Thu. Mar 28th, 2024

पर्सामा प्रहरी र तस्करबीच झडप, ३ प्रहरी घाइते

फाइल तस्विर

३ पुस, वीरगञ्ज

पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् ।

प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साका एसपी रेवती ढकालले तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै आक्रमण भएको जानकारी दिए ।एसपी ढकालका अनुसार, बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

गस्तीमा रहेका प्रहरीको संख्या थोरै हुँदा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेको उनको भनाइ छ । ढकालका अनुसार, करिब २० जनाको समूह प्रहरीमाथि जाइलागेका थिए ।आक्रमणपछि उनीहरु भारततर्फ भागेका थिए ।

भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्ने भएकाले पछिल्लो समय नेपाल–भारत सीमामा तस्करी गर्ने सिलसिला चल्दै आइरहेको छ । सरकारले यसको नियन्त्रण गर्ने बताउँदै आए पनि त्यसो हुन सकेको छैन ।

२०७५ पुस ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: