Thu. Nov 14th, 2019

नौबिसे –नागढुङगा सडकखण्डमा फेरि सुरु भयो कालोपत्रेको काम


२९ असोज, धादिङ –


नौबिसे–नागढुङगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ । दशै अघि सवारी रोकी कालोपत्रे सुरु गरेपनि अत्याधिक सवारीजामका कारण स्थगित गरिएको थियो । दशै सकिए लगतै मंगलबारबाट पुनः सुचारु गरिएको हो ।

मर्मतको काम जतिसक्दो चाडो सकाउनका लागि ठेकेदार कम्पनीले कामदारहरु परिचालन गरेका छन् । सडक विभागले बिहान १० बजेदेखि नै कालोपत्रेको काम सुरु गर्ने भनेर प्रहरी र प्रशासनलाई जानकारी दिएका थिए । टाढाबाट आएका रात्रीबसहरु यहि समयमा काठमाडौँ प्रवेश गर्दा सवारीको लाम लाग्ने भएका कारण दिउँसोको समयमा मात्रै काम गर्न अनुरोध गरेका छन् ।

वषौदेखि जीर्ण नेपालकै पूरानो त्रिभुवन राजपथ अन्र्तगतको नौबिसे–नागढुङगा पार गर्दै देशका ६५ भन्दा बढी जिल्ला आवातजावत गर्छन् । सडक वर्षौदेखि जीर्ण भएका कारण प्रत्येक वर्ष मर्मतका लागि लाखौँ रकम खर्चने गर्छन् । यस वर्ष पनि डिभिजन सडक कार्यालय भरतपुरले जीएमआर कम्पनीलाई सडक मर्मतको जिम्मा दिएको थियो । असार अगावै सकिसक्नुपर्ने काम वर्षा र विविध कारण देखाउँदै चाडपर्वको मुखमा आएर झारा टार्ने काम गरेको यात्रुहरुले आरोप लगाएका छन् ।

सवारीको चाप कम हुने समयमा सडक मर्मतको काम गर्नका लागि अनुरोध गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए । ‘बिहान र बेलुकाको समयमा सवारी चाप बढी हुन्छ, दिउँसोको समयमा गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘चाडपर्वको समयमा सडक मर्मत भन्दा पनि यात्रुलाई सुरक्षित र सहज रुपमा गन्तव्यमा पु¥याउन प्रहरी खटिएका छौँ ।’ दशै अगाडिदेखि नै बढेको सवारी चाप अहिले पनि उत्तिकै भएका कारण ठाउँठाउँमा ट्राफिक व्यवस्थापनका लागि प्रहरी खटाइएको उनले बताए ।

साँधुरो सडक र बढी मोड भएका कारण कालोपत्रे गरिएको समयमा एकतर्फि रुपमा मात्रै सवारी आवागमन गर्नु पर्ने हुन्छ । कुनै कारणले १० मिनेट मात्र अवरुद्ध हुदाँ लामो लाइन हुने यस सडकखण्डमा सडक मर्मतले घण्टौँ रोकिनुपर्दा यात्रुहरुले सास्ती भोग्नुपरेको उदाहरण पटक पटक छन् । दसैं–तिहारमा दैनिक १२ हजार देखि १८ हजार सवारीसाधन र मालवाहक गाडी राजधानी भित्रिन्छन् । दैनिक १८ हजार बढी सानाठूला सवारीसाधन राजधानीबाट बाहिरिन्छन् । यसरी गन्तव्यमा हिडेका सवारी साधन बीचमा नै रोकिने गर्दछ ।

सडकखण्डमा खाल्टाखुल्टी भएको उकालो र साँघुरो बाटो, घुमाउरा मोड, अत्यधिक भार बोकेका गाडी र लेन अनुशासन मिच्ने प्रवृत्तिले पनि सडक जाम त्यतिकै हुने गर्छ । चाडपर्वको समयमा अत्याधिक भार बोकेर आएका सवारी साधनले झनै सडक भासिने गर्दछ । बढी भारले काठमाडौंबाट बाहिरिने र त्यहाँ छिर्ने मुख्य नाका नौबिसे–नागढुंगा सडकखण्ड मर्मत धेरै दिन टिक्दैन । सवारी चापले मर्मत गरेको महिना दिनमै सडक जीर्ण हुन थाल्छ । अत्यधिक भार बोकेका सवारीसाधनले काठमाडौँ प्रवेशको देब्रेलेन बिगारेर खाल्डाखुल्डी बनाउने गर्छ ।

२०७६ असोज २९ गते प्रकाशित

Loading...