Thu. Mar 28th, 2024

कांग्रेस धादिङले असोज २६ गते चियापान र रक्तदान गर्ने

२४ असाेज, धादिङ-

नेपाली कांग्रेस धादिङले कोजाग्रत पूर्णिमाको दिन असोज २६ गते धादिङबेसीमा शुभकामना आदानप्रदान, चियापान र रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । दसैं, तिहार, नेपाल संवत् र छठ लगायतका चाडहरूको अवसरमा धादिङ कांग्रेसले उक्त कार्यक्रम गर्न लागेको हो ।

वि.सं.२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई कू गरी शासनसत्ता आफ्नो हातमा लिई तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेसका संस्थापक बीपी कोइरालालगायतका नेताहरूलाई बन्दी बनाएपछि ८ वर्ष लामो बन्दी जीवन र त्यति नै लामो भारतमा निर्वासनपछि अनेकन प्रतिकूलताका बाबजुद स्वदेशभित्रै प्रजातन्त्र पुनर्स्थापनाका लागि संघर्ष गर्ने उद्घोषका साथ कोइरालाले वि.सं.२०३३ पुस १६ गते “राष्ट्रिय एकता तथा मेलमिलापको नीति” लिएर नेपाल फर्केपछि ०३४ सालबाट हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने प्रचलन बसालेका थिए । गत वर्षदेखि उक्त कार्यक्रम सबै जिल्लामा आयोजना गर्न थालिएको हो ।

धादिङ कांग्रेसले शुभकामना आदानप्रदान र चियापानसंगै पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा देखिएको रगतको उच्च आवश्यकतालाई ध्यानमा राखी रक्तदान कार्यक्रम पनि राखेको छ । स्वयंसेवी रक्तदाता र इच्छुकहरूलाई कार्यक्रममा रक्तदान गर्न उसले आग्रह गरेको छ ।

कार्यक्रममा उसले आफ्नो पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेताकार्यकर्ताहरू, जिल्लास्थित राजनीतिक दलका प्रमुख र नेताहरू, स्थानीय तहका नेतृत्वहरू, जनप्रतिनिधिहरू, सरकारी कार्यालयका प्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू, पेशागत, व्यवसायिक, बैंक तथा वित्तीय र सहकारी संस्थाका प्रमुखहरू, सञ्चार गृहका प्रमुख र संचारकर्मीहरू, नागरिक समाजका अगुवाहरू, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरू, मानव अधिकार संस्थाका प्रमुख र मानव अधिकारवादीहरू, बुद्धिजीवी, पेशाकर्मी, प्राध्यापक, शिक्षक, साहित्यकर्मी, उद्योगी, व्यवसायी, किसान, मजदुर, खेलाडी, युवा, विद्यार्थी र आमजनसमुदाय सबैलाई आतिथ्य र सहभागिताका लागि अपिल गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: