Fri. Mar 29th, 2024

धादिङको रुवीभ्याली गाउँपालिका लेखापालको भरमा

६ वटा वडामा एउटै वडा सचिव नहुँदा सदरमुकाममा कार्यलय

मनिष दुवाडी/२ बैशाख, धादिङ-

कर्मचारी अभावका कारण उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको कामकाज प्रभावित भएको छ । स्थानीय तहको निर्वाचन पछि एक जना वडा सचिवले ६ वटा वडाको काम गरिरहेको भएपनि कर्मचारी समायोजनमा बहालवाला सचिव समेत अन्तै सरुवा गएपछि रुवीभ्याली गाउँपालिकाका ६ वटै वडाहरु सचिव विहीन भएका हुन् ।

सचिव नहुँदा दैनिक काम काज संचालनमा समेत समस्या भएको छ भने वडा अध्यक्षहरु समेत सदरमुकाममा बसेर काम गर्न बाध्य भएका छन् ।उत्तरी धादिङको सवैभन्दा विकट गाँउपालिका हो रुवीभ्याली गाउँपालिका । साविकको ३ वटा गाविसहरु लापा, सेर्तुङ र तिप्लिङको लागि एउटै सचिवले मात्रै काम गरिरहेको अवस्थामा नयाँ संविधानले ब्यवस्था गरेअनुसार लापा सेर्तुङ र तिप्लिङलाइ समेटेर गाउँपालिका बनाइयो ।

तत्कालिन तीन गाविसका एउटै मात्रै सचिव इन्द्रप्रसाद काफ्लेलाइ निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर गाउँपालिकाको काम सुरु गरेपनि हालसम्म इन्द्रप्रसाद काफ्ले बाहेक अरु सचिव गाउँपालिकामा पुगेनन् । वीचमा प्रशासकिय अधिृकतको रुपमा प्रेम प्रसाद पोखरेल र खेम खत्रीले काम गरेपनि उनीहरु छोटो समय काम गर्दै सरुवा हुँदै गरे ।६ वटा वडाको लागि काफ्लेले मात्रै सचिवको जिम्मेवारी सम्हालिरहे पनि कर्मचारी समायोजन पश्चात काफ्ले पनि घरपायक गाउँपालिका रोजेर सरुवा भएपछि रुवीभ्याली गाउँपालिकाका सवै वडा कार्यलयहरु सचिव विहीन बनेका हुन् ।

गाउँ गाउँमा सिंहदरवारको नारा दिएर भएको स्थानीय तहको निर्वाचन पछि पनि रुवीभ्याली गाउँपालिकामा कोही सचिव पठाइएन । ६ वटा वडाको लागि एक जनामात्रै सचिव भएपछि गाउँपालिकाका सम्पर्क कार्यलय सदरमुकामबाट संचालन गर्न बाध्य भयो । अहिले पनि गाउँपालिका र वडाकार्यलयको काम सवै जिल्ला सदरमुकाम धादिङवेशीबाटै हुने गरेको छ । गाउँबाटै सेवा दिने भनेर स्थानीय तहको चुनाव गरिएपनि केही सेवा नपाएकोमा स्थानीयहरु आक्रोशित भएका छन् ।

५ नम्वर वडाका स्थानीय भीम तामाङले भने, ‘तेत्रो तामझाम गरेर चुनाव गरेको यही दुःख पाउनको लागि हो त ? खै गाउँमा कर्मचारी ? खै स्थानीयलाइ सुविधा ?’ २५ जनाको दरवन्दी रहेको सिङगो गाउँपालिका २ जना लेखा शाखाका कर्मचारीहरु बाबुलाल नेगी र यादव निरौलाको भरमा संचालन भइरहेको छ । कर्मचारी समायोजन पछि प्रशासकिय अधिकृतको जिम्मेवारी तोकिएका धनेश्वर पौडेल पनि तालिममै रहेकाले बैशाख दोस्रो साताबाट मात्रै कार्यलय आउने छन् ।

गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत र वडा सचिवको जिम्मेवारी लेखापाल बाबुलाल नेगीलाइ तोकिएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत नेगीले भने, ‘अरु कर्मचारी त परको कुरा भयो, ६ वटा वडाको लागि एक जना पनि सचिव नहुँदा जनप्रतिनिधिलाइ त समस्या परेको छ भने स्थानीय सेवाग्राहीले कत्ति समस्या भएको होला ? भएको एक जना सचिव पनि कर्मचारी समायोजनमा अन्तै गएपछि गाउँपालिकाको बेहाल भएको छ । जन्मदर्ता, मृत्युदर्ता जस्ता पञ्जिकरणका कामहरु स्वास्थ चौकीका इन्चार्ज र लेखापालले गर्नुपरेको छ ।’

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गाउँपालिकाको केन्द्र सेर्तुङमा नै बस्छन् । गाउँसभा, कार्यपालिका बैठक जस्ता नितिगत कामहरु मात्रै गाउँपालिकाको केन्द्रबाट हुने गरेको छ । ६ वटै वडाहरुको दैनिक सेवाप्रवाहका र प्रशासनिक कामहरु जिल्ला सदरमुकामको सम्पर्क कार्यलयबाट मात्रै हुने गरेको छ । बडा अध्यक्षहरु पनि सचिव नपाएपछि सवैजसो सदरमुकाममै रहने गरेका छन् । गाउँपालिका अध्यक्ष चेरोङ तामाङले भने, ‘कर्मचारी कै अभाव भएकाले गाउँ गाउँको वडा कार्यलयबाट सेवा दिन सकेका छैनौँ । आएका कर्मचारी पनि छोटो समयमै जान्छन्, सरकारले नयाँ कर्मचारी पठाउन आलटाल गर्छ ।’

कर्मचारी नहुँदा वडा अध्यक्षले वडा कार्यलयहरुलाइ झोलामै बोकेर संचालन गर्नुपरेको छ । ५ नम्वर वडाका अध्यक्ष धिराज तामाङले भने, ‘गाउँमा कार्यलय छ तर हामीले झोलामा बोकेर हिड्नुपर्ने अवस्था आएको छ । गाउँमा बसेर काम गर्न सचिव छैन, पञ्जिकरण गराउन सदरमुकाम आउनु पर्छ । योजनाहरु कार्यन्वयनको चरणमा छन्, बिल भुक्तानी, अनुगमन फछ्र्याेट गर्नदेखि धेरै काममा बाधा भइरहेको छ ।’

२०७६ बैशाख २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: