सरिता श्रेष्ठ, धादिङ/
१ जेठ, धादिङ – सडक सञ्जाल पुग्न नसकेको उत्तरी धादिङका विभिन्न गाविसहरुमा हेलिकप्टरको सहायताले खाद्यान्न सामाग्री पु¥याइएको छ ।
बैशाख १२ गते गएको भूकम्पपछि ग्रामीण भेगका घरहरु पूर्ण रुपमा भत्किएसँगै अन्नपातहरु पनि पूरिएकाले खाद्यान्नको अभाव भएपछि जिल्ला प्रशासन कार्यलयको प्रयासमा खाद्यन्न साम्रगी पठाइएको हो । तत्काल देखिएको खाद्यान्न अभाव समस्यालाई समाधान गर्नका लागि चामल, नुन, चाउचाउ, विस्कुट लगायतका सामानहरु पठाइएको हो ।
हेलिकप्टर मार्फत शुक्रबार तिप्लिङ गाविसको सेङ्ताङ, लिङ्चो, री गाविसको लङगरखेत, सेतुङ गाविसको वोराङ, हिन्दुङ लगायतका ठाँउहरुमा खाद्यान्न सामग्री पठाइएको धादिङ प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो । त्यस बाहेकका अन्य गाविसहरुमा पनि खाद्यान्न साम्रगी पठाइने प्रहरी प्रमुख मल्लले जानकारी दिनुभयो ।
पटकपटकको गएको भूकम्पको पराकम्पनले लापा र सेर्तुङमा पहिरो गएको थियो । पहिरो गएपछि दार्खाका स्थानीयबासीहरुले आफूहरुलाई अन्यन्त्र सारी दिन र खाद्यान्न ल्याइदिन माग गरेका थिए । स्थानीयको माग अनुसार खाद्यन्न पठाइएको प्रशासनले जानकारी दिएको छ । यस अघि पनि उत्तरी धादिङका विभिन्न गाविसहरुमा हेलिकप्टरले माथिबाट नै सामान फ्याकेका थिए तर हेलिकप्टरले फ्याँकेको सामान त्यहाँका स्थानीयहरुले सजिलैसँग प्राप्त गर्न सकेका थिएन । हेलिकप्टरबाट फ्याकिदिदाँ चामलको बोरा फुटेर छरपस्ट भएको थियो । भने अन्य सामानहरु पनि त्यहाँको स्थानीयहरुले सजिलैसँग प्राप्त गर्न सकेका थिएनन् ।