Sat. Jun 22nd, 2024

हेरिसक्नु छैन उत्तरका गाउँ…

धादिङ –  गत शनिवार आएको भुकम्पमा परि देशभर हजारौ मान्छे हताहत भए । भुकम्प आउने वित्तिकै हतासमा केही सोच्नै सकिन । त्यसपछि पहिला परिवारको सम्झना भयो अनि पछि आफन्त इष्टमित्रको खोज सुरु भयो । सवैजना सम्पर्कमा आए तर मेरो दाइ (विष्णुहरी लंसाल) सम्पर्कमा आएनन् । धादिङको विकट उत्तरी क्षेत्र री गाविसको किचेतमा रहेको देउराली प्राविमा प्रधानाध्यापकको रुपमा कार्यरत मेरो दाइ विष्णुहरीको खोजीमा हामी सदरमुकाममा १३ जनाको टोली री हिड्यौ ।
त्रिपुरेश्वरको रिङने हाइड्रोपावरमा वाइक राखेर हामी पैदल यात्रा सुरु गर्यौ । दार्खाको घ्याङसाङसम्म गाडी चल्ने भएपनि बाटो पहिरो गएका कारण हामीले मोटरसाइकल लैजान सकेनौं । बाटोभरि देखिएका गाउ र बस्ती कुनै पनि सद्धे थिएनन् । सदरमुकमा तिरका घरहरुको त पर्खाल मात्र भाषिएको थियो तर यता गाउका धुरी पनि केही बाँकी थिएन । घ्याङसाङवाट री गाविस उक्लने पुल तर्नको लागि भीरको बाटो झर्नुपर्ने रहेछ तर सवै पहिरोले क्षतिग्रस्त । चार हात खुट्टा टेकेर बल्ल बल्ल री गाउ विकास समितिको फेदीमा पुगियो ।
हामीलाइ री गाविसको किचेतमा पुग्ने पर्ने थियो । री गाउ विकास समितिको फेदीबाट नै यात्रामा दुर्गन्ध आउन थाल्यो । चोके भन्ने ठाउमा पुगेपछि यस्तो दृष्य देखियो कि गोठ लडेर भैसीको आधा ज्यान चेपिएको रहेछ । तर जिउदै । कराइरहेको थियो । वरिपरीवाट दुर्गन्ध आएका थियो, सायद अरु चौपायाहरु मरेका थिए होलान । गाउ भरिका सवै घर भत्किएर माटोमा मिलेको थियो । गाउँमा कोही पनि देखिएका थिएनन । सवै भागेर सुरक्षित स्थानमा गएका रहेछन । सुरक्षित त के भनौ अलिअलि नचर्किएको खुल्ला चौरमा । पुरै जग्गा जमिन चर्किएको छ । बस्ती तहस नहस छ । हामीले आधा चेपिएको भैसीलाइ निकाल्न खोज्यौ नसकेपछि त्यत्तिकै छोडेर हिड्यौं ।
अलि पर खुल्ला चौरमा बस्तीका मान्छे भेटियो । उनीहरु भन्दै थिए सवैघर एक पटक लड्यो । को बाँचे को मरे केही पत्तो भएन । १८ जना पुरिएको बताएपनि ३ जनाको मात्र शव फेला परेको थियो रे । हामीलाइ किचेत गाउ पुग्नु थियो । बाटो साह्रै अप्ठ्यारो ठाउठाउमा पहिरो खसेर अवरुद्ध भएको बाटो । एकजना अगाडी जाने अनि पहिरो आए नआएको हेरेर अर्को डाँडावाट अरु साथीहरुलाइ बोलाउने । त्यसैगरि गरि चार हात खुट्टा टेकेर हामी अघी बढ्यौ । जति अघी गयो बाँचेर घर फर्किएला जस्तो लाग्दैनथ्यो । कुताल, तावल र पासाङचोक गाउका सवै घरहरु ध्वस्त थिए । भीरमा रहेको गाविस भएकाले सवैठाउमा जमिन चिरा चिरा परेर फुटेको पहिरोले आउने र ढुङगा खसिरहेको हुन्थ्यो । जोगिदै गयौ । बाटोको कुनै पनि घर हेर्न हुने थिएन । चेपिएर मरेका चौपाया र शवको दुर्गन्ध उत्तिकै । गाउँमा कोही पनि थिएनन । बाँचेका चौपायाहरु खुल्ला छाडिएका थिए । तप्त तप्त चुहिरहेको धारामा गोरुले पानी चाटेको देखेर मन नै अमिलो भएर आयो ।
बल्ल बल्ल किचेत पुगियो । पहिल्यै खोजीको लागि हेलिकप्टरमा गएका २ जना साथीहरु थपिएर दाइको खोजी गर्यौ । घरमा खाना खाएर सुतेको रहेछ । सुतेकै ठाउमा घरले चेपिएर उसको मृत्यु भएको रहेछ । सवैजना मिलेर शव निकाल्यौ नजिकैको खोल्सामा लगेर जलायौं ।
एक रात त्यही बसीयो । गाउलेहरु गाउ माथिको डाडा खस्ने डरले परको जंगल र टापुमा गएर बसेका रहेछन् । हामी पनि एकरात त्यही बसियो । गाउमा ठाडो भन्ने चिज री गाउ उच्च माद्यमिक विद्यालयको पक्की भवन बाहेर अरु केही पनि छैन । जुन बस्ती र टोलमा पुग्यो त्यही दुर्गन्ध छ । राज्यको कुनैपनि निकाएको त्यहाँ उपस्थिति देखिदैन । हामी त्यही हुदा आकाशमा हेलिकप्टर देखियो । हेलिकप्टर बस्ने ठाउ पनि छैन । मान्छेहरु थुप्रिएको ठाउमा माथिवाटै चामल र चिउरा खसाउदो रहेछ । यो १५ गतेको कुरा हो । तर तल झर्दा सवै फुटेर पोखिने । एक बोरा चामल र एक बोरा चिउरा झारिएको थियो । सबै भुइमा छिरलियो । त्यही पनि गाउँहरुले टिपटाप पार्दै थिए । हामी फर्कन सुर गर्यौ त्यहीका मान्छेले तावलको बाटो फर्किन सल्लाह दिए । हामी फर्कियौ ज्यान नै जोखिममा राखेर पहिरोको विच विच नै । घर परिवारसंग सम्पर्क नभएको २ दिन भइसकेको थियो । वाटोमा हिड्दा ढुङगा खसेर मरिन्छ कि भनेर सातो जान्थ्यो । बल्लबल्ल टारिवेशी आइपुगेपछि घरपरिवारसंग सम्पर्क भयो र बाँचेर आयौ जस्तो लाग्यो ।
(दाइ खोज्दै धादिङको विकट उत्तरी क्षेत्र पुगेका नीलकण्ठ नगरपालिका साङकोषका प्रकाश लंसाल संगको कुराकानीमा आधारित) प्रस्तुति ः शंकर श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: