२६ बैशाख धादिङ – महाभुकम्प पछि हालसम्म कार्यक्षेत्र नफिर्किएका स्वास्थ्यकर्मीहरुलाई तत्काल कारबाही गरिने स्वास्थ्य मन्त्री खगराज अधिकारीले बताउनु भएको छ ।
विनाशकारी भुकम्पले जिल्लामा पु¥याएको क्षतिबारे जानकारी लिन शनिबार धादिङबेसी आइपुग्नु भएका मन्त्री अधिकारीले संकटको बेलामा कार्यक्षेत्र नफर्किएका स्वास्थ्यकर्मीहरुप्रति कुनै सरकारले सहानुभुति दिन नसक्ने बताउनुभयो । भुकम्पले एकाघरका मानिस हताहत भएर केही समय उपस्थित हुन नसकेको भएपनि हालसम्म स्वास्थ्यसंस्था नफर्किएका स्वास्थ्यकमीहरुलाई निलम्बन गरिने दावी गर्नुभयो ।
उहाँले भन्नुभयो ‘दर्रबन्दीमा रहेका जो स्वास्थ्यकर्मी कार्यरत छैनन् तीनलाई जागिर भन्दा अरु नै प्रमुख महत्वको विषय भएकाले अब यो जागिर उहाँहरुको लागि आवश्यक छैन । त्यसकारण यसमा सरकारले कुनै कप्रमाइज गर्दैन ।’ एकाघरका हताहत भएको भए केही समय बस्नु ठिक हो तर जबसम्म १२ गतेदेखि २ साता वितिसक्दा कुनै पनि स्वास्थ्य सस्थामा त्यो स्वास्थ्यकर्मी छैन भने सोर्स फोर्समा जागिर खान पाइदैन ।’ दर्रबन्दीमा रहेका जो स्वास्थ्यकर्मी काममा फर्किएका छैनन् उनीहरुको नाम मन्त्रालयमा पठाउन मन्त्री अधिकारीले जिल्ला जनस्वास्थ्य अधिकृतहरुलाई निर्देशन दिनुभएको छ ।
ग्रामीण समुदायका रहेका स्वास्थ्य चौकी भवनहरु भत्किएपनि पाल टागेर भएपनि सेवा उपलब्ध गराउन आग्रह गरेका छन् । भुकम्पमा परी विचल्लीमा परेका बालबालिका र सुत्केरी महिलाहरुको स्वास्थ्य स्थितिको बारेमा सरकार गम्भीर रहेको भन्दै मन्त्री अधिकारीले त्रिपालमुनी बाटै भएपनि छिटोछरितो स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीहरुलाई अपिल गर्नुभएको छ ।
जिल्लाको ३० ओटा स्वास्थ्य संस्थाको भवन पूर्ण रुपले ध्वस्त भएका छन् । गजुरी र सल्यानटारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सहित १७ ओटा स्वास्थ्य संस्थाको भवनमा आंशिक क्षति पुगेको बरिष्ट जनस्वास्थ्य प्रशासन जीवन कुमार मल्लले जानकारी दिनुभयो । जिल्लामा ५३ ओटा स्वास्थ्य संस्थाहरु रहेका छन् । महाभुकम्पमा परी मार्पाक उप स्वास्थ्य चौकीका अनमी रामकुमारी अधिकारीको मृत्यु भएको थियो ।