Fri. Oct 18th, 2019

दसैंका लागि बैंकबाट ४७ अर्ब झिकियो

१७ असोज, काठमाडौँ —


यो वर्षको दसैं किनमेलका लागि बैंक तथा वित्तीय संस्थाबाट ४७ अर्ब रुपैयाँ बाहिरिएको छ । यो यही असोज १ देखि १५ सम्म बैंक र वित्तीय संस्थाबाट झिकिएको पैसा हो । दसैं– तिहारको समयमा बैंक तथा वित्तीय संस्थाबाट सामान्य अवस्थामा भन्दा बढी पैसा बाहिरिने गरेको छ । अहिले पनि त्यही भएको हो ।

अन्य अवस्थामा भन्दा दसैं–तिहारलगायत ठूला चाडबाडमा मानिसको उपभोग प्रवृत्ति बढ्छ । यसकारण यो समयमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप धेरै झिकिन्छ । गत वर्षको भदौ मसान्तदेखि असोज मसान्तसम्म ६८ अर्ब रुपैयाँ बाहिरिएको थियो । यो वर्ष गएको २ सातामै करिब ४७ अर्ब रुपैयाँ बाहिरिएको राष्ट्र बैंकको तथ्यांक छ । चाडबाडको समयमा कारोबारी मुद्राको माग धेरै हुने भएकाले बैंकिङ प्रणालीबाट धेरै पैसा बाहिरिने राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए ।

हरेक वर्ष भदौदेखि असोज महिनामा चलनचल्तीमा रहेको मुद्राको परिमाण बढ्नुले पनि यो पुष्टि हुने उनको भनाइ छ । ‘दसैं–तिहारमा नागरिकले किनमेल ९कारोबार० का लागि धेरै मुद्रा माग गर्छन्,’ उनले भने, ‘यसकारण यो अवधिमा चलनचल्तीमा रहेको मुद्रा पनि बढ्छ ।’

राष्ट्र बैंकका अनुसार बुधबारसम्म ५ खर्ब ३९ अर्ब रुपैयाँ चलनचल्तीमा छ । दुई साताअघि ९असोज १ मा० यस्तो रकम ४ खर्ब ९२ अर्ब रुपैयाँ थियो । मानिसले किनमेलका लागि मात्र बैंकबाट पैसा झिक्दैनन् । निक्षेपका रूपमा बैंकमा रहेको पैसा विभिन्न प्रयोजनका लागि झिकिन सक्छ ।

अहिले बैंकबाट पैसा बाहिरिएको मात्रछैन, गत दुई सातामा वाणिज्य बैंकहरूमा मात्र करिब ४७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । असोज १ मा २८ खर्ब ८४ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप १५ मा २९ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

अघिल्ला साताहरूमा वाणिज्य बैंकहरूको निक्षेप घट्दो अवस्थामा थियो । पछिल्ला दुई सातामा परिस्थिति फेरिएको छ । अहिले स्थानीय तहका सरकारको खातामा अनुदानबापतको रकम गएकाले बैंकको खातामा निक्षेप बढेको राष्ट्र बैंकले जनाएको छ । स्थानीय सरकारको खातामा रहेको रकममध्ये ५० प्रतिशत बैंक आफैंले राख्न पाउने व्यवस्था छ । बैंकमा लगानीयोग्य रकम अभाव भएपछि सरकारले यस्तो सुविधा दिएको थियो ।

वित्तीय प्रणालीमा निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थामा अधिक तरलता ९लगानीयोग्य रकम० पनि बढ्न थालेको छ । बुधबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । यो बैंकहरूले राष्ट्र बैंकमा निर्ब्याजी रूपमा राख्नुपर्ने अनिवार्य नगद मौज्दात ९सीआरआर० बाहेकको हो ।

गएका दुई सातामा वाणिज्य बैंकहरूले ४९ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । असोज १ मा २८ वटा वाणिज्य बैंकको कुल ऋण प्रवाह २५ खब ६० अर्ब रुपैयाँ थियो । असोज १५ सम्म आइपुग्दा यस्तो लगानी २६ खर्ब ९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांक छ ।दसैंका लागि बैंकबाट ४७ अर्ब झिकियो

२०७६ असोज, १७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: