०६६ मा यात्रुवाहक सवारीको क्षमताका बारेमा प्रष्ट लेखिएको छ । तर यसको विपरित गाडीवालाहरुले बढी यात्रु कोच्ने गरेका छन् । प्रायजसो गाडी भित्र सीट भन्दा वाहेकका यात्रुलाई इट्टा मिलाएर राखेजस्तो गरी मिलाएर उभ्याइन्छ । त्यसमा पुरुष, महिला, बृद्ध, अपाङ्ग, अशक्त, वालवालिकाहरुलाई खासै ख्याल राखिन्न ।

आफ्नो घरबाट बाहिर निस्किदा कोरेर मिलाएको कपाल, आइरन लगाएको कपडा गाडीबाट ओर्लिदा कपाल विग्रिसकेको हुन्छ भने कपडामा धेरै ओटा धार अथवा दाग लागीसकेको हुन्छ । टिलिक्क पारेर टल्काएको जुत्तामा अरु कसैको जुत्ता, चप्पलको छाप लागीसकेको हुन्छ । एउटा स्वस्थ्य व्यक्ति स्वासप्रंश्वासमा समस्या भएर विरामी परिसकेको हुन्छ । यस्तो व्यक्ति यदि उ जागीरको लागी अन्तरवार्ता दिन जादैछ, कसैको पार्टिमा जादैछ, अथवा कुनै विशिष्ट व्यक्ति आफन्त नातेदारलाई भेट्न जादैछ भने उसको हालत कस्तो होला ?

यी सबै समस्याको समाधानका लागी अब सबैले गम्भिर भएर लाग्नु जरुरी भइसकेको छ । यातायत व्यवस्थापन प्रणाली सुधार गर्नका लागी सरकार, जनता र सरोकारवाला निकायहरु जस्तै यातायत ्र्र्र्र्र्र्र्रव्यवस्थापन विभाग, ट्राफिक प्रहरि गाडी धनी सवैले आ आफ्नो ठाउँबाट काम गर्नु जरुरी छ । यसको लागी सिट संख्या भन्दा बढी यात्रु राख्न नपाइने, प्यासेजमा यात्रु उभ्याउन नपाइने, आरक्षीत सीटमा महिला, अपाङग, अशक्त, बृद्ध, वालवालिकालाई मात्र बस्न दिने लगायतका विषयहरुमा ट्राफिक प्रहरि, यातायत व्यवसायी, चालक, परिचालक र कर्मचारीहरुलाई प्रशिक्षण, अनुशिक्षण गर्ने र नियमित आचार संहिता कार्यन्वयन भए नभएको अनुगमन गर्नु पर्छ ।

यदि नियम विपरित काम गरेमा कडा भन्दा कडा कारबाही गर्न आवश्यक छ । सार्वजनिक यातायत आचार संहिता २०६७ मा चालक तथा परिचालकले यात्रु संग शिष्ट र मर्यादित भाषा प्रयोग गर्ने, महिला मैत्री व्यवहार गर्ने, उल्लेख गरेता पनि यस अनुरुपको व्यवहार देख्न पाइदैन । तसर्थ चालक र परिचालकलाई यात्रुसंग प्रयोग गर्ने सभ्य र मिठो भाषा, राम्रो आचारण, आकर्षक व्यवहार र अनुशासन सम्बन्धी एउटा सानो तर महत्वपूर्ण काम गर्ने हो भने यात्रुवाहक सार्वजनिक यातायतको क्षेत्रमा एउटा प्रगतिशिल परिवर्तन हुन्छ ।

यात्रुहरु आफूपनि सचेत हुनु आवश्यक छ । हामी यात्रुपनि यति बेबकुफ छौ कि जति सुकै भिडभाड गाडी भएपनि झुन्डिएर समेत यात्रा गर्न पछि पर्दैनौ । तेसो त यात्रुहरुको पनि बाध्यता नै हो नि त्यसमै नगए अर्को गाडी आउँदैन अनि हिड्नु पर्ने समस्या हुन्छ । तर नियमले नियम बसाल्छ भने झैं यदि यात्रुहरुले पनि सिट भरिएको गाडीमा नचढ्ने हो भने सकसपूर्ण यात्रा गर्नबाट उन्मुक्ति पाएनेछ ।

About The Author