Thu. Nov 14th, 2019

यसरी बचौं चिसो र शितलहरबाट

भनिन्छ चिसोको हिसावले पुस महिना फासफुस र माघ महिना बाघ हो तर यी महिना नआउदै चिसोले दर्जनौंको ज्यान अस्पतालमा भर्ना भएका छन् भने पुष माघमा झन् कति पीडित र मृत्यु हुने हुन् ?
यथार्थमा चिसो प्राकृतिक कालचक्रको स्वाभाविक देन हो । जाडो याममा हुस्सु लाग्नु, शीतलहर चल्नु अस्वाभाविक होइन तर शीतलहर र अत्यधिक जाडोका कारण कठ्याङ्ग्रिएर मानिसहरूको मृत्यु हुनु दुःखलाग्दो विषय हो । शीतलहर केही समयको मौसमी स्थिति भनेर मौन रहनु हुदैन, यसले कृषि व्यवसायलाई क्षति, पशुपंक्षीको मृत्यु, विद्यालयको पठनपाठन स्थगित र मानिसको मृत्यु हुन थालेको तथा धेरै मानिसहरु विरामी हुन थालेका छन् जुन सम्वेदनशील विषय हो । जाडो निरन्तर बढ्दैछ, मानिस धमाधम मरेका तथा अस्पतालमा विरामीको चाप वढेको समाचारहरु आइरहेका छन् ।

जब चिसो शुरु हुन्छ तब हुने र नहुने, धनी र गरिब, कमजोर र बलियो व्यक्ति स्पष्ट देखिन थाल्दछ । सरसर्ती हेर्दा हुनेखानेको जीवनमा सामान्य प्रभाव तथा एकसरो लुगा समेत राम्रोसँग लाउन नपाउने गरिब जनता त्यसैमा अझ बुढाबुढी बालबालिका र महिला वर्गका लागि चिसो अभिशाप बन्दछ । अधिकांश समय गर्मी हुने भएकोले जाडोको लागि जोहो गरिदैन, दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुसँग नयाँ लुगा किन्ने क्षमता हुँदैन, भएको एकशरो लुगा पनि सितलहरले चिसो हुने, घाम नलागी नसुक्ने तथा ज्याला मजदुरी गर्ने अवसर कम भई खानपान र न्यानो लुगा तथा वातावरण कोरा कल्पना बन्दछ ।

मौसम परिवर्तन संगै मानिसहरुमा विभिन्न संक्रमण हुने गर्दछन । चिसो मौषममा जीवन शैली ठिकठाकसंग चलेन भने स्वास्थ्य खराब हुन सक्छ । चिसोको मौषममा रुघा खोकी, स्वास सम्बन्धी समस्या, घाँटी, आँखा नाक र कान र छालामा संक्रमण भई दुख झेल्नु पर्छ ।
चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गर्दा राम्रो हुन्छ ।
आजकाल मानिसहरुले घरमा पकाउन अल्छि गर्छन र बजारमा आकर्षक प्याकिङमा पाइने खानेकुरा खान्छन । तर ती खानेकुराले मानिसको शरीरमा कति नोक्सान पुर्याउछ भन्ने कुरा थाहा पाउन जरुरी छ ।

बजारमा पाईने भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चीनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट बच्नुपर्ने हुन्छ ।
आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ ।
सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । यी दुई फलमा एन्टी अक्सिडेन्टस नामको पदार्थ हुन्छ जसले रोगसंग लडन मद्दत पुर्याउछ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं ।

दिनमा ५० र ६० ग्राम प्रोटिनयुक्त खाना अनिवार्य खाऔं ।दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।
चिसोमा छालालाई बढी हेरचाह गर्नुपर्छ । चिसोले सबैभन्दा बढी छातीमा असर गर्ने भएकाले शरीर ढाक्ने न्यानो लुगा लगाउनुपर्छ । सकेसम्म हातखुट्टा र अनुहार पनि ढाक्नुपर्छ । नाकमुख छोप्ने मास्क र गाला, कान तथा गला ढाक्ने टोपी लगाउनुपर्छ । हिँडडूल गर्दा चश्मा लगाउनु आँखाका लागि राम्रो हुन्छ । शरीरका अरु अंग ढाके पनि अनुहारको त्यति ख्याल गरिएको पाईंदैन । तर, अनुहारको पनि उत्तिकै हेरविचार गर्नुपर्छ ।

जाडोयामको मुख्य समस्या भनेको रुघाखोकी हो । कसैलाई छातिको कारणले रुघा लाग्नसक्छ भने कसैलाई नाक कान घाँटीको समस्याले पनि हुनसक्छ । त्यसैले शरीरलाई न्यानो पारेर राखेमा केही हदसम्म चिसोको एलर्जीबाट बच्न सकिन्छ । चिसो मौसममा मन तातो तरल पदार्थ पर्याप्त सेवन गर्नु राम्रो मानिन्छ । सामान्य रुघाखोकी तीनदेखि एक हप्तासम्म रहनसक्छ ।
जाडो मौसममा बालवालिका र उमेर ढल्किएका ब्यक्तिलाई बढी छाला र श्वासप्रस्वासको समस्याले सताउने गर्दछ, तथापी महिलाहरु पनि अछुतो रहदैनन । ओठ, मुख, हातगोडा एवं कुर्कुच्चा सुक्खा र चिसो हावाले फुटाउने, चर्काउने र घाऊ बनाउँछ । मौसम भोजभतेरको समय भएकाले बढी खाना, बोसो र गरिष्ठ खानाले अपच, ग्याष्ट्रिाईटीस, झाडापखाला हुनसक्छ र जण्डिस र टाईफाईड पनि प्रशस्त पाईन्छ । कतिपय वयस्क तथा वृद्धवृद्धामा वाथ, सन्धीवाथ, आमवाथ आदि रोगबाट ग्रसित हुँदा जाडोमा पीडाको बोध अत्यन्त ज्यादा हुने भएकोले सर्वसुलभ, कम खर्चिलो र अति उत्तम उपहारको रुपम हटवाटर व्याग प्रदान गर्दा एकातिर जाडोबाट बच्न र अर्को्तिर पीडाबाट मुक्ति पाउन धेरै नै सहयोग हुनेछ ।

समाजमा प्रचलित उखान बलिया बाङ्गा बाघलाई, अशक्त बुढापाका माघलाई भन्ने उखानले प्रश्रय पाउला जस्तो देखिंदैछ किनभने लोडसेडिङ बढदैछ र अझ चिसोले कतिको मृत्यु हुने हो भन्ने प्रश्न उठेको छ । शरीरलाई न्यानो बनाउन मानिस परापूर्वकालीन उपायहरू समाजमा प्रचलित उखान जाडोका साथी रुइ, फुइ र दुईमा भर पर्नुपर्ने भएको छ ।

चिसोका कारण होस् या जुनसुकै स्थितिमा पनि रोग लागेपछि उपचारका लागि स्वास्थ्य संस्थामा जानुपर्ने त छदैछ । तापनि चिसोका कारण उत्पन्न हुन सक्ने रोगको समस्यालाई न्यून गर्ने तथा लाग्न नदिन भने धुवँ धूलोबाट बच्ने, न्यानो लुगा लगाउने, पोषणयुक्त सन्तुलित खाना खाने, न्यानो लुगा लगाउने, भिटामिन सी पर्याप्त मात्रामा भएको र मौसम अनुसारका ताजा फलफुल तथा सागपात पर्याप्त मात्रामा खाने, सरसफाइमा बढी ध्यान दिने, प्रशस्त मात्रामा झोल पदार्थ खाने गर्दा चिसोबाट बच्न सकिन्छ । यसका अतिरिक्त धुलो, धुवा, चिसो र संक्रमणबाट जोगिन मास्क लगाउने गर्नु पर्दछ ।
अन्तमा,सरकारले पानी उमालेर खान जनचेतना फैलाए जस्तै जाडो मौसममा जाडोबाट बच्ने उपाय तथा झ्याल, ढोका थुनेर आगो नबाल्ने,दाउराको सट्टा न्यानो कपडा,हट वाटर ब्याग र कम्मल वोड्ने र तातो,झोलिलो र ताजा खाना र फलफुल खाने जस्ता सन्देश फैलाउनु पर्दछ ।

२०७५ पुस ७ गते प्रकाशित

Loading...