Sat. Jul 4th, 2020

जडीबुटीले पाएन बजार


४ असोज, इलाम –
निजी जग्गामा जडीबुटी खेती गरेर राम्रो कमाइ गरिरहेका पूर्वी पहाडी जिल्लाका कृषक यस वर्ष बजार समस्याले निराश छन् । पाखो जमिन र घुर्‍यानसम्म जडीबुटी रोपेर कमाइ गर्न थालेका उनीहरू उत्पादन बिक्री हुन छाडेपछि निराश भएका हुन् । इलाम, पाँचथर र ताप्लेजुङका लेकाली क्षेत्रका बासिन्दाको आम्दानीको मुख्य स्रोत बनेको जडीबुटी खेती बजार नपाएपछि खस्किँदै गएको छ । चिराइतो, लोठसल्ला र सतुवाको बजार खस्केको हो ।
यस क्षेत्रमा कार्यरत उच्च पहाडी संस्था, दीपज्योति युवा क्लबलगायतले व्यावसायिक जडीबुटी खेतीका लागि कृषकलाई सहयोग गर्दै आएका थिए । अहिले बजार नपाएपछि कृषक पुनस् खेतीको विकल्प खोज्न बाध्य छन् । सतुवा र चिराइतो मात्रै नभएर कुट्की, मजिठोजस्ता जडीबुटीको बजार मूल्य पनि खस्किएको छ । जडीबुटीको कारोबार गर्दै आएका सिदिङवा गाउँपालिकाका सबिन बानियाँ हरेक जडीबुटीको बजार मूल्य घटेको बताउँछन् । कुट्की सबैभन्दा बढी १८ सय रुपैयाँ प्रतिकिलोमा बिक्री भएको थियो । अहिले कुट्की संकलकले १२ सय रुपैयाँ मूल्य तोकेका छन् । माग नभएकाले बिक्री भएको छैन । ‘भारत र चीनका व्यापारीसँग सोधिरहेका छौं,’ सबिनले भने, ‘नल्याउनुहोस्, यहाँ माग छैन भनेर उनीहरूले जवाफ दिए ।’

खपत हुने कम्पनीमा डिमान्ड नभएकाले लान नसकिने भारत र चीनका व्यापारीले बताउने गरेको सबिनको भनाइ छ । अरूले छाडेपछि सबिन केही व्यक्तिसँगको सहकार्यमा जडीबुटीको कारोबार गर्दै आएका थिए । १५० रुपैयाँले कारोबार भएको मजिठो गत वर्ष ६५ रुपैयाँले किसानसँग कारोबार भए पनि यो वर्ष त्यो पनि ठप्प भएको व्यापारीले बताए ।

२०७६ असोज ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: