२ जेठ, काठमाडौ – वैशाख १२ गते गएको महाभूकम्पपछि बन्द रहेका शैक्षिक संस्थाहरु जेठ १७ गतेबाट सञ्चालन गरिने भएको छ ।
निजी शैक्षिक संस्थाहरुको छाता संगठन अपिनको भूकम्प पीडित उद्धार मूल समितिको शनिबार बसेका वैठकले जेठ १० गते आइतवारदेखि उच्च माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय तथा कलेजहरु सञ्चालन गर्ने निर्णय गरेको छ । भने नीजि शैक्षिक संस्थाहरु जेठ १७ गतेदबाट सञ्चालन हुने निर्णय गरिएको हो ।
भूकम्पवाट त्रसित बनेको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गईरहेको भन्दै शिक्षण संस्थाहरु सूचारु गर्ने निर्णय गरिएको अपिन प्रचारप्रसार उपसमिति संयोजक रमेश सिलवालले जानकारी दिनुभयो ।
वैशाख १२ गतेको भूकम्पपछि त्रसित जनजीवन सामान्य हुँदै गएपछि जेठ १ गतेदेखि पठनपाठन सूचारु गर्ने तयारी भइरहँदा वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्पले गर्दा पठनपाठन अनिश्चित बनेको थियो ।
शिक्षा मन्त्रालयले भने जेठ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । बैठकले मातहतका विद्यालयहरु, उच्च मावि, सीटीईभीटी मातहतका संस्था तथा कलेजहरुमा भएको जनधनको क्षतिको पूर्ण विवरण जेष्ठ ५ गतेसम्म संकलन गरी सार्वजनिक गर्ने निर्णय गरेको अपिनले जनाएको छ ।