Fri. Mar 29th, 2024

धादिङमा बिजुलीबत्तीको लुकामारी : छिनमा आउँछ, छिनमा जान्छ


३१ जेठ, धादिङ –

छिन–छिनमा बिजुली काटिने समस्याबाट धादिङका उपभोक्ता मारमा परेका छन् । ‘छिनमा आउँछ, छिनमै जान्छ, बिजुलीबत्तीको लुकामारीले पीडित छौँ, धादिङबेसीकी राममाया श्रेष्ठले गुनासो गर्दै भनिन््, ‘दिनमा सयौँ पटक आउने जाने गर्छ, विद्युतसँग जोडिएर काम गर्नेहरु मारमा परेका छन् ।’ यस्ता समस्याबाट उद्योगी र व्यवसायीहरु बढी मर्कामा परेका छन् ।

धादिङमा यो समस्या तत्काल मात्र देखिएको होइन । यस्तो समस्याले उपभोक्ताहरु वर्षदिनदेखि हैरानी व्यहोर्नु परेको छ । अझ विगत एक महिनादिनदेखि जिल्लाको विद्युत सेवा अवरुद्ध हुने बित्तिकै जिल्ला सदरमुकाम आसपासमा नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गरेपछि स्थानीयबासीहरुमा झनै समस्या थपिएको छ । यसले गर्दा व्यवसायी, विद्यार्थीहरु बढी मारमा परेका छन् ।

प्रत्येक मिनेट बिजुलीबत्तीमा काम गर्नुपर्ने भएपनि झ्याप्प झ्याप्प बत्ती जादाँ दैनिक माग गर्न असहज हुने गरेको धादिङबेसीमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरुको गुनासो छ । एक दिनमै दजर्नौ पटक विद्युत आउने जाने गरेका कारण दत्तचित्त भएर केही पनि काम गर्न नपाइएको धादिङबासीको गुनासो छ । बर्षातको समय सुरु हुन लागेको भएर हावाहुरीका कारण विद्युत सेवामा अवरोध आएपनि विद्युत बन्द हुने वित्तिकै नेपाल टेलिकमको सेवामा पनि समस्या आउने गरेको छ । टेलिकमसँग ब्याकअप सिष्टम हुनुपर्ने उपभोक्ताहरु बताउँछन् । विद्युत सेवामा अवरोध आउँदा फर्निचर, ग्रील लगायतका विद्युतबाटै चलाउने उद्योगीहरु अर्डर लिएको सामान समेत समयमा बुझाउन नपाइने गुनासो गर्छन् ।

हावाहुरी चल्ने मौसम भएकाले लगातार विद्युत अवरुद्ध भइरहेको नेपाल विद्युत प्राधिकरण धादिङ वितरण शाखाका प्रमुख ध्रुव कार्कीले बताए । ‘देवीघाटबाट धादिङवेशी ल्याएको प्रशारण लाइन नै लामो छ, सामान्य समस्या आइरहेको हुन्छ’, उनले भने, ‘हावाहुरीको मौसम पनि छ, हावाहुरीले क्षति पुग्ने भएपछि विद्युत अवरुद्ध भएको हो ।’ मर्मतको समयमा सुचना दिएरै विद्युत सेवा बन्द गरेको भएपनि पटक पटक अवरुद्ध हुने समस्या भने प्रशारण लाइनमै समस्या आउने गरेकोले उत्पन्न भएकोे कार्कीले बताए ।

विद्युत सेवा अवरुद्ध हुने वित्तिकै नेपाल टेलिकमको नेटवर्कमा पनि समस्या आउने गर्छ । जसबाट स्थानीयहरु झनै पीडित हुने गरेका छन् । विद्युत जाने वित्तिकै गाउँ गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने गरेको नेपाल टेलिकम धादिङका प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए । ‘गाउँका टावरले काम नगरेपछि सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले टेलिफोन नसुनिने, अस्पष्ट आवाज आउने हुन्छ’ उनले भने, ‘विद्युत बन्द हुने वित्तिकै नेटवर्क बन्द नै भएको छ छैन, ब्याकअप सिष्टमले काम गर्छ तर सदरमुकाम भन्दा बाहिरको टावर बन्द भएको अवस्थामा सदरमुकामको टावरमा बढी लोड पर्ने भएकाले केही समस्या देखिएको हुन सक्छ ।’

कटुवालले नेटवर्कमा कुनै समस्या नभएको बताएपनि विद्युत अवरुद्ध भएको केही समयमा सदरमुकाम आसपासमा भने नेपाल टेलिकमको नेटवर्क बन्द भइहाल्छ । विद्युत प्राधिकरणले समय समयमा मर्मतका लागि भनेर सूचना दिने गरेका छन् । तर त्यस बाहेकका अन्य दिनहरुमा भने झ्याप्प झ्याप्प बत्ती गइदिदाँ लाखौँ पर्ने सामान समेत बिग्रने जोखिम उत्तिकै हुने गरेको उपभोक्ताहरु बताउँछन् ।

२०७६ जेठ ३१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: