Thu. Jul 18th, 2024

राहतले मानिसलाई मगन्ते बनायो

सरिता श्रेष्ठ, धादिङ – 

sarita
यतिबेला बारीमा लगाइएका मकै, कोदो गोड्ने बेला भएको छ । खेतमा लगाइएका धानहरु गोडमेल गर्न किसानहरु व्यस्त हुने समय यतिखेर नै हो । हर्षले काम गरी उब्जाएका बाली स्याहार्दै किसानहरु एक वर्षलाई पुग्ने अन्न सपार्ने सपनामा थिए । तर बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले किसानहरुको त्यो सपना चकनाचूर पारेको छ । अहिले किसानहरुको आँखा न त मकै, कोदो गोड्ने बारीमा पुगेको छ भने न त धान लगाएका खेतमा पुगेका छन् । दैनिक आफ्नै घरमा उब्जाएका ताजा ताजा तरकारी खाने रहर भूकम्पले समाप्त गरेको छ । भूकम्पले घर लड्यो, वरपर रहेका करेसाबारीमा लगाइएका तरकारीहरु पनि सबै घरले पुरिदिए । ताजा, स्वादिष्ट तरकारी खाने कुरा त परै जाओस् घरमा भएका अन्न पात झिकेर तत्कालको गर्जो टार्न समेत धौ धौँ परेको छ । अबका बाँकी दिनहरु के खाएर गुजार्ने भन्ने चिन्ताले यतिखेर पिरोलेको छ ।

भूकम्पपछि ग्रामीण भेगका कतिपयको दैनिकी हातमा धोक्रो र नाम्लो बोकेर राहत भएको ठाँउमा दुगुर्ने बनेको छ । गाँउमा आएका गाडीहरुलाई घेरेर केही राहत लिनु छ । केही दिनका लागि पापाको जोहो गर्नु छ । बालबच्चाको रुवाइ कम गर्नुछ । वृद्धा भएका आमाबुबाको ओठमा हाँसो ल्याउनु छ । वर्खामा ओत लाग्ने बसाईको निर्माण गर्नुछ । यतिका धेरै कुराहरुबाट जोहो गर्न आफ्नो दैनिकी नै परिवर्तन गरी मानिसहरु मगन्ते बनेर हिँड्नु परेको छ ।मानिसहरु आफू केही गरेर खाउ भन्ने होइन की कसले के दिन्छ भन्ने प्रवृतिमा पुगेको छ । पुरिएकाहरुको उद्धार, मरेकाहरुको सत्गत, घाइतेहरुको उपचार, बाँचेकाहरुलाई छाक, ओत यी सबै एकसाथ व्यवस्था गर्नुपर्ने चुनौती हाम्रा सामु ठिङग उभिएको छ । भूकम्पका कारण कतिपयले घरपरिवार, आफन्तजन गुमाए, कति बेपत्ता भए, कति घाइते भए । घरभित्र रहेका अन्नपात माटोमा मिसिए, तत्कालका लागि गर्जो टार्ने कुरा समेत केही रहेन । बल्लतल बाँचियो, खाने अन्न केही छैन । त्यसो त भूकम्पपछि धेरैले धेरै थरी राहतहरु वितरण गरिरहेका छन् । देश विदेशमा रहेका हजारौँ, लाखौँ दयालु मनकारी मन भएका नेपालीका सहयोगी मनहरु प्रशस्त भेटिए ।

भूकम्पपछि बाँडिएको राहत भन्ने चिजले मानिसहरुलाई मगन्ते जस्तै बनाएको छ । सित्तैमा खान, बस्न पाइन्छ भनेपछि कुटो, कोदालो, हसिया पन्छाएर राहतको पछि कुदिरहेका छन् । पीडित भइसकेपछि अरुबाट प्राप्त गरेको खानेकुरा खान पाइन्छ भन्ने मानसिकता घुस्रेको छ । मानिसहरु एक वर्षलाई पुग्ने राहतको जोहो होइन एक महिनालाई पुग्ने राहतको जोहोमा अत्तालिएका छन् । बाडिएका राहतहरुले हातका पाखुरीहरुलाई आड दिएको छ । भूकम्पले आफै गरेर खाँउ भन्ने मानसिकता कसैको मनमा अट्न सकेको छैन । गरी खाने हातहरुमा धक्का परेको छ ।हामीलाई युगले योजनाबद्ध, भविष्यमुखी व्यवस्थित विकासको बाध्यात्मक संघारमा ल्याएर उभ्याइदिएको छ । त्यसलाई मुलुकले सदुपयोग गर्न सक्नुपर्छ । मगन्ते मानसिकता सरकार र जनता दुवैले नत्यागी यो वास्तवमै ऐतिहासिक जिम्मेवारी पुरा गर्न सकिँदैन । गरिब हुनु अपराध होइन, तर सधैं मगन्ते मनोवृत्ति राख्नुचाँहि गलत हो । आफ्ना आवश्यकताहरुको सिङगो खाका प्रस्तुत गर्न सक्षम हुनु अहिलेको मुख्य चुनौती देखिएको छ ।

गरिब अरुले बनाउने होइन यो त स्वंय नै हुने कुरा हो । मानिसहरुले म गरीब हुन्छु भनेर कल्पना नी गर्दैनन् । र बन्न नी चाहदैनन् । जस्तो छ त्यसैमा टरिरहेका हुन्छ तैपनि आज भन्दा भोलि, भोलि भन्दा पर्सि आवश्यकता परिपूर्तिका लागि दौढिरहेका हुन्छन् । मानिसले अनगिन्ती सपना सोचिरहेका हुन्छन् ।आम नागरिकको मानसिकता र व्यवहारले यो मुलुकलाई जै भिख माग्ने जोगी जस्तै बनाइसकेको स्थिति छ । गरिबको माग्नुपर्ने बाध्यता र माग्नेको गरिब देखाउनुपर्ने बाध्यता सीर्जना भएको छ । देशले नै मगन्तेको भेष बदलेपछि नेपालीहरु मात्र के कम हुन सक्थे र अर्काको जायजेथामाथि रमाउने नेपालीहरुको बानीले नेपालमा आएको विनाशकारी भूकम्प र त्यसपछिको विपद् व्यवस्थापन गर्न जुटेका सहयोगी मनहरुलाई छोड्ने कुरा भएन । हजारौँ हातले दिएका सुनौला सहयोगहरु हामीले दुरुपयोग गर्दै छौँ ।

भूकम्प प्रभावितका लागि सरकारले बनाएका तथ्यांक र योजनाहरु उत्तिकै हास्यास्पद छन् । भूकम्पपछि ज्यान गुमाउने परिवारलाई यति, घाइतेलाई उति भनेर सरकारले पीडितको हाँसोमा ढुङगा हानेको छ । सरकारले गरेको विकासका लामा गफहरुलाई चरितार्थ गरी पीडितको पुननिर्माण, पुनस्र्थापना र पुनर्वास गर्न सके ती लाचार मनहरुले शान्तिको आभास गर्न सक्नेछ ।अब राहतमै रुमलिइरहनु हुँदैन । अवस्था तीतो लाग्ला, तर यथार्थ फरक किसिमको छ । राहतमा सरकार, कुन संस्था वा व्यक्तिले के गरे वा के गरेनन् भन्ने आरोप र प्रत्यारोपलाई छोडेर अब के गर्ने भन्ने कुरामा अघि बढ्नु जरुरी छ । मानिसमा भएका यस्ता नकारात्मक भावहरुलाई अन्त्य गरी आफ्नै पसिना बगाउन सके बाँकी दैनिकीहरु चलाउन सहज होला । नत्र भूकम्पले तहसनहस बनाएका यी संरचनासँगै बाँकी सपनाहरु कालान्तरमा पछि हट्नेछ ।

About The Author

Loading...