Tue. Jul 16th, 2019

सिद्धलेकको काम्राङमा डिप बोरिङ मार्फत १ सय २२ घरमा खानेपानी


७ असार, धादिङ –


धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ काम्राङमा डिप बोरिङ मार्फत घरघरमा खानेपानी पु¥याइएको छ । सुख्खा डाँडामा डिप बोरिङ गरि १ सय २२ घरमा पानी पु¥याइएको छ ।

२०७२ बैशाखमा गएको भूकम्पपछि मुहान सुकेपछि पानीको समस्या भएको थियो । पानीको समस्या भएपछि सिद्धलेक गाउँपालिका र अक्सफामसँगको सहकार्यमा फोकस नेपालले खानेपानी आयोजना निर्माण गरेको हो ।

कार्यक्रममा बोल्दै मन्त्री शालिकराम जम्कट्टेलले खानेपानी प्रत्येक नागरिकको पहिलो आवश्यकता भएकाले स्थानीय सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । प्रदेश सरकारले कृषकहरुलाई सक्षम र व्यवसायीक बनाउन तालिम प्रदान गर्न बेनिघाट रोराङस्थित धुषामा चाडैँ नै तालिम केन्द्र बन्ने बताए । भैसी पाल्ने किसानलाई प्रति लिटर दुधको मूल्यमा एक रुपैया प्रदेश सरकारले थपिदिने नीति ल्याएको र चाडैँ नै कार्यान्वयन हुने बताए ।

खानेपानी आयोजनाको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे । खानेपानी आयोजना सिद्धलेक गाउँपालिकाको ३० लाख १० हजार, अक्सफाम र फोकस नेपालको ३९ लाख ७७ हजार ७ सय ३६ र स्थानीय जनश्रमदान १७ लााख ८२ हजार ८ सय ८ रुपैँया गरी जम्मा ८७ लाख ७० हजार ५ सय ५५ रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

खानेपानीबाट स्थानीय १ सय २२ घरधुरीका ६ सय ६५ जना नागरिकहरु लाभान्वित भएका छन् । १ सय ३२ मिटर तलबाट बोरिङ गरिएको पानी ५० हजार लिटरको ट्याङकीमा रिजर्भ गरेर खानेपानी वितरण गरिएको छ ।

२०७६ असार ७ गते प्रकाशित

Loading...