Sat. Jul 20th, 2019

धादिङको खनियाबास गाउँपालिकाबाट १६ थान अबैध भरुवा बन्दुक संकलन


२२ चैत, धादिङ –

जिल्ला प्रहरी कार्यालय धादिङले ग्रामीण भेगबाट १६ थान अवैध भरुवा बन्दुक संकलन गरेको छ । कार्यालयले सञ्चालन गरेको ३५ दिने ‘अवैध हातहतियार संकलन घरदैलो अभियान’ अन्तर्गत एउटै गाउँपालिकाबाट भरुवा बन्दुक संकलन गरिएको कार्यालयले जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने खनियाबास गाउँपालिकामा विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरि संकलन गरिएको धादिङका प्रहरी उपरीक्षक (एसपी) राजकुमार वैदवारले जानकारी दिए ।

गृह मन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार २०७६ बैशाख ५ गतेसम्म बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सार्वजनिक सूचना बेवास्ता गरी अवैध रुपमा विष्फोटक पदार्थ र हतियार राखेको भेटिए हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारबाही गरिने एसपी वैदवारले जानकारी दिए । ‘विभिन्न संचारमाध्यम मार्फत अवैध हातहतियार बुझाउन अनुरोध गरेका छौँ’, एसपी वैदवारले भने, ‘स्थानीयहरुले कुरा नबुझेका कारण हतियार बुझाउन डर मान्ने गरेका छन् त्यसैले गाउँगाउँमा अभियान संचालन गर्न थालेपछि हतियार बुझाउन थालेका हुन् ।’

धादिङ प्रहरीले संचालन गरेको समूदायमा प्रहरी अभियान अन्र्तगत पनि गाउँ गाउँमा लुकाएर राखेका अबैध हतियार संकलनमा सघाउ पुगेकोे धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिए ।

पछिल्लो समय अवैध हातहतियारका कारण सर्वसाधारणको ज्यान जाने क्रम बढेको भन्दै गृह मन्त्रालय मार्फत प्रत्येक जिल्लाको प्रशासन र प्रहरी कार्यालयमा मार्फत अभियान संचालन गरिरहेको छ । गृह मन्त्रालयले ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको छ ।

समयावधिभित्र हतियार नबुझाएमा अवैध हातहतियार तथा खरखजना सम्बन्धी प्रचलित मुद्दा चलाउने कार्यालयले जनाएको छ । प्रहरीले जिल्लाको अन्य ठाउँहरुमा पनि अभियान संचालन गरेर हातहतियार बुझाउन अनुरोध गर्ने बताएका छन् ।

२०७५ चैत २२ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: