२३ जेठ, धादिङ –
बजारमा मल नपाएपछि जिल्ला प्रशासन कार्यालय धादिङ घेराउ गर्न पुगेका किसानहरुले मल पाएका छन् । धानको बीउ छर्ने र फल दिने मुख्य सिजनमा मल नपाएपछि आन्दोलन गर्दै प्रशासन गुहारेका किसानहरुलाई नीलकण्ठ सहकारीले मल उपलब्ध गराएका हुन् । किसानहरुले आन्दोलन गरेपछि प्रशासनले साल्ट टे«डिङ कर्पोरेसनलाई मल उपलब्ध गराउन माग गरेका थिए । किसानले प्रशासन गुहारेको तेस्रो दिनमै मल पाएका हुन् ।
मल नपाएपछि धादिङका किसानद्धारा प्रशासन कार्यालय घेराउ (भिडियो)
अर्को घाममा मल लिन आएका ज्वालामुखी गाउँपालिका वडा नं ४, ढोलाका कमल नारायण श्रेष्ठ मल पाएपछि खुसी भएका छन् । खेतमा लगाएको धानमा मल लिन सदरमुकाम धादिङबेसीसम्म धाइरहेका श्रेष्ठले बल्ल मल पाएको बताए ।
लामो समयदेखि धादिङका किसानहरुलाई सहुलियत दरमा रासायनिक मल वितरण गर्दै आएको नीलकण्ठ सहकारी संस्थाले किसानहरुलाई मल उपलब्ध गराएका हुन् । मलका लागि नाम दर्ता गराएका १२ सय किसानलाई मंगलबार सहकारीले मल उपलब्ध गराएका छन् । प्रति किसानलाई एक÷एक बोराका दरले मल प्रदान गरिएको सहकारीका व्यवस्थापक हरिप्रसाद रिजालले बताए । सहकारीलाई साल्ट टे«ड कर्पोरेशनले ७ सय बोरा र कृषि सामग्री केन्द्रबाट ४ सय बोरा मल उपलब्ध गराएको रिजालले बताए ।
मल दिने खबर पाएपछि गाउँगाउँबाट आउनेहरुको भीड लागेको थियो । नेपाल सरकारले किसानहरुलालाई सजिलोका लागि सहकारी मार्फत मल बिक्रि गर्ने नीति ल्याएको छ । त्यहि नीति अनुसार नीलकण्ठ सहकारीले मल वितरण गर्दै आइरहेको छ । तर पछिल्लो समय सहकारीमा मल नआउने र व्यापारीहरुले नै कालोबजारी गरि मल वितरण गर्दा किसानहरु दोब्बर तिर्नुपर्ने मारमा छन् । सहकारीले भने अबदेखि सहज रुपमा किसानहरुले मल पाउने आश्वासन दिएका छन् ।
धादिङ जिल्ला तरकारी तथा खाद्यन्न क्षेत्रमा अब्बल मानिन्छ । यहाँ उत्पादन भएको तरकारी तथा खाद्यन्नहरु काठमाडौँ, पोखरा, चितवन लगायतका मुख्य बजारहरुमा निर्यात गरिन्छ । देशका मुख्य बजारहरुको मागलाई परिपूर्ति गर्दै आइरहेको जिल्ला नै किसानहरुलाई आवश्यक मल, बिउ लगायतका कृषि सामग्रीहरुरको आवश्यकता नहुनु विडम्बना नै हुन् । राज्यले पनि किसानहरुको समस्यालाई समाधान गर्नु आवश्यक छ ।
२०७६ जेठ २३ गते प्रकाशित