Sat. Jul 20th, 2019

धादिङ दामगाडेका स्थानीय ढिकी संरक्षण अभियानमा


९ असार, धादिङ –


आधुनिक कुटनी पिसनीको विकास नभएको समयमा प्रयोगमा आएको ढिकीको चलन आजभोलि हराउँदै गएको छ । ग्रामीण क्षेत्रमा विद्युतबत्तीको बिस्तार र विकासका कारण विद्युत र डिजेलबाट चल्ने मिल स्थापना भएसँगै ढिकीको प्रचलन हट्दै गइरहेको छ । ढिकीको बारेमा पछिल्लो पुस्ता जानकार समेत छैनन् ।

लोप हुन लागेको ढिकी संरक्षणमा स्थानीयहरु जुटेका छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ दामगाडेका स्थानीयहरुले सामुहिक रुपमा सामुदायिक ढिकी स्थापना गरि ढिकीको पुर्र्नस्थापित गराएका छन् । धान कुट्नका लागि विद्युतीय मेसिन भित्रिएपछि विस्थापित हुदै गएको ढिकीको जर्गेना गर्न सामुहिक रुपमा ढिकीको प्रचलन ल्याएको स्थानीय सानुमाया राउतले बताइन् ।
दशकअघि गाउँका सबैजसोे घरमा रहेका ढिकी, जाँतो, पानीघट्ट र कोलजस्ता स्थानीय प्रविधिको पछिल्लो समय संरक्षणको अभाव र स्थानीयबासीको बेवास्ताका कारण लोप हुँदै गइरहेको छ । गाउँका हरेक घरमा रहेका ढिकी तथा जाँतो अहिले छिटफूट मात्रामा देख्न पाइन्छ । विशेष गरी युवा वर्गले यस्ता परम्परागत उपकरणको संरक्षण र प्रयोगमा नाक खुम्चाउने प्रचलन बढ्दै गएको छ । पुरानो प्रचलन लोप हुने अवस्थामा पुगेपछि चिन्तित हुँदै संरक्षणमा जुटेको गाउँलेहरुको भनाई छ ।

बतासे खानेपानी आयोजना र स्थानीयको श्रमदान सहित डेढ लाखको लागतमा सामुदायिक ढिकी स्थापना गरिएको हो । हराउन लागि सकेको आफ्नो मौलिक प्रविधि पुर्नस्थापना भएकोमा स्थानीयहरु हर्षित देखिन्छन् । इतिहासमा मात्र सिमित यस्ता पूराना बस्तुहरुको संरक्षण र सम्वद्र्धन गरी भावी पुस्ताहरुलाई चिनाउनु पर्ने ९० वर्षिय समाजसेवी तारा बहादुर राउतले बताए ।

ढिकी र जातोमा कुटनी पिसनी गरी बनाईएका परिकारहरु खानको लागि उत्तम, स्वास्थ्यको लागि फाइदा हुन्छ भने स्वादिलो र पोषलो हुन्छ । घरैमा उत्पादन गरेका गुणस्तरिय स्वस्थकर तथा स्वादिष्ट खानाका लागि निरन्तर ढिकीजाँतोको प्रयोग आवश्यक रहेको बुढापाकाहरु बताउँछन् ।

आधुनिक प्रविधि तर्फ बढ्दो आर्कषण र सुविधाभोगी प्रवृत्ति बढेपछि धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो मात्र होइन तेल पेल्ने कोल लगायतका रैथाने प्रविधिहरु लोप हुँदै गएको छ । ०७२ सालको भुकम्पपछि भएका केही त्यस्ता रैथाने प्रविधि पुर्ननिमार्णको प्राथमिकतामा समेत परेनन् । ढिकी जाँतो र ओखलहरु विस्थापित भएपछि मानिसमा शारीरिक कसरत कमी भएकाले उनीहरु योगा र मर्निङवाक गर्न बाध्य भएका देखिन्छन् ।

ढिकी जाँतो र ओखलहरु चलाउदा शारीरिक कसरत समेत हुने भएका कारण पनि मानव जीवनमा यो अत्यन्तै महत्वपुर्ण भएको हो । ढिकीमा कुटेको चामल मिठो र पोषिलो हुनुका साथै स्वास्थका लागि फाईदा जनक हुने स्थानीयको भनाई छ । यसमा पिनेको बस्तुहरु धार्मिक दृष्टिकोणले समेत पवित्र मान्ने गरिन्छ । आफ्नो परम्परा, संस्कृति, पहिचान र रैथाने प्रविधिहरुलाई जर्गेना गर्न दामगाडेका स्थानीयहरुले बैधिक विधि अनुसार पूजाआजा गरेर ढिकीको सुरुवात गरेका हुन् । गाउँमा ढिकी स्थापना भएपछि गाउँलेहरुले ढिकीमा चामल कुटेर रोटी पकाई विधि पूर्वक ढिकीको पूजा गरेका थिए । सो अवसरमा स्थानीय खुसीले नाचगान गरेर हर्ष मनाएका थिए ।

२०७६ असार ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: