Sat. Dec 14th, 2019

यादवलाई सरकार निल्नु न ओकल्नु

९ मंसिर, काठमाडौ –

उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शनिबार पार्टी बैठकमा भाग लिन जाँदा निजी गाडी प्रयोग गरे । शुक्रबार साँझ दिल्लीबाट फर्केका उनी आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यभार सम्हाल्न जानुपर्ने थियो । मन्त्रालयमा उनको ‘नेमप्लेट’ टाँसेर कर्मचारी दिनभर कुरिरहे तर उनी पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईसहितका नेताहरूसँग उपनिर्वाचनसम्बन्धी कार्यक्रममा भाग लिन बिहानै पोखरा लागे ।

यादव भारतको नयाँदिल्लीमा रहेका बेला बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय परिवर्तन गरिदिएका थिए । त्यसअघि उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा थिए ।प्रधानमन्त्रीले ‘अपमानपूर्वक’ आफ्नो जिम्मेवारी फेरबदल गरेको भन्दै असन्तुष्ट रहेका यादवलाई सरकार ‘निल्नु न ओकल्नु’ भएको छ । न उनी दिएको जिम्मेवारी स्विकारेर अघि बढ्ने अवस्थामा छन् न सरकारबाट बाहिरिने ।

अपमानपूर्वक व्यवहार भएको भन्दै आफ्नै पार्टीले आपत्ति जनाइरहेका बेला यादव सरकार छोड्न डराइरहेका छन् । यसका पछाडि एउटा कारण हो– नेकपा र राजपाबीच संघदेखि प्रदेश २ सरकारसम्म हुन सक्ने गठबन्धन । ‘सरकार छोडिहाल्दा राजपा संघीय सरकारमा सहभागी हुन सक्छ, प्रदेश २ को सरकारको भविष्यमा पनि प्रश्न उठ्न सक्छ,’ यादवनिकट एक नेताले भने, ‘त्यसैले अहिले हतारमा निर्णय गरिहाल्नुभन्दा केही समय पर्खनु उपयुक्त हुन्छ भन्ने उहाँको निष्कर्ष छ ।’ समाजवादी पार्टीका पदाधिकारीको शनिबार राति अबेरसम्म बसेको बैठकमा यही विषयमा समीक्षा भयो ।

२०७६ मंसिर ९ गते प्रकाशित

Loading...