Thu. Sep 19th, 2019

बिमाले बिगार्‍यो सम्बन्ध


१८ भदौ , म्याग्दी —


परिवारमा कसैको दुर्घटना वा अन्य कारणले मृत्यु भएमा आश्रित सदस्यलाई आर्थिक राहत सुरक्षित गर्न बिमा गरिन्छ । तर, बिमा कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले अभिकर्ता मात्र होइन, सयौं बिमितले पहिलो किस्ता प्रिमियमपछि निरन्तर हुन सकेका छैनन् ।

‘बिमाको महत्त्व, प्रिमियम बुझाउने र बिमा भुक्तानी प्रक्रिया नबुझाई बढी कमिसनको लोभमा आफन्त, इष्टमित्र वा पैसावाला खोज्दै बिमा गराउने अस्वस्थ होडबाजी छ,’ एसियन लाइफ इन्स्योरेन्स म्याग्दीका प्रमुख हरि पौडेलले भने, ‘ढंग नपुर्‍याउँदा बिमा एजेन्टले आर्थिक क्षति मात्र व्यहोरेका छैनन्, सामाजिक सम्बन्धसमेत बिग्रेको छ । बलपूर्वक र आफन्तले भनिहाल्यो भनेर बिमा गराउनेमध्ये कम्तीमा १० प्रतिशतले दोस्रो प्रिमियम बुझाउँदैनन् ।’

सानो र थोरै जनसंख्या रहेको बेनीमा बिमा कम्पनीको ओइरो लागेको छ । १८ मध्ये १४ जीवन बिमा कम्पनीले बेनीमा शाखा खोलेर कारोबार गरिरहेका छन् । कम्पनीको ओइरोसँगै एजेन्टबीच पनि अस्वस्थ प्रतिस्पर्धा बढेको छ । कम्पनीले धेरै जनासँग पहुँच भएका राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, शिक्षक, कर्मचारी, सामाजिक अगुवा, महिला नेतृ र युवा विद्यार्थी संघ–संगठनका नेतालाई एजेन्ट बनाउँछन् ।

बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवाल गुराँस लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् । बरुवाल मात्र होइन, नेविसंघका केन्द्रीय सदस्य, नेका जिल्ला सदस्य, चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष तथा रेडियो म्याग्दीका स्टेसन म्यानेजर भरत रखाल सूर्या लाइफ इन्सोरेन्सका, अनेरास्ववियुका नेता तथा म्याग्दी क्याम्पस स्ववियु उपसभापति ईश्वर सुवेदी प्राइम लाइफमा आबद्ध छन् ।

यसैगरी गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष हरि पौडेल एसियन लाइफ, महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता जमुना आचार्य महालक्ष्मी इन्सोरेन्सका अभिकर्ता तथा जिल्ला प्रमुख हुन् ।

यी उदाहरण मात्र हुन्– शिक्षक, कर्मचारी र अन्य दर्जनौं व्यक्तिले सामाजिक जिम्मेवारीको लाभ यस्ता इन्स्योरेन्स कम्पनीमा चिनजान र आफन्तलाई बिमित गरी उठाएका छन् । जति धेरैलाई र जतिसक्दो धेरै बिमांक रकमको जीवन बिमा गरायो त्यति नै बढी कमिसन आउने भएकाले नेता, जनप्रतिनिधि, शिक्षक, कर्मचारी र सामाजिक कार्यकर्ता एजेन्ट हुन लालायित भएका छन् ।


२०७६ भदौ १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: