Mon. Aug 26th, 2019

घरकै कुकुरले सार्न सक्छ रोग


२९ श्रावण , काठमाडौँ —

पछिल्लो केही वर्षयता घरपालुवा कुकुरका कारण रोगको जोखिममा पर्ने नेपालीको संख्या बढ्दो छ । उपयुक्त वैज्ञानिक स्याहारसुसार, नियमित स्वास्थ्य परीक्षण, खोप आदिमा उचित ख्याल नगरिँदा कुकुरबाट सर्ने परजीवी र जुनोटिक रोगले मान्छेमा समस्या देखिएको छ ।

जुनोटिक रोगको एउटा प्रमुख स्रोतका रूपमा कुकुरलाई समेत मानिन्छ । यसले थुप्रै भाइरल, ब्याक्टेरियाजन्य रोग मान्छेमा सार्न सक्छ । यस्तो जुनोटिक रोग कुकुरको संक्रमित र्‍याल, नाक, मुखबाट निस्किने घुलित कण, पानीको ससाना थोपा, दूषित मलमूत्रसँगै कुकुरसँगको प्रत्यक्ष सम्पर्कले गर्दा हुने गर्छ । जनावरबाट मान्छेमा सर्न सक्ने करिब सयभन्दा बढी जुनोटिक रोग छन् । कुकुर मात्र हैन खरायो, गाई, भेडाबाख्रा, चरा, घोडालगायतका सबै घरपालुवा जनावरले हामीलाई रोग सार्न सक्छन् । यस्तै थुप्रै परजीवीहरू (प्यारासाइट) समेत कुकुरबाट मान्छेमा सर्न सक्छ ।

घरपालुवाको रूपमा र बढी हिमचिम गर्ने, प्रत्यक्ष सम्पर्कमा रहने जनावरको रूपमा कुकुर रहेकाले यसबाट रोग सर्ने खतरा अन्य जनावरबाट भन्दा बढी हुन्छ । ‘पछिल्लो समय सहरी क्षेत्रमा कुकुर पाल्नेको संख्यामा वृद्घि भइरहेको छ । साथै, यसले सार्ने रोगहरूसमेत जनस्वास्थ्यका लागि चुनौतीका रूपमा देखिन थालिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, जुनोटिक तथा अन्य सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. समीरकुमार अधिकारीले बताए ।

अधिकारीका अनुसार, सहरी क्षेत्रमा सडकछेउमा, घरबाहिर कुकुरलाई दिसापिसाब गराउने वा त्यसको मलमूत्र फ्याँक्ने अवैज्ञानिक प्रक्रियाले गर्दा मान्छेमा विभिन्न रोग तथा संक्रमणको खतरा उच्च देखिएको छ । यसैले घरपालुवा कुकुरको मलमूत्र आदिको उचित रूपमा वैज्ञानिक व्यवस्थापन गरेर आफूसँगै अन्यलाई पनि संक्रमणको जोखिमबाट जोगाउनुपर्छ । तथ्यांकअनुसार, शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा दैनिक कुकुर टोकाइबाट पीडित भई आउनेहरूमध्ये ७० प्रतिशतसम्मलाई घरपालुवाका कारण जोखिममा पर्ने गरेका छन् ।

भुस्याहा कुकुरको टोकाइबाट मात्र हामी सतर्क रहने भए पनि करिब ७० प्रतिशतसम्म मान्छेलाई भने छिमेकी वा आफन्तले पालेको कुकुरको टोकाइमा पर्ने गरेको टेकु अस्पतालका डा. शेरबहादुर पुन बताउँछन् । घरपालुवाले टोक्दा, घाउ सानो हुँदा वा सानो कुकुरले टोक्दा उपचारमा नजाने प्रवृत्ति बढी रहेको औंल्याउँदै डा.पुनले थपे, ‘सानो घाउ भएमा वा घर पालुवाले टोकेमा समेत रेबिज देखिएका प्रमाणहरू भएकोले कुकुरको कुनै पनि प्रकारको टोकाइ आदिमा चिकित्सकीय सल्लाह लिनै पर्छ ।’

यस्तो टोकाइ कुकुरसँग जिस्किँदा बढी हुने गरेको छ । यति मात्र नभई सरकारी तथ्यांकअनुसार, कुकुरको टोकाइले रेबिज रोग भएर मृत्यु हुनेहरूको संख्या गत वर्ष ३२ जना पुगेको थियो । कुकुरले टोकेको ४ दिनदेखि थुप्रै वर्षपछि पनि रेबिज देखिन सक्छ । रेबिज देखिने समयलाई टोकाइको प्रकृति र शरीरभित्र प्रवेश गरेको भाइरसले निर्धारण गर्छ । रोबिजको कुनै पनि उपचार छैन । डा. पुनका अनुसार, कुकुरको टोकाइबाट रेबिज मात्र नभई लुतो, छालाको समस्या, एलर्जी, जुका, किर्नाबाट हुने विभिन्न रोग, हाइडेटेड सिस्ट, लेप्टोस्पोरोसिसलगायत अन्य थुप्रै प्रकारका रोग पनि सर्न सक्छन् ।

यदि तपाईं आधारभूत स्वच्छताको सामान्य नियम पालन गर्नुहुन्छ भने, यस्ता धेरै रोगबाट बँच्न भने सक्नुहुन्छ । स्वच्छताका लागि मुख्य रूपमा साबुनपानीले हात धुनेलगायत पर्छन् । हाल मुलुकमा घरपालुवा कुकुरबाट मुख्य रूपमा मान्छेमा रेबिज, छालाजन्य रोग, लुतो, हाइडेटिक सिस्ट, विभिन्न प्रकारका जुकाहरू, जन्डिस, एलर्जी आदि देखिने गरेको औंल्याउँदैएड्भान्स पेट हस्पिटलका अध्यक्ष एवं पशु चिकित्सक डा. शरदसिंह यादव भन्छन्, ‘घरपालुवा जनावरलाई सामान्य हेरचाह गरेर कुकुरबाट सर्न सक्ने रोगबाट धेरै हदसम्म बँच्न सकिन्छ ।’

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को अनुमानअनुसार, विश्वव्यापी रूपमा बर्सेनि ३० हजारदेखि ७० हजार जनाको मृत्यु रेबिजका कारण हुने गरेको छ । बर्सेनि करिब ५० लाख व्यक्तिलाई कुकुरले टोक्ने गरेको छ ।

कुकुरलाई खोप लगाऔं
कुकुरबाट सर्ने रोगबाट बाँच्न यसलाई नियमित रूपमा विभिन्न रोगविरुद्घको खोप लगाउनुपर्छ । जसअन्तर्गत एन्टिरेबिज खोप सबैभन्दा महत्त्वपूर्ण हो । यादवका अनुसार, कुकुरका छाउराछाउरीलाई जन्मेको ३ महिनाको उमेरमा नै एन्टिरेबिज खोप लगाउनुपर्छ । यसको ठिक एक महिनापछि खोपको बस्टर डोज लगाउन बिर्सनुहुन्न । यसपछि कुकुर बाँचुन्जेल बर्सेनि एन्टिरेबिज खोप लगाउनुपर्छ ।

कुकुरलाई प्रायः रोगविरुद्घको खोपहरू छाउराछाउरी जन्मेको ४५ दिनपछि पशु चिकित्सकको सल्लाहमा लगाउनुपर्छ । यसअन्तर्गत, डिस्टेम्पर, हेपाटाइटिस, प्यारा इन्फ्लुएन्जा, पार्भोभाइरस, लेप्टोस्पाइरा, कोरोना भाइरस, रेबिजलगायत रोगविरुद्घको खोप छाउराछाउरी ४५ दिनको भएपछि नै सुरु गरेर प्रत्येक महिना ३ पटक गरी ३ महिनासम्म लगाउनुपर्छ । यसपछि यी खोपहरू वर्षमा एकपटक बाँचुन्जेल लगाउनुपर्छ ।

कुकुरमा देखिने विभिन्न खालका जुकाले मान्छेलाई समेत संक्रमित पार्छ । यसैले कुकुरलाई जुका हुन नदिन छाउराछाउरी जन्मेको एक महिनामा जुकाको औषधि खुवाउनुपर्छ । यो औषधिको मात्रा शरीरको तौलअनुसार पशु चिकित्सकको सल्लाहमा उचित मात्रा खुवाउनुपर्छ । जुकाको औषधि सातामा एकपटक गरी ३ सातासम्म खुवाउँदै जानुपर्छ । यसपछि प्रत्येक ३ महिनामा एकपटक गरी कुकुर बाँचुन्जेल जुकाको औषधि खुवाउनुपर्छ । उसको शरीरमा किर्ना, उपियाँ देखिए औषधिमुलो गर्नबाट पन्छिनु हुँदैन ।

छालामा लाग्ने रोग
कुकुरको छालामा लाग्ने विभिन्न रोगहरूमध्ये केहीब्याक्टेरिया, फङ्गसलगायतले लाग्ने रोग मान्छेमा समेत सर्ने तीव्र सम्भावना हुन्छ । धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार, रिंग वर्म (दाद) लगायतका जुनोटिक छाला रोग फङ्गस ‘माइक्रोसेपोरम कैनिस’ र ‘स्केविज’ हुने कारण माइट (किर्ना) ‘सरकोपिटस स्केवी’, चेयलेटेला माइटस र हार्भेस्ट माइट (ट्रामविकुला प्रजाति) आदिको माध्यमले प्रत्यक्ष शारीरिक सम्पर्कद्वारा सजिलै व्यक्ति विशेषमा सर्छ ।

यस्तो रोगबाट बाँच्न संक्रमित कुकुरको अनावश्यक रूपमा प्रत्यक्ष सम्पर्कमा आउनबाट जोगिनुपर्छ । साथै, कुकुरसँग खेलेपछि, स्याहार गरे पछि वा कुनै प्रकारको प्रत्यक्ष सम्पर्कमा आएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

घरपालुवा कुकुरको छाला र रौं स्वस्थ राख्न नियमित पशु चिकित्सकलाई देखाउनुपर्छ । ‘हेर्नोस्, तपाईंको काखमा रमाउने, ससाना नानीहरूसँग खेल्ने, अत्यन्त नजिकको सम्बन्ध राख्ने कुकुरको छाला स्वस्थ रहे मात्र तपाईंमा समेत संक्रमणको जोखिम न्यून हुन्छ,’ यादवले भने ।

खाना र नुहाउने तरिकाले समस्या
कुकुरलाई उपयुक्त खानाको अभाव र अवैज्ञानिक रूपमा नुहाउनाले समेत बढी मात्रामा स्वास्थ्यसम्बन्धी समस्या देखिने गरेको छ । कुकुरलाई क्याम्पलोब्याक्टेरिया र साल्मोनेला संक्रमणबाट जोगाउन पकाइएको मासु, अण्डा मात्र खान दिनुपर्छ ।

‘हाल हाम्रो मुलुकमा घरपालुवा कुकुरमा देखिएको एउटा प्रमुख समस्यामध्ये एक भनेको खानामा उपयुक्त पौष्टिकतत्त्व नहुनु हो,’ डा. यादवले थपे, ‘त्यसैगरी, सफा राख्ने बहानामा आवश्यकताभन्दा धेरै पटक नुहाइदिने, मानिसले उपयोग गर्ने साबुन, स्याम्पुको प्रयोग गर्नेसमेत समस्याकै रूपमा देखिएको छ ।’

गर्मीयाममा कति परिवारमा त कुकुरलाई सफासुग्घर राख्ने नाममा दिनहुँ नुहाइदिनेसमेत गरिएको छ । यो पूर्णतः अवैज्ञानिक रहेको विज्ञहरू बताउँछन् । ‘महिनाको एकपटक मात्र त्यो पनि राम्ररी घाम लागेको बेलामा घरपालुवाको लागि बनाइएको साबुन, स्याम्पु प्रयोग गरेर नुहाइदिनुपर्छ,’ डा. यादव भन्छन्, ‘नुहाइदिएपछि पूर्ण रूपमा छाला सुकाएर मात्र घरभित्र लैजानुपर्छ ।’

मानिस र कुकुरको छालाको प्रारूपमा धेरै फरक छ । कुकुरको छाला मानिसको भन्दा धेरै संवेदनशील भएकाले बढी स्याहार चाहिन्छ । नुहाइदिएर राम्ररी नसुकाउँदा कुकुरको छालामा विभिन्न ब्याक्टेरिया, फङ्गसलगायतको संक्रमणको सम्भावना बढी हुन्छ ।

के गर्ने 
कुकुर वा यसको मलमूत्रसँगको कुनै पनि प्रत्यक्ष सम्पर्कपछि साबुनपानीले हातखुट्टा धुनुपर्छ । धेरैजसो भाइरल र ब्याक्टेरियाजन्य संक्रमण कुकुरको टोकाइबाट हुने गरेको छ । क्याम्प्लोब्याक्टेर र साल्मोनेला संक्रमणबाट जोगाउन कुकुरलाई काँचो नभई उमालेको मासु र अण्डा दिने बानी बसालौं । आफ्नो कुकुरलाई नियमित रूपमा चिकित्सकीय सल्लाहअनुसार रेबिजविरुद्घको खोप लगाउन नबिर्सौं ।

ककुरलाई छोएपछि हात धुने
कुकुरलाई छोएपछि वा उसको मलमूत्र व्यवस्थापन गरेपछि साबुनपानीले उपयुक्त प्रक्रियाअनुसार हात धुनुपर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले राम्ररी हात धुन न्यूनतम १५ सेकेन्ड खर्चिनुपर्ने जनाउँदै आएको छ । यो त्यतिकै समय हो जतिमा तपाईं ‘हृयाप्पी वर्थ डे टु यु’ गीत दुईपटक गाउन सक्नुहुन्छ । बच्चालाई राम्ररी हात धुन सिकाएर एउटा राम्रो बानीको विकास गर्न सकिन्छ ।
उचित प्रकारले हात धुन पानीमा हात भिजाएर पर्याप्त साबुन लिएर हातमा राम्ररी फैलाउनुपर्छ । यसपछि दुवै हातलाई राम्ररी दल्नुपर्छ । दुवै हातलाई एकआपसमा दल्दै औंलाको बीचमा समेत राम्ररी सफा गर्नुपर्छ । यस्तै, दुवै हातको औंलालाई आपसमा समातेर औंलाको पछाडिको खण्ड अर्को हातमा दल्नुपर्छ । बायाँ औंलालाई दायाँ हातमा समातेर घुमाउँदै दल्नुपर्छ । र, फेरि यस्तै विपरीत क्रममासमेत गर्नुपर्छ ।

हात धुँदा हात र औंलामा लगाइएको आभूषण खोल्नुपर्छ । किनभने आभूषणमा ब्याक्टेरिया र भाइरस लुक्ने जोखिम अत्यधिक हुन्छ । धोएको हात सफा तौलियाले राम्ररी पुछ्नुपर्छ । चिकित्सकका अनुसार सफा ठाउँमा राम्ररी घाममा सुकाइएको तौलियाले नै हात पुछ्नुपर्छ ।

तौलियालाई भने उम्लिरहेको पानीमा धुनुपर्छ जसले गर्दा त्यो किटाणुमुक्त रहोस् ।

मान्छेबाट समेत कुकुरलाई रोग
मान्छेबाट समेत कुकुरलाई विभिन्न खालका रोग सर्न सक्छन् । विभिन्न चिकित्सा तथ्यपत्रहरूका अनुसार, क्षयरोग, घाँटी दुखाइ (सोर थ्रोट), उपियाँ आदि मान्छेबाट कुकुरमा सर्ने रोगको केही उदाहरण हुन् ।

साल्मोनेला र क्याम्पिलोक्याक्टरबाट हुने एन्टराइटिस (आन्द्राको सुन्नाइ) संक्रमित व्यक्तिबाट कुकुरलाई समेत सर्न सक्छ ।

बढी खतरामा को ?
एचआईभी/एड्स संक्रमितहरू
विकिरण उपचार वा केमोथेरापी लिइरहेकाहरू
बूढापाका, गर्भवती महिला, बालबालिका
विभिन्न प्रकारका दीर्घरोगीहरू
क्यान्सर रोगीहरू
जन्मजात रोग प्रतिरोधक क्षमतामा कमी भएकाहरू
मृगौलालगायत अंग प्रत्यारोफण गराएकाहरू

सर्न सक्ने रोग

रेबिज
दाद (रिंग बर्म)
साल्मोनेलोसिस
लेप्टोस्पाइरोसिस
टक्सोप्लाज्मा
लाइम रोग
कैम्फिलोबैक्टर इन्फेक्सन
जियार्डिया संक्रमण
राउन्ड वर्म
हुक वर्म (अंकुसे कीरा
फित्ते कीरा (टेप वर्म
हार्भेस्ट माइट
लुतो स्केबिज

रोचक तथ्य
ककुरले तीव्र गतिले पुच्छर हल्लाउँछ भने ऊ खुसी छ र ऊ तपाईंप्रति पूरा विश्वस्त छ
ककुरले खुट्टाको बीचमा पुच्छर लुकाउँछ भने त्यो डराएको अवस्थामा छ
‘कुकुरदेखि सावधान’ को चेतावनी सूचना प्राचीन रोमको एउटा सहरमा भएको घरको पर्खालमा करिब २७६१ सालअघि लेखिएको थियो ।
कुकुरको सुध्ने क्षमता मानिसभन्दा हजार गुणा बढी र सुन्ने क्षमता ५ गुणा बढी हुन्छ ।
ककुरको शरीरमा पन्जा र नाकबाट मात्र पसिना निस्किन्छ, त्यसबाहेक जीउको अन्य भागबाट निस्किँदैन

Loading...