Mon. Aug 26th, 2019

धादिङको गजुरीमा क्वीस कप अन्तर विद्यालय छात्र तथा छात्रा फुटबल प्रतियोगिता सुरु


४ साउन, धादिङ –


धादिङको गजुरी गाउँपालिका वडा नं ५, गलौदीमा क्वीस कप अन्तर विद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगीताको गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुङगानाले एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिन् । कार्यक्रमको उद्घाटन गर्दै उनले खेल क्षेत्रमा राज्यको लगानी अपरिहार्य रहेको बताइन् । चौधरी ग्रुपको प्रायोजनमा धादिङ फुटबल संघले प्रतियोगीताको आयोजना गरेको हो ।

जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो । प्रतियोगीतामा जिल्लाभरका माध्यमिक विद्यालयका १९ वटा विद्यालयले सहभागी जनाएका छन् ।

प्रतियोगीता अन्र्तगत पहिलो दिन भएको खेलमा बागेश्वरी मावि मलेखुले विजयी भएका छन् । बागेश्वरीले धादिङबेसीस्थित न्यू किबो बोर्डिङ स्कुललाई २–० गोलले पराजित गरेको हो ।

दोस्रो खेलमा शंखादेवी मावि मझिमटार विजयी भएका छन् । शंखादेवीले ताल्तीमा रहेको पिपलभन्ज्याङ माविलाई २–० गोलले पराजित गरेको हो ।

तेस्रो खेलमा धार्केमा रहेको भूवनेश्वरी मावि बिजयी बन्यो । भूवनेश्वरीले सिम्लेमा रहेको महाकाली माविलाई ४–२ गोलले पराजित गरेको हो ।

पहिलो दिनको अन्तिम खेलमा पेनाल्टी सुटआउटमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले जित हासिल गरेको छ । एड्भान्स एकेडेमीले खानीखोलामा रहेको मछिन्द्र माविलाई ४–३ गोलले पराजित गरेको हो ।

२०७६ साउन ४ गते प्रकाशित

Loading...