Mon. Aug 26th, 2019

धादिङवेशीका मुसलमान समुदायलाई मान्छे मरेपछि गोरखा लैजानुपर्ने बाध्यता

????????????????????????????????????

मनिष दुवाडी/२ जेठ, धादिङ

जिन्दगीभर धादिङबासी भएर बाच्नेहरु मरेपछि भने गोरखा जिल्लाका हुन्छन् भन्ने सुन्दा झट्ट सुन्ने जोकोहीलाइ पनि अचम्म लाग्न सक्छ । तर यो सत्य कुरा हो । विगत २०२८ सालदेखी धादिङमा नै बसोबास गर्दै आएका मुसलमान समुदायहरुको यो तीतो यथार्थ पनि हो ।

धादिङमै जन्मेहुर्केर धादिङ जिल्लाको रहनसहनमा बसोबास गरेका मुसलमान समुदाय मृत्यु पछिको अन्तिम संस्कार गर्ने ठाउँ नपाउदा भने आफ्नो पुख्र्यौली थलो गोरखाको ताप्ले पु¥याउने गरेका छन् ।

मृत्यु शास्वत सत्य हो, ढिलो चाँडो जोकोहीले पनि यो अवस्थामा पुग्नै पर्छ तर धादिङ जिल्लामा मृत्युबरण गरेका मुसलमान समुदायका जोकोहीलाइ पनि अन्तिम सँस्कारको लागि गोरखा नै लानुपर्ने बाध्यतामा धादिङका मुसलमान समुदाय रहेका छन् ।

मुसलमान समुदायको धार्मिक शास्त्र अनुसार मृत्युपछिको सँस्कार गर्दा जमिनमा शव गाड्नु पर्ने हुन्छ तर धादिङ जिल्लाभर नै त्यो ठाउँ मुसलमान समुदायको लागि उपलब्ध छैन । खुल्ला जग्गा र बन क्षेत्रमा गाड्नको लागि लैजादा धार्मिक विवाद उत्पन्न हुने डरका कारण धादिङ जिल्लामा मृत्यु भएका मुसलमान समुदायका जुनसुकै ब्यक्तिलाइ सिरक डसनामा पोको पारेर ठुलो धनराशी खर्च गरी अन्तिम सँस्कार गर्नको लागि गोरखाको ताप्ले पु¥याउनुपर्ने बाध्यता रहेको धादिङ मुस्लिम समुदायका अध्यक्ष सम्शोदिन मियाँले बताए ।

उनले भने, ‘हाम्रो जग्गा जमिन, लालपुर्जा, मतदाता नामावली सवै धादिङको छ, राज्यलाइ तिर्नुपर्ने हरेक किसिमका कर हामी धादिङ जिल्लाबासी भएरै तिर्दै आएका छौँ तर मृत्युपछि हामीले शव गाड्ने ठाउँ समेत नपाउदा भने कताकता खल्लो लाग्छ ।’ अन्तिम सस्कारको समस्या दैनिक भोग्नुपर्ने समस्याजस्तो नभएपनि जुनदिन आइपर्छ त्यो दिन निकै समस्या पर्ने गरेको सम्शोदिनले बताए ।

जिन्दगीभर धादिङमा बाँचेको मान्छे मरेपछि पोको पारेर गोरखा लैजादाँ कता कता तीतो अनुभव हुन्छ,’ सम्शोदिनले भने । नेपालको ऐन नियम कानुन मानेर हामी बसेकाले मृत्यु पछिको अन्तिम सँस्कार गर्नको लागि पनि जमिन उपलब्ध हुनुपर्ने उनी बताउछन् ।

१ वर्षअघि ७० वर्षिय जुम्मदिन मिँयाको मृत्यु भएपछि उनको शव गाड्नको लागि ठुलो रकम खर्च गरेर गाडीमा राखेर शवलाइ गोरखाको ताप्ले पु¥याइयो । त्यसैगरि धादिङमा नै लामो समयअघिदेखी ब्यवसाय गरेर बसेका भारत मोतीहारीका अब्दुल जलील अन्सारी र मन्टु अन्सारीको मेसिन दुर्घटनामा परेर मृत्यु भयो ।

धादिङ जिल्ला भर शव गाड्नको लागि ठाउँ नभएपछि उनका आफन्तले नै ८० हजार खर्च गरेर उनलको शवलाइ उनकै गाउँमा पठाए । यस्ता थुप्र उदाहरणहरु छन् धादिङका मुसलमान समुदायसंग, जुन शव गाड्ने ठाउँ नभएर अन्यत्र पठाएको । सम्शोदिन भन्छन्, ‘हाम्रो जिल्लामा नै शव गाड्ने ठाउँ मिलेको भए त्यति खर्च गरेर शव पठाउनुपर्ने बाध्यता थिएन, किनभने अन्तिम शंस्कार गर्ने सवै परिवार यतै थिए ।’

धादिङ जिल्लामा शवबाहन छैन, जुनसकै गाडी र एम्वुलेन्सले शव बोक्न गाह्रो मान्छन् । बोकेर लगेपनि धेरै भाडा तिर्नुपर्ने हुनाले खर्चिलो हुन्छ । धादिङ जिल्लामा रहेका मुसलमान समुदाय सवै सम्पन्न पनि छैनन् । धादिङ जिल्लामै ब्यवसाय गरिबसेका मोहम्मद हविवले भने, ‘खर्च गर्न नसक्ने ब्यक्तिहरुको लागि यो विषय सधै टाउको दुःखाइ हुने गर्दछ ।’

धादिङ जिल्ला सदरमुकाम आसपासमा ३० घर मुसलमान समुदाय बसोबास गर्छन् । उनीहरुसंग ८० भन्दा बढी मतदाता नै छन् । उनीहरु पञ्चायत कालदेखी जहिलेपनि यही धादिङ जिल्लाका नेताहरुको लागि भोट हाल्छन् तर यो तीतो समस्या बुझिदिने र सुनिदिने कोही नभएको जुम्मदिन मियाँले बताए ।

धादिङ बसेरै जिल्लाका पार्टी नेतृत्वमा पनि मुस्लिम समुदाय पुगेका छन् । रहिम बकस मियाँ (अन्तरे) नेपाली काँङग्रेस जिल्ला कार्य समितिको सदस्य समेत बनेका थिए । तर समग्र समुदायको साझा समस्या समाधान गराउन भने कसैले सकेका छैनन् ।

‘देख्नेलाइ त यो समस्या सामान्य लाग्न सक्छ ।’ ७२ बर्षिय जुम्मदिन मियाँले भने, ‘धादिङ बस्न थालेदेखी हरेक वर्ष एक÷दुइ पटक यो समस्या भोग्दै आइरहेका छौँ । हामी भोग्नेलाइ यो समस्या ठुलो छ, फरक जातजाति फरक धार्मिक समुदायले यस विषयमा असहयोग त गरेका छैनन् तर सहयोग पनि पाएको छैन ।’

स्थानीय तहको निर्वाचन भएर आएपछि मुसलमान समुदायले स्थानीय सरकार पनि गुहारेका छन् । धादिङको नीलकण्ठ नगरपालिकाले ढिलोचाँडो मुसलमान समुदायको अन्तिम सँस्कार गर्नको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता त जनाएको छ ।

नीलकण्ठ नगरपालिकाको वडा नं ८ मा रहेको एउटा बनमा उनीहरुले शवदाह स्थल माग गरेका छन् र वडा कार्यलयमा समेत निवेदन दिएका छन् । तर शव गाड्नुपर्ने र भावी पुस्ताहरुले पनि यही ठाउँ प्रयोग गर्न पाउने गरि भोगचलन गर्नुपर्ने हुनाले पछि विरोध नआउने गरि सार्वजनिक सुनवाइ÷छलफल चलाएर जग्गा दिनुपर्ने उनीहरु बताउछन् ।

२०२८ सालमा गोरखाको ताप्लेबाट ब्यवसायको शिलशिलामा रहिम बकस मियाँ धादिङ जिल्ला आएका थिए । उनकै सम्पर्कमा उनका नातेदारहरु र आफन्तहरुको धादिङ आउने क्रम सुरु भयो र अहिले धादिङ जिल्लाका विभिन्न ठाउँहरुमा मुसलमान समुदाय बसोबास गरिरहेका छन् ।

३० घरधुरी त जिल्ला प्रशासन कार्यलय धादिङमा दर्ता भएको ‘धादिङ मुस्लिम समुदाय’ मा आवद्ध छन् । उनीहरुले नै धार्मिक प्रवचन र मुस्लिम धर्मको शिक्षा दिक्षाको लागि एउटा मदरसा समेत संचालन गरेका छन् ।

२०७६ जेठ २ गते प्रकाशित

Loading...