Thu. Sep 19th, 2019

हराए बागेश्वरीका गरगहना


५ भदौ, नेपालगन्ज —

नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनले विभिन्न समय चढाएका बहुमूल्य गरगहनाहरू हराएका छन् । लाखौं मूल्यका गरगहना कहाँ कसरी हराए भन्ने बारे बागेश्वरी गुठी बेखबर छ ।

बागेश्वरीमा सतीदेवीको जिब्रो पतन भएको जनविश्वास छ। त्यसले भेटीमा सुनका नथिया, पाउजु, छाता, शिववर्तीको सुनचाँदीको मूर्ति, बाघ र गरुडलगायत मूर्ति चढाउने चलन छ ।

०२९ मंसिर ४ मा मन्दिरका तर्फबाट भुवनेश्वर नामका व्यक्तिले लिखत अभिलेख तयार गरी तत्कालीन मालपोत कार्यालय प्रमुखलाई बुझाएको गरगहना र हाल तिजोरीमा भेटिएका गहनाबीच अन्तर पाइएपछि गहना हराएको खुलेको हो ।

अदालतको आदेशपछि ०७४ फागुन ३० मा गुठीको जीर्ण तिजोरी खोल्दा दुई तोला सुन (तिलहरी, लाल) मात्रै भेटिएको थियो । २० किलो ३ सय ४ ग्राम चाँदीका माला, देवीदेउताका लागि ओढ्ने छाता, बाघ, लक्ष्मीका ससाना मूर्ति भेटिएका छन् । त्यसअघि ०२९ को अभिलेखमा भने ठूलो परिमाणको बहुमूल्य
गरगहना अभिलेखीकरण गरी बुझाइएको थियो ।

मन्दिरमा अभिलेखीकरण नगरी भेटीका रूपमा गहना चढाइने चलन अझै छ । विशेष पूजाका लागि मूल मन्दिरको चारैतिरको ढोका बन्द गरिन्छ । नेपालगन्जका हेमन्त कर्माचार्यले बागेश्वरी मन्दिरमा भक्तजनले चढाउने भेटीको हिसाब पारदर्शी हुनुपर्ने बताए । ‘भक्तजनले चढाउने भेटीको हिसाब प्रस्ट हुनुपर्छ र त्यसको पनि खोजी हुन जरुरी छ,’ एउटा छलफलमा उनले भने, ‘भेटीमा महन्तहरूको रजाइँ छ ।’

०२९ मंसिर ४ को अभिलेखअनुसार सिंहको मूर्ति बनेको डब्बाजस्तो चाँदी ८३ तोला, दुई खम्बा बनाइएको चाँदी १ सय २० तोला, भैरवगरुड जस्तो बनेको चाँदी १ सय ६५ तोला, करुवा चाँदी ४७ तोला, बत्ती बाल्ने पानस चाँदी ४८ तोला थियो । त्यस्तै, बत्ती बाल्ने आरती चाँदी १३ तोला, बाघको मूर्ति बनेको चाँदी ३३ तोला, खम्बाको टुक्रा चाँदी २८ तोला, भगवतीको मूर्तिलगायत केही थान देखाइएको छ ।

Loading...

अन्य समाचारहरु: