Thu. Mar 28th, 2024

पितृसत्ताले पेलिएका हामी

गायत्री खतिवडा–


केही दिन अघि इटहरीका मेयर द्धारिकालाल चौधरीले सार्वजनिक कार्यक्रममा महिलाप्रति अपमानजक शब्द बोलेको कुरा सामाजिक सञ्जालमा आइरहेको छ । उनले जुन निन्दनीय शब्दहरु बोल्दै गर्दा दर्शक दिर्घामा रहेका पुरुषहरु गलल्ल हाँसेको भिडियोहरु सामाजिक सञ्जालमा आइरहेको छ ।

पित्तृसत्ताले पुरुषलाई दिएको स्वतन्त्रता र महिलामाथिको भद्दा मजाकको यो भन्दा गतिलो उदाहरण अरु के होला ? महिलाको यौनिकतामाथिको नियन्त्रणको यो भन्दा राम्रो उदाहरण कुन होला ?

हजार वर्षदेखि यो समाजमा पुरुष मालिक र महिला केवल नोकर मात्र । पुरुष शासक र महिला शोषित मात्र । सत्य, त्रेता , द्धापर र कलि (चारै युग) मा जे जति लेखिए ति सवै पुरुषको कथा र कहानी । ति सवै कथा कहानीमा पुरुष वीर, पुरुष पुरुसार्थी, पुरुष बलवान, पुरुष दुरदर्शी पुरुष रक्षक , पुरुष महिलालाई तह लगाउने लगामकर्ता । महिला कतै दासी, कतै प्रतिव्रता, कतै सति सावित्री, कतै सेवक , कतै नोकर्नी । यि त साशककर्ताको कुरा भयो ।
अव बोलिचालीको कुरा गरौं ।
जन्मजात “मौसुफ”, “हजुर”, “तपार्इं” जति पुरुष । अनि जन्मजात “तँ” जति महिला । (अहिले केही हदसम्म सुध्रिएर तिमी मा आइपुगेको छ । त्यहि नी मन परेको बेला) अहिले पनि पहिले प्रेमि प्रेमिका हुँदा दुवैलाई “तिमी” ठिकै । विहे भएको दिनदेखि पे्रमिलाई “हजुर” र “तपार्इं” मा बढुवा गर्नै पर्ने । प्रेमिका चै उहि कहिले कहिले तिमी नत्र “तँ ”।

म आफैप्रति गरिएको व्यवहार हेरेर कहिले छक्क पर्छु । कहिले दिक्क महशुस गर्छु । म ३५ वर्षको भएँ । म संग संगै पढेको वा मैले लामोसमय देखि चिनेको मेरै उमेरको पुरुष व्यक्तिले सहजताका साथ मलाई “तिमी” भनिरहेको हुन्छ । भन्छ । तर म उसलाई “तपार्इं” भन्छु । कहिले कहिले मेरो मनमा प्रश्न उठ्छ के कारणले “म तिमी” र के कारणले “ऊ तपार्इं” । अझ म भन्दा १०÷१२ वा १५ वर्ष कान्छो पुरुषलाई मैले सर भन्नुपर्ने । भनेको पनि छु । नमस्कार गर्नुपर्ने । गरेको पनि छु । तर मलाई ति व्यक्तिहरुले नमस्कार गर्नुपर्दैन । गर्दैनन् पनि । सकेसम्म म संग बोल्न चाहदैनन् । धेरै पटक यो व्यवहार भोगेको छु ।
आखिर किन ?
के कारणले ?
महिला भएकैले सधैभरि मैले “तिमी कै दर्जा” मात्र पाइरहनुपर्ने । त्यसैमा मिठो मान्नुपर्ने । सहज मान्नुपर्ने । चित्त बुझाउनुपर्ने ।
पुरुष भएकैले ऊ “स्वतः तपार्इंको दर्जामा” हुने ।
यदि उमेर, पेशा र दक्षताको आधारमा आदर गरिन्थ्यो भने म र म जस्ता महिला साथीले इज्जतको बोलि पाउँथे होलान् ।
जिल्लाका कति सरकारी कर्मचारीको यस्तै व्यवहार देखेर उदेक लाग्छ । कुनै पुरुष व्यक्ति भेट्ने वित्तिकै उसले सरको दर्जा पाउँछ । नमस्कार पाउँछ । आदर पाउँछ ।
तर म वा म जस्तै कुनै महिला भेट्दा सकेसम्म बोल्न नपरोस् भन्ने खालको आसय देखिन्छ । बोलिहाले पनि तिमीको दर्जा हुन्छ । त्यहाँ आदर होइन होच्याउने खालका प्रश्न तेर्सिन्छ । त्यतिबेला पनि हामिले उनीहरुको कुरा मिठा मान्दिनुपर्ने ।
मैले यो कुरा गरिरहदा कतिपयलाई लाग्छ, “यस्ता वाहियात कुरा के सुन्नु ?”
वा कतिपयलाई लाग्छ , “आफुलाई खुब ठूली सोचेर भाउ खोजेकी होला !”
किनकी हजार वर्ष देखि महिला भएकै कारणले कुनै पनि छोरीले “आफ्नो सम्मान खोज्ने हक छैन ।” आफ्नो मनको कुरा “निर्धक्क बोल्ने हक छैन ।”
हो , हजारौं वर्षदेखि यही “आधा कोल्टिएको तराजु वाला” समाजका कारण इटहरिका मेयरले महिलालाई अपमानको शब्द सहजताका साथ बोले । यही सिकाइ, यहि हुकाइ यहि शिक्षा र चेतनाले “महिला केवल रन्डि हो !” भन्न कुनै लाज भएन । यस्तो अश्लिल शब्द बोल्न कुनै पदिय मर्यादाले छेकेन ।

हामिले हर दिन सुन्ने गालिका सवै शब्द आमासंग जोडिएका शब्दहरु मात्रै छ । आमाको गर्भमा ९ महिना बसेर आमाको योनिमार्ग बाट यो धर्तिमा झरेको तिनै नरपशुले आमासंगै जोडिएको घृणित शब्दहरु बोलेर ८४ लाख जुनि पार गर्दा पनि नकाटिने पाप गरिरहन्छ । कहिले शक्तिको आडमा । कहिले सत्ताको आडमा । कहिले राजनीतिक रङ्गको आडमा । कहिले रिसको झोकमा , कहिले रक्सीको मातमा , कहिले उन्मादमा । फेरी पनि ऊ नै ठूलो कहलिन्छ । ऊ नै सम्मानित हुन्छ । ऊ नै शिर ठाडो पारेर घुमिरहन्छ । असार ४ गते यता द्धारिकालाल चौधरी कतिवटा कार्यक्रममा प्रमुख अथिति र आथिति भएर पुगिसके होलान् । त्यही निच सोचाइले भरिएको टाउकोलाई खादा र माला ओढाइसकियो होला ।

पितृसत्ताले महिलाको यौनिकतामा सवैभन्दा धेरै नियन्त्रण गरेको छ । पुरुष आफु हाफ पाइन्ट÷कट्टु र गन्जिमा बजार डुल्छ । सार्वजनिक कार्यक्रममा जान्छ । तर कुनै महिलाले टिसर्ट र पाइन्ट वा स्कट लगाएको देखेमा कुरो काट्छ । गिद्दे नजर लाउँछ । ¥याल काढ्छ । मानौं जन्मजात आफुलाई यस्तो गर्न अधिकार प्राप्त भए झै दिउँसै रक्सी खाएर मनपर्दी बोल्छ । कुनै केटि साथी वा महिलाले अर्को पुरुष व्यक्ति संग बोलेमा , बजार डुलेको देखेमा चरित्रमाथि औंला उठाउँछ । फलानोको को संग अफेयर छ ? फलानोको को संग रिलेसनसिप छ ?भन्दै चोक ,चियापसल र चौतारोमा केरकार गर्छ । उसको आफ्नै नियत खराब छ अनि महिलालाई दोषिको रुपमा हेर्छ ।

घरमा भएकी श्रीमतीको आँखामा छारो हालेर आफैं बेश्या बन्दै होटल रात कटाएर बाहिर निस्कन्छ अनि महिला प्रति नै चोरऔंला उठाउँछ । आफुले रात भर होटलमा वियरको दजनौं बोतल सिध्याउँछ अनि विहान चिया पसलमा आफ्नो गुजारा चलाएकी दिदीबहिनी प्रति गिद्धे आँखाले हेर्छ । कुरा काट्छ ।

पितृसत्ताले पुरुषलाई जति गलत गर्दै हिंडे पनि सय प्रतिशत ठिक र महिला आफ्नो ठाउँमा सय प्रतिशत ठिक भएपनि बेठिक सावित गरिदिएको छ ।

पितृसत्ताले पुरुषको मनोरञ्जन गर्ने साधनको रुपमा महिलालाई लियो । हजारौं वर्षदेखि त्यसैगरि उपभोग गर्दै आयो । त्यस्तै कथाहरु लेखिए । कहावतहरु बनाइए । जब पछिल्ला वर्षहरुमा महिलाले आफ्नो पहिचान खोजे, स्वतन्त्रता खोजे त्यसपछि महिलाहरुको नैतिकता र चरित्रको कुरा उठाएर प्रहार गरियो । अहिले पनि त्यसै गरिदैछ ।

द्धारिकालाल चौधरी जस्ता पात्र हाम्रा वरपर सयौं छन् । जो महिलालाई खिसी गर्न पाउँदा आनन्दको महसुस गर्छन् । महिलालाई हेयको भावले हेर्छन् ।

सार्वजनिक पदिय हैसियतमा बसेका प्रायः सवै पुरुषहरु आफुमात्रै सक्षम ठान्छन् । त्यो संस्था, समुह वा कार्यालय आफ्नै निर्णय र नेतृत्वमा अडिएको महशुस गर्छन् । अनि महिलामाथि अपमानको शब्द ओकल्छन् । कुनै कार्यक्रममा महिला संगै जाने अवस्था आएमा सकेसम्म पछिन्छन् । र बोझको रुपमा महशुस गर्छन् ।

मैले भोगेको अनुभवमा पुरुषहरु अपमानको शब्द बोल्छन् र पनि माफि माग्दैनन् । इच्छा विरुद्धको गलत व्यवहार गर्छन् र पनि माफि माग्दैनन् । व्यवहार सुर्धादैनन् । आज सम्म मेरो चित्त दुखाएको कुनै पुरुषले म संग माफि मागेको छैन । सरि भनेको छैन । आफ्नो व्यवहार सुधारेको छैन ।

यदी समानताको समाज थियो भने घृणित शब्दहरु बोल्ने द्धारिकालाल चौधरीलाई तुरुन्तै चौतारोमा उभ्याएर फाँसि दिइन्थ्यो । न्यायपूर्ण समाज थियो भने यस्तो अपमानको शब्द बोल्ने मेयर होस् वा जो सुकैलाई घोक्रयाएर नाङ्गै बजार घुमाउन सक्थ्यो । कदापि यस्तो हुने वाला छैन । दुःखद कुरा ,अझै सामाजिक सञ्जालमा मेयरका पक्षमा वकालत गर्नेहरुको लर्को देखिन्छ ।

२०७६ असार ९ गते प्रकाशित

About The Author

Loading...