Thu. Sep 19th, 2019

जनैपुणिको भोलिपल्ट संस्कार पद्धतिसंगै जोडिएको घोडे गाईजात्रा

फाईल तस्विर

३१ साउन ,

मनुष्य शरीर पञ्चमहाभूत– पृथ्वी, जल, तेज, वायु र आकाशबाट बनेको छ। यी तत्त्वको विखण्डन हुनासाथ शरीरको अवसान हुने गर्छ। त्यसैले हाम्रा प्राचीन मनीषीले पञ्चमहाभूतलाई अत्यधिक महत्त्व दिएका थिए। पञ्चमहाभूतबाटै पञ्चेन्द्रियको उत्पत्ति भएको थियो।

मनुष्य जीवनको सफलताका लागि पाँच इन्द्रियलाई खुला छाड्नु अर्थात् कुनै प्रकारको अंकुश नराख्नु सफल मनुष्य जीवनका लागि हानिकारक हुने गर्छ। आध्यात्मिक तवरले भन्ने हो भने मनुष्यको जीवनमुक्ति तब नै सम्भव हुन्छ, जब उसले इन्द्रियमाथि विजय प्राप्त गर्न सक्दछ। त्यसैले हाम्रा प्राचीन मनीषीहरूले इन्द्रिय विजय गर्नुलाई नै मोक्ष प्राप्तिको मुख्य सोपान मानेका छन्।

नेपालमा भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने सापारु अर्थात् गाईजात्रा तिनै तथ्यहरूकै परिप्रेक्ष्यमा प्रचलित हुँदै आएको हो। यो परम्परा चौधौँ शताब्दीदेखि चलिआएको प्रतीत हुन्छ।

यो पर्वको चर्चा तत्कालीन कान्तिपुर राज्यका राजा प्रताप मल्ल र रानीको पुत्र शोकसँग मात्र जोडेर हेर्नुले यो पर्वको वास्तविक मर्म मरेको छ। त्यसैले नेपाल खाल्डोको तीनै शहरमा भव्य रूपमा मनाइने पर्वको सम्बन्ध कान्तिपुर राज्यको एक घटनासँग मात्रै जोडेर हेर्नु कदापि जायज हुँदैन। गोयात्रा अर्थात् गाईजात्राको वास्तविक अर्थ थाहा नपाउनु वा जानकारहरूबाट यसको वास्तविक अर्थ प्रस्ट्याउने प्रयास नहुनुले जनमानसमा गलत सोचाइ प्रचारित हुन पुगेको छ।

नेपालमा प्रचलित अनेकौँ जात्रामध्ये संस्कार पद्धतिसित सम्बन्धित जात्रा पनि छन्। गोयात्रा तीमध्ये एक हो। यो यात्राको सम्बन्ध मृत्यु संस्कारसित सम्बन्धित छ। यस दिन धर्मशास्त्रमा वर्णित विधानबमोजिम गोयात्रा ठीकठीक सञ्चालन गरिएमा मृतक व्यक्ति गाईको पुच्छर समाती वैतरणी नदी पार भई मोक्ष प्राप्त गर्दछ। रगत, हाड, छाला, गुहु, मूत्र आदि बग्ने वैतरणी नदीको कल्पना यहाँको मात्र नभई युनानी अनुश्रुतिहरूमा पनि पाइन्छ।

तर, गोयात्राले मृतक संस्कारको अतिरिक्त मनुष्य जीवनको सफलताका लागि एक महत्त्वपूर्ण शिक्षा पनि प्रस्तुत गरेको छ। यस यात्राको गूढतम अध्ययन गरेमा यसले मनुष्य जीवनको सफलता इन्द्रियहरूको संयम गर्नसकेको खण्डमा मात्र सम्भव हुने कुरा इंगित गर्दछ। गोको अर्थ इन्द्रिय पनि हो, प्रकाश पनि हो र गाई पनि हो। त्यसैले गाईको पुच्छर समाती देश परिक्रमा गर्नु भनेको आफ्नो इन्द्रियलाई बडो यत्नसाथ संयम गर्न सकेमा मनुष्यले कुनै प्रकारको पाप कर्म गर्दैन र मोक्ष प्राप्त गर्दछ।

उपत्यकामा मनाइने गाईजात्रा पर्वमध्ये पाटन शहरमा निकालिने जात्रा निकै भव्य हुन्थ्यो, पहिले–पहिले। पाटन कृष्ण मन्दिरको संयोजकत्वमा मन्दिर प्रांगणबाट सुरु हुने जात्रा हेर्न टाढा–टाढाबाट मानिस आउने गर्थे। अहिले पाटन शहरमा हुने गाईजात्राको भव्यतामा ह्रास आएको छ। गाईजात्रा पर्वमा सहभागी भई शहर परिक्रमा गर्नेलाई स्थानीय केही टोलका मानिसहरू मारगणका रूपमा लिने गर्दथे। उनीहरू यो यात्रालाई भगवान् बुद्धको तपस्या भंग गर्न आएकाहरूको भीडका रूपमा लिने गर्दथे। त्यसैले गाईजात्रा हिरण्यवर्ण महाबिहारको अघिल्तिर पुग्दा बिहारको ढोका बन्द गर्ने चलन केही वर्षअघिसम्म पनि रहेको थियो। पाटन शहरमा मृतक संस्कारका रूपमा बौद्धमार्गीहरूले गाईजात्राको भोलिपल्ट मतया जात्रा मनाउने चलन रहेको छ। यी दुई यात्रा पर्वबारे गहन अध्ययन गरेमा हिन्दू–बौद्ध दर्शनको एक उज्ज्वल आदर्श स्पष्ट रूपले दृष्टिगत हुनेछ।

Loading...

अन्य समाचारहरु: