Fri. Mar 29th, 2024

फिल्मको झमक रोचक”

२६ कार्तिक –


साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडा कि फूल’ मुलुकभर प्रदर्शन भइरहेको छ । फरक शारीरिक अवस्था भएकी झमक धनकुटा नगरपालिका–६ कचिडेस्थित निवासबाट फिल्मबारे प्रतिक्रिया दिन व्यस्त छिन् । मदन पुरस्कार विजेता घिमिरेसँग गरिएको कुराकानी

साहित्यकार झमक घिमिरे धनकुटा कचिडेस्थित घरमा आइतबार आमा आशाकुमारीका साथ ।
के गर्दै हुनुहुन्छ अचेल
सामान्यतः साहित्यिक सिर्जना अनि पठन । पुस्तकहरूमा हराउँदा निकै आनन्द आउँछ ।
कुन पुस्तक पढ्दै हुनुहुन्छ 
अहिले त कर्ण शाक्यको ‘म सक्छु’ र नीलम कार्की निहारिकाको ‘योगमाया’ पढ्दै छु । दुवै पुस्तक उत्प्रेरणात्मक छन् । मेरो आफ्नै लेखन चाहिँ ठिकठिकै चल्दै छ । मुड भएको बेला लेख्छु ।
फिल्म कत्तिको हेर्नुभएको छ 
पहिले खुब हेरिन्थ्यो ।
पहिलो पटक हेरेको नेपाली फिल्म
धेरै वर्ष पहिले नेपाली ‘संघर्ष’ हेरेकी थिएँ । कविताराम श्रेष्ठले बनाउनुभएको । उहाँ स्वयम्ले पनि अभिनय गर्नुभएको थियो । टेलिचलचित्रमध्ये ‘अविरल बग्दछ इन्द्रावती’ र ‘दलन’को सधैं स्मरण गर्छु । केही अंग्रेजी, हिन्दी र जापानी फिल्म पनि हेरेकी छु ।
सम्झन लायकको कुनै बायोपिक छन् कि 
छन् नि । ‘हेलेन केलर द स्टोरी अफ माइ लाइफ’ विशेष सम्झिन्छु ।
हेलेन केलर पनि तपाईंजस्तै फरक शारीरिक अवस्थाकी हुनुहुन्थ्यो, फिल्म हेर्दै गर्दा कस्तो अनुभूति गर्नुभयो 
हेलेन केलर र ममा धेरै फरक छ । विकसित देशमा जन्मिएकी हुनाले उनले शिक्षादीक्षा र सुविधायुक्त जीवन बिताउन पाइन् । मैले उनको जस्तै अवसर पाएको भए साहित्यकार मात्र हुन्नथेँ, मेरो नामअगाडि वैज्ञानिक झमक घिमिरे भन्ने उपाधि पनि जोडिन्थ्यो । अर्थात् म वैज्ञानिक बन्थेँ ।
वैज्ञानिक हुने अवसर पाउनुभएको भए केमा केन्द्रित हुनुहुन्थ्यो 
आइस्टाइनले सापेक्षतावादको सिद्धान्त प्रतिपादन त गरे, त्यसपछि के छ त भन्ने प्रश्न उब्जिरहन्छ, त्यसमा म अनुसन्धान गर्थें भन्ने लागिरहन्छ ।
‘जीवन काँडा कि फूल’ फिल्म हेर्नुभयो त
आफ्नै जीवनीमा आधारित फिल्म नहेर्ने त कुरै भएन नि । तीन पटक हेरिसकेँ । हलमा चल्नुभन्दा अघि नै हेर्ने अवसर मिल्यो ।
कस्तो लाग्यो 
आफैंमाथि बनेको फिल्ममा दर्शक बनेर हेर्दा पुरानो समाज चिहाएको महसुस भयो । मेरो भूमिका गर्ने कलाकार रोजिता बुद्धचार्य र अवस्था थापाले असाध्यै राम्रो अभिनय गर्नुभएको छ । मेरो जीवन भोगाइबारे पात्रहरूले गरेको अभिनय मलाई विशेष रोचक लागेको छ । यो अहिलेको समाजको चित्रण होइन । कतिपयले मेरा बुबाआमालाई फिल्मको जस्तो फरक स्वभावको ठान्लान्, मलाई असाध्यै माया गर्ने आमाबुबाप्रति म नतमस्तक छु । फिल्ममा कतिपय कुरा बढाइचढाइ पनि भएको छ ।
फिल्मबारे के कस्ता प्रतिक्रिया पाइरहनुभएको छ
देश विदेशबाट प्रशस्तै प्रतिक्रिया आइरहेका छन् । खासगरी विदेशमा बस्ने नेपाली मलाई बढी जिज्ञासा राख्ने गर्छन् । सबैतिरबाट सकारात्मक प्रतिक्रिया आइरहेको छ । सामाजिक सञ्जालदेखि टेलिफोन म्यासेजमा मात्र नभई कतिपय त घरैमा आएर समेत फिल्मबारे सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । बायोपिक र अरू फिल्ममा फरक अवश्य हुन्छ । ९खुट्टाका औंलाले लेखिसकेपछि लामो समय हाँस्दै० सिर्जनामा कहीँ ताली र कहीँ गाली त जहाँ पनि भइहाल्छ नि ।
तपाईंले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आउनुभएको छ । फिल्म निर्माणको उद्देश्यले कथाको माग पनि भएको छ कि 
ठ्याक्कै मनको कुरा उठाउनुभयो । मलाई फिल्म बनाउन कथा माग भएका छन् तर म यसबारे अहिल्यै सोचमा छैन ।
नेपाली फिल्म कस्तो बनिनुपर्छ जस्तो लाग्छ 
नेपाली समाज झल्किने यथार्थपरक हुनुपर्छ । काल्पनिकताका नाममा कोरा कल्पना बेचेर हुँदैन ।

२०७६ कार्तिक २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: