Sat. Dec 14th, 2019

दर्शकले मलाई छुच्ची भन्छन्

४ मंसिर, काठमाडौ –

भाइबहिनी हो, मेरो नाम लक्ष्मी गिरी। तिमीहरूले मलाई चिनेका पनि हुन सक्छौं। टेलिसिरियलमा खेलको तिमीहरूले देखेका होलाऊ।म काठमाडौंमै जन्मे, हुर्केको हुँ। मेरो बाल्यकाल पशुपति क्षेत्रमै बित्यो। पशुपति क्षेत्रभित्र वृद्धा श्रम अगाडि अस्पतालमा मेरो हजुरमुमाले काम गर्नुहुन्थ्यो। २०१६ सालमा स्टाफ नर्स पढेर मेरो हजुरमुमा देवकुमारी पौडल त्यो अस्पतालमा वार्ड भएर बस्नुभयो। पशुपति होमियोप्याथिकमा काम गर्न थाल्नुभयो। उहाँ नै मेरो प्रेरणाको स्रोत हो।

त्यतिबेला वागमती असाध्यै सफा थियो। वागमतीमा पौडी खेल्ने, नुहाउने गरिन्थ्यो। असला माछा नजिक आउँथे, रमाइलो लाग्दथ्यो। माछा समाउन खोज्दा एकदिन वागमतीमा डुबेको अझै बिर्सेको छैन।

गौरीघाटको एक स्कुलमा पढेँ। विजयसिंह सरले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। त्यो स्कुल सिध्याएपछि शारदा निम्न माध्यमिक विद्यालयमा पढ्न गएँ। त्यो स्कुल अस्पताल नजिकै थियो। त्यतिबेलैदेखि म स्काउटमा सेकेन्ड ग्रुप लिडर भएर काम गर्थे।

त्यो बेला हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो। नृत्य, गायन, वावविवादमा भाग लिन्थें। पहिलो वार्षिकोत्सवमा नेवारी र तामाङ सेलोमा डान्स गरेँ।

पढाइ र अतिरिक्त क्रियाकलाप चल्दै थियो। पढाइलाई पनि राम्रोसँग लगे। अहिलेको पढाइ ‘प्राक्टिकल’ भनिन्छ। अंग्रेजी राम्रोसँग पढ्न लगाइन्छ। तर त्यो बेलामा पढेका कतिपय कुरा अहिले आएर काम लागिरहेको छ। घोकेको कुरा कण्ठ हुँदोरहेछ, बिर्सिंदो रहेनछ। पहिलाको पढाइ केही राम्रो थियो, केही नराम्रो पनि थियो।

अहिले नैतिक शिक्षा पढाइ हुन्छ। त्यतिबेला पनि एकलव्यको कथा, पौराणिक कथा, सीताका कथा पढेर अनुशासित बन्न प्रेरित गथ्र्यो। बालबालिकालाई पिटेर, कुटेरभन्दा पनि यस्ता कथाले अनुशासित बनाउँछ। नैतिकवान् बनाउँदो रहेछ। मेरो पढाइ पनि असाध्यै राम्रो थियो। सबै विषय सजिला लाग्थे।

२०२८ सालमा नेपाल राष्ट्र बैंकमा जागिर खाएँ। पढ्न पनि पर्ने। त्यसो हँुदा मसँग भएको क्षमता दबिएको थियो। २०३८ सालमा नेपाल राष्ट्र बैंकको रजत महोत्सवमा मैले नाटक गर्ने मौका पाएँ। अडिसनमा म पहिलो भएँ। डबल ग्रेड पाएँ। राष्ट्र बैंकमा डबल ग्रेड पाउनेमा पहिलो महिला म नै होला।

त्यसपछि नाटक खेल्ने रहर जागेर आयो। २०४२ सालमा नेपाल टेलिभिजन स्थापना भयो। निजी क्षेत्रमा नाटकहरू स्थापना हुने क्रम सुरु भयो। प्रायजसो सबै नाटकमा मैले अभिनय गर्ने मौका पाएँ।

राष्ट्र बैंकमा जागिरका क्रममा समय व्यवस्थापन गर्न समस्या हुन्थ्यो। क्यासमा काम गर्ने गर्थें। हिसाब नमिले तनाव पनि हुन्थ्यो। सहकर्मी साथीहरूले रिसडाहा पनि गर्थे। सधैं बिदा लिएर नाटक खेल्न जान पनि समस्या हुन्थ्यो। अरूले बिदाको पैसा लिन्थे। मेरो बिदाको पैसा आउने अवस्था हुन्थेन।

त्यतिबेला चलचित्र उद्योग पनि व्यावसायिक बन्न सकेका थिएनन्। १५ दिन भनेर धेरै दिनसम्म झुलाउने चलन हुन्थ्यो। तर अहिले उद्योग क्षेत्र पनि व्यावसयिक बन्दै गइरहेको छ। एकदुई दिन यताउता हुनु स्वाभाविकै हो। अहिले समयमै काम सकिन्छ। यसो हुँदा समय व्यवस्थापन गर्न सजिलो हुन्छ।

सरकारले २०५० सालमा स्वेच्छिक अवकाशको अवधारणा ल्यायो। मैले कला क्षेत्रकै लागि भनेर राष्ट्र बैंकबाट अवकाश लिएँ। जागिर छोडे पनि घरमा बच्चाबच्ची हुर्काउँदै नाटक खेल्न थाले। त्यो नाटकले अमेरिका, बेलायत जाने मौका मिल्यो। मह सञ्चारमा बसेर नाटकको डाइलग कण्ठ गर्थे। मदन दाइ, हरि दाइहरूले मलाई धेरै माया गरेर सिकाउनुहुन्थ्यो।

कहिलेकाहीँ मध्यरातमा ब्यूँझिँदा पनि डाइलग कण्ठ पार्ने गर्थें। लगनशीलता, अनुशासन र धैर्यले सफलता प्राप्त हुँदो रहेछ। कला क्षेत्रले यिनै कुरा सिकाएको छ।

२०७६ मंसिर ४ गते प्रकाशित

Loading...