Thu. Sep 19th, 2019

तारादेवी र पुकार ‘स्ट्रङेस्ट खेलाडी’

२ भाद्र , काठमाडौं –

महिलातर्फ नेपाल पुलिस क्लबकी तारादेवी पुन र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका पुकार गुरुङ तेस्रो ओलम्पियन सुनीललाल जोशी स्मृति राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको ‘स्ट्रङेस्ट्र खेलाडी’ घोषित भएका छन् । उनीहरूले स्ट्रङेस्टको ब्यानेटसँगै ट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ सिनियरमा पुलिस क्लबका विकास थापा ‘बेस्ट लिफ्टर’ घोषित भए । पुरुषकै जुनियरमा प्रकाश केसी ‘बेस्ट लिफ्टर’ बने । महिलातर्फ सिनियरमा पुलिसकी संगीता राई र जुनियरमा सञ्जु चौधरी ‘बेस्ट लिफ्टर’ घोषित भए । पुरुषतर्फ बाँकेका तुषार बुढामगर र महिलातर्फ बर्दियाकी नन्दा थापामगर उदीयमान खेलाडी बने ।

प्रतियोगिताको पुरुष एक सय नौ केजीभन्दा माथिको तौलसमूहमा आर्मीका पुकारले तीनवटै विधामा राष्ट्रिय कीर्तिमान पनि बनाए । उनी आफैंले आठौं राष्ट्रिय खेलकुदमा बनाएको कीर्तिमान तोडेका हुन् । उनले आठौंमा स्नाचतर्फ एक सय २६ केजी, क्लिन एन्ड जर्कतर्फ एक सय ५० केजी र कुलमा दुई सय ७६ केजी तौल उचालेका थिए । उनले यसपटक स्न्याचमा एक सय २७ केजी, क्लिन एन्ड जर्कमा एक सय ५१ केजी र कुलमा दुई सय ७८ केजी भार उचाले । उक्त स्पर्धामा पुलिस क्लबका राजीव महर्जन दोस्रो भए ।

यसैगरी एक सय नौ केजी तौलसमूहको सिनियरमा पुलिसका सन्देश गुरुङले स्नाचमा एक सय ६ र क्लिन एन्ड जर्कमा एक सय ३५ गरि कुल दुई सय ४१ भार वहन गरे । यसअघि स्नाचमा उनकै नाममा एक सय केजीको कीर्तिमान रहेको थियो । सोही स्पर्धाको जुनियरतर्फ कञ्चनपुरका सागर भण्डारीले क्लिन एन्ड जर्क र कुलमा कीर्तिमान बनाए । उनले क्लिन एन्ड जर्कमा सन्देशको नाममा रहेको एक सय ३८ केजीको कीर्तिमान सुधार गर्दै एक सय ४७ केजी र कुलमा पनि सन्देशकै नाममा रहेको दुई सय ३८ केजीको कीर्तिमानमा सुधार गर्दै दुई सय ४७ केजी तौल उचाले । सागरले स्नाचमा भने एक सय पाँच केजी भार वहन गरे ।

यसैगरी एक सय दुई केजी तौलसमूहमा कञ्चनपुरका सुभाष उपाध्यायले तीनै विधामा कीर्तिमान बनाए । उनले स्नाचमा एक सय तीन केजी, क्लिन एन्ड जर्कमा एक सय ३० केजी र कुलमा दुई सय ३३ केजी भार उचाले । यसअघि सागर भण्डारीले आठौंमा स्नाचमा एक सय दुई, क्लिन एन्ड जर्कमा एक सय २२ र कुलमा दुई सय २४ केजीको कीर्तिमान बनाएका थिए । उक्त स्पर्धामा रोशन विक दोस्रो भए ।

Loading...

अन्य समाचारहरु: