Wed. Dec 4th, 2024

झण्डा हल्लाएर सोधिरहेका छन् विकटका पीडितहरु – चामल कहिले आउँछ ?

शंकर श्रेष्ठ, धादिङ – गाउँमा अलिअलि हिड्न सक्नेहरु र भाग्न सक्नेहरु गाउँको सिरानमा (डाँडा)मा पुगेर राहत कुरिरहेका छन् । जब आकाशमा हेलिकप्टर देखिन थाल्छ डाँडामा जम्मा भएर बसेका भुकम्प पीडितहरु हेलिकप्टर आफ्नै गाउँमा राख्नका लागि झण्डा हल्लाउन थाल्छन् । लापा गाउँ विकास समितिको तीरमा शनिबार राहत लिएर जाँदै गरेको हेलिकप्टरलाई गाउँलेहरुले झण्डा हल्लाएरै आफ्नो ठाउँमा हेलिकप्टर बसाए ।

flag uyttari dhaidng

वारिपारि पहिरो लडेको छ । सबैजसो घर लडेको छ । केही घरमात्र बाँकी छ तर बस्नै सकिँदैन । घर भित्र भएका सामाग्री पनि झिक्न सक्ने अवस्था छैन । पटक पटक आएको भुकम्पको धक्काले घरहरु लड्ने क्रम जारी छ । मानिसहरु पहिरो नलडेको र नभासिएको ठाउँमा पुगेर बसीरहेका छन् । सरकारले राहत पुर्याएको कुरा जिल्ला सदरमुकाममा रहेका कार्यालय प्रमुखहरुलाई जानकारी दिएको भएपनि गाउँलेहरुले अहिलेसम्म २ माना चामल पाएका छैनन् । भुुकम्पले क्षति पुर्याएको २१ दिन वितिसक्दा आकासमा देखेको हेलिकप्टरसंग राहत कुरिरहेका छन् । गाउँ सबै ध्वस्त भएकाले नक्साङ्कन पत्ता लगाउँनै कठिन छ । गाउँको स्वरुप नै परिवर्तन भएको छ । डाँडा भिरपाखा सबैतिर पहिरो देखिन्छ । केही वस्तीका मानिसहरु पहिरो छलेर भाग्न सक्ने अवस्थामा छैनन् । स्थानीय गैरसरकारी संस्था हिम्स नेपालले युएमएनबाट पठाइएको सामाग्री वितरण कार्य थालेको छ ।

गाउँमा एक किसिमको सन्नाटा नै भएको बेला केही दिन अघि भारतिय बायु सेनाको हेलिकप्टर गाउँको माथी आकासमा देखियो । त्यसले दुई फन्का लगाएर मानिस बसेको ठूलो चौरमा बस्ने प्रयास गर्यो तर सकेन । बस्न नसकेपछि माथीबाटै आलुबारीमा चामल फालियो । बोरा फुटेर चामल बारीभरि भयो । राहत कुरेको बेला उनिहरुले बारीको पाटामा पोखिएको चामल सोरेर त्रिपालमा जम्मा परे । केही बोरामात्र चामल गाउँमा पुगेकोले मानाले चामल र चिउरा सबैघरलाई बराबर भाग लगाए । आफुहरुले अहिलेसम्म राहतको नामा दुई बोका विस्कुट पाएको तिप्लीङ ठूलोगाउँका प्रकाश तामाङले बताए ।

हेलिकप्टरबाट मात्र खाद्यान्न पुर्याउनु पर्ने उत्तरी धादिङको रि, लापा, तिप्लिङ, सेर्तुङ, झार्लाङ लगायतका गाविसका अधिकांश वस्तीहरुको अवस्था यस्तै छ । कोही पनि घरमा बस्न सकिने अवस्था छैन । राहत बाँड्न पुगेको सरकारी टोलीले भत्केको घरवाला र मृतक परिवारलाई नगद हस्तान्तरण ग¥यो । तर गाउँमा खानेकुरा नभएकोले पैसा पाएर पनि गाउँ बासीले राहतको महसुस गर्न सकेका छैनन् । गैर सरकारी संस्थाहरुले रि, लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ लगायतका गाउँ विकास समितिको लागि ठिक पारेर राखेको चामल, दाल, नुन, तेल सहित खाद्य सामाग्री खुल्ला मञ्चमा थन्किएको छ । तर, हेलिकप्टर अभावले गर्दा विकट बस्तीहरुका मानिसहरु भोकै बस्न बाध्य छन् ।
घर भत्किएर विचल्लीमा परेकाहरुका लागि भनेर दुःखका साथ सामान जुटाइयो, गाडीमा लैजान बाटो छैन, हेलिकप्टर कुरेर बसेको एक साता वित्यो, अझै पाले आएको छैन, गैर सरकारी सस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्यालले बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिसंग गाविस सचिवले बुझेर लापा लैजान बाहिर निकालिएको राहत सामाग्री पनि एक साता अघिदेखि चौरमा नै थन्किएको छ । सामान तयार गरेर राखियो, हेलि आएन, पानीले भिजेर सबै बिग्रिसक्यो, खुल्ला मञ्चमा सामान कुरेर बस्दै गरेका लापाका देम्बा तामाङले गुनासो गरे ।
उत्तरका विकट वस्तीहरुमा सवारी मार्फत लैजान नसकिने भएकाले थप समस्या उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घरबाट ओड्ने ओछ्याउने समेत निकाल्न नसकेका कारण बालबालिका, सुत्केरी तथा गर्भवती र वृद्धहरुमा रुघाखोकी, ज्वरो र झडापखालाको समस्या देखिन थालेको छ । बाहिरै बस्ने र खानेकुराको कमी भएका कारण रुघाखोकी सहित ज्वारो आउने र अन्य किसिमका स्वास्थ्य समस्या देखिन थालेको स्थानीयबासीले जानकारी दिएका छन् ।

About The Author

अन्य समाचारहरु: