Thu. Mar 28th, 2024

पत्रकार महासंघले गर्‍यो दोस्रो चरणको आन्दोलनको घोषणा


५ जेठ, काठमाण्डौ –


नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केही प्रावधान खारेज गर्न माग गर्दै दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलन सकिँदासम्म सरकारले माग पूरा गर्न कुनै पहल नगरेको निष्कर्ष निकाल्दै दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

जस अनुसार जेठ ६ र ७ गते महासंघका पूर्व अध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने दलहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चारमाध्यमका सम्पादकहरुसँग परामर्श र सञ्चार अभियान चलाउने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा र एसोसिएटको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल गरिने महासँघका महासचिव रमेश विष्टले जानकारी दिए ।

यसैगरी, जेठ २१ र २२ गते महासंघका सबै जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघ संस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने, जेठ २३ र २४ गते केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने र जेठ २५ गते दिउँसो ३ बजे नयाँ बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो प्रदर्शन गर्ने र काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेका ठाउँमा यस्तै प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने निर्णय भएको पनि महासचिव विष्टले जानकारी दिए । ।

बैठकले मिडिया काउन्सिल विधेयक संसदमा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । दोश्रो चरणको आन्दोलन घोषण गर्नुअघि पत्रकार महासंघको आयोजनामा सञ्चारसम्बद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बसेको महासंघले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट पारित भएर वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भइ त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष पनि महासंघले निकालेको छ ।


२०७६ जेठ ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: