Thu. Mar 28th, 2024

५ लाख धरौटी बुझाएर छुटे रवि लामिछाने


९ भदौ, चितवन –

शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा रहेका सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेललाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ भने अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले लामिछानेलाई पाँच लाख र कँडेललाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अस्मिता कार्कीलाई भने साधारण तारेखमा रिहा गर्ने अदालतले आदेश दिएको छ ।

आत्महत्या दुरुत्साहन कसुरको मुद्दामा सोमबार जिल्ला अदालत चितवनमा रवि लामिछानेसहित तीनैजनाको बयान लिइएको थियो ।

आइतबार अस्मिता कार्कीको बयान लिइएको थियो । सोमबार रवि लामिछाने र युवराज कँडेलको बयान लिइएको हो । बयान सकिएपछि सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस भएको थियो । प्रतिवादी रवि लामिछाने र युवराज कँडेलको तर्फबाट ८ जना अधिवक्ता तथा अस्मिता कार्कीको तर्फबाट ७ जना अधिवक्ताले बहस गरेका थिए । त्यस्तै वादीतर्फबाट ६ जना अधिवक्ताले बहस गरेका थिए ।

पत्रकार पुडासैनी गएको साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि साउन ३० गते तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले १० दिन लगाएर अनुसन्धान गरेपछि आइतबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले आइतबार नै अदालतमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेसँगै अदालतले पक्राउ परेकाहरुको बयान लिन सुरु गरेको थियो ।


२०७६ भदौ ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: