Fri. Mar 29th, 2024

तीन लाखमा मिर्गौला किनबेच

२६ कार्तिक, काठमाडौ –

काभ्रेका आइते मगर परिवर्तित नाम केही महिनायता सधैंजसो मदिराको नशामा भेटिन्थे । खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे । कहिले गलैंचा कारखाना त कहिले गाडीमा खलासी बस्थे ।

गलैंचा कारखानामै चिनेका राजुले असार पहिलो साता उनलाई रत्नपार्कमा बोलाए । ‘मलाई चिनेको एउटा मानिसलाई मिर्गौला चाहिएको छ,’ राजुले मगर ९अदालतमा पेस भएको मिसिलमा उनको सांकेतिक नाम बबरमहल २ भनिएको छ० लाई प्रस्ताव गरे, ‘धेरै मानिसको एउटा मात्र मिर्गौला हुने रहेछ । तिम्रो जाँच गरौं । दुइटा भए एउटा दिँदा फरक पर्दैन । तिमीले तीन लाख रुपैयाँ पाउँछौ ।’

राजुले शंखरलाल लामाका लागि मिर्गौला खोजिदिएका हुन् । बाबुका लागि मिर्गौला खोज्न लामाका छोरा शिशिरसागर दौडधुप गरिरहेका थिए । राजुले त्यही दिन मगरलाई शिशिरसँग भेटाइदिए । शिशिरले पनि उसैगरी फकाए,‘मेरो बुबालाई मिर्गौला चाहिएको छ, तपाईंलाई एउटा मिर्गौला भए पनि केही फरक पर्दैन । धेरै मानिसले मिर्गौला झिकेका छन् ।’ जिल्ला अदालत ललितपुरमा पेस भएको आरोपपत्रअनुसार उनले मगरलाई ‘मिर्गौला प्रत्यारोपणपछि नगदै ३ लाख रुपैयाँ दिउँला’ भनी आश्वासन दिएका थिए । त्यसपछिका ३र४ वटा भेटमा शिशिरले मगरलाई हरेकपल्ट ४र५ हजार रुपैयाँ दिएर आश्वस्त पारे ।

मिर्गौला पाउने निश्चित भएपछि वनस्थलीस्थित डायलसिस सेन्टरमा डायलसिस गराइरहेका लामालाई पुल्चोकको निदान अस्पताल लगियो । त्यहाँ उनले आफ्ना भान्जा सञ्जीव घिसिङ मिर्गौला दिन तयार भएको बताए । अस्पतालका प्रशासन प्रमुख विपेन्द्र प्रधान र कानुनी सल्लाहकार कुमुदकुमार भट्टराईले आवश्यक कागजात तयार गर्न सल्लाह दिए ।

जिल्ला अदालतमा दर्ता भएको मिसिलअनुसार लामा र शिशिरले गाउँबाट भान्जाको नाता प्रमाणितको सिफारिसपत्र लिएर आए । अस्पताल आइसकेपछि भने उनै मगरलाई भान्जा बनाएर उभ्याए ।

लामाले बयानमा विवरण तोडमोड गरेका छन् । अस्पताल पुर्‍याइएका भान्जा डराएर मिर्गौला प्रत्यारोपणका लागि तयार नभएपछि मगरलाई ल्याउनुपरेको उनको भनाइ छ । ‘जसो गर्दा पनि नभएपछि निदान अस्पतालका कर्मचारीको सल्लाहबमोजिम आइते मगरसँग मेरो छोराले कुरा गरी मिर्गौला दिन तयार बनाएका हुन्,’ लामाको बयान छ । प्रहरीले भने सुरुदेखि नै मगरलाई अघि सारिएको निष्कर्ष निकालेको छ ।

२०७६ कार्तिक २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: