Tue. Jan 14th, 2025

आफन्त र कार्यकर्तालाई मात्र राहत

राजेन्द्र न्यौपाने/

rahat gorkha

२१ बैशाख, गोरखा –  विनाशकारी भूकम्प गएको आज दशौं दिन भईसक्दा पनि गोरखामा भूकम्प पिडितहरुले अझै राहत पाउन सकेका छैनन् ।

एकद्वार प्रणालीबाट वितरण गरिएको भनिएको राहत नेतागणहरुले आफ्ना नातागोता र कार्यकर्ताहरु तर्फ केन्द्रित गरेका छन् । गोरखा नगरपालिकाको कुमाल बस्ती लगायत बेनिखोला क्षेत्रमा कुनै राहत पुग्न सकेको छैन । मृतकका परिवारजनहरुलाई दुईवटा चाउचाउ र एक माना चिउरा वितरण गरिएको छ, यो खबर बक्राङको हो । जिल्लामा ४६ हजार घरधुरी पूर्ण रुपमा नष्ट भएका छन् । १४ हजार घरधुरी बस्न नहुने गरी भत्किएका छन् । ४१० जनाले ज्यान गुमाईरहेका छन् । १६ सय जना घाइतेहरुको उपचार भईरहेको छ ।

हेलिकप्टर मार्फत भएका ढुवानी सम्बन्धित क्षेत्रमा पुग्न सकेका छैनन् । भुकम्प गएको आज दश दिन हुँदा गुम्दा गाविसको यम गाउँ र लप्सीबोटमा कुनै समान पुग्न सकेको छैन । उत्तरी गोरखाका उहिया, सामागाउँ, ल्हो, प्रोक, चुम्चेत छेकम्पारका गाउँ गाउँमा खाद्य सामग्री पुग्न नसकेको गोरखा निर्वाचन क्षेत्र नं। ३ का सभासद छम बहादुर तमुले बताउनुभयो । यसैवीच एक हजार बोरा चामल बोकेर सुनसरीबाट आएको ट्रकको समान हराएको दुई दिन भैसक्दा पनि अझै पत्ता लाग्न सकेको छैन ।

भूकम्प पिडित जनधनको अवस्थाका बारेमा जानकारी लिन सभासद डाक्टर बाबुराम भट्टराई, हितराज पाण्डे, कृष्ण धिताल, छम बहादुर तमु, चिनकाजी श्रेष्ठ, कमला पन्त गोरखा आईपुग्नु भएको छ । सभासद तमु, पाण्डे १३ गते देखिनै जिल्लामा खटिएका छन् । नेता पाण्डेले गोरखा निर्वाचन क्षेत्र नं। २ का सबै गाविसको स्थलगत अवलोकन गरी फर्किनुभएको छ । नेता भट्टराई यतिबेला क्षेत्र नं। १ को स्थलगत दौडाहामा रहनुभएको छ । श्रेष्ठ र पन्त जिल्ला विकास समितिको केन्द्रमा हुनुहुन्छ भने नेता तमु र धिताल यतिबेला घ्याम्पेसाल पुग्नुभएको छ। जिल्लाका तिनवटै निर्वाचन क्षेत्रमा सह सचिव नेतृत्वमा डिपो स्थापना गरिएको छ । घ्याम्पेसालमा सह–सचिव विष्णुृ प्रसाद नेपाल,, क्षेत्र नं। २ मा सह–सचिव कपिल डंगोल र क्षेत्र नं। १ मा सह–सचिव रविन्द्र मोहन भट्टराईको टोली खटिएको छ ।

About The Author