काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले स्वर्ण जयन्तीको उपलक्ष्यमा किसानलाई पाँच प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ ।
चालु आर्थिक वर्षको बजेटमा सरकारले किसानलाई छ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने नीति लिएको थियो । झन्डै दुई महिनाअघि राष्ट्र बैंकले कृषि कर्जा र ब्याज अनुदानसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइसकेको छ । तर, राष्ट्रिय वाणिज्य बैंकले सरकारी दरभन्दा एक प्रतिशत सस्तो मै कृषि कर्जा दिने घोषणा गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले किसानलाई पाँच प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराउने जानकारी दिनुभएको हो । बैंकले नौ प्रतिशतमा कृषि कर्जा प्रवाह गर्दै आएको थियो । सरकारले चार प्रतिशत ब्याज अनुदान दिने आस्वासन दिएपनि किसानलाई पाँच प्रतिशतमै ऋण उपलब्ध गराउन लागेको शर्माले जानकारी दिनुभयोे ।
राष्ट्र बैंकको निर्देशन अनुसार सर्वसाधारणलाई सेयर जारी गर्न सरकारसँग अनुरोध गरेको शर्माले बताउनुभयो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँलाई ७० प्रतिशत मानेर ३० प्रतिशत सेयर जारी गर्न लागेको हो ।