Fri. Mar 29th, 2024

भारतको अनुपस्थितिले स्वर्ण खुला

९ मंसिर, पोखरा –


खेलाडीको अन्तिम लक्ष्य स्वर्ण पदक नै हो। घरेलु मैदानमा जित्ने सम्भावना अझ बढी हुन्छ। आर्चरीमा अहिले स्वर्ण पदकको प्रतिस्पर्धा खुला भएको छ। भारतको अनुपस्थितिले बाँकी ५ देशले स्वर्ण पदकका लागि दाबी गर्ने सम्भावना बराबर देखिन्छ। स्वर्णको दौडमा घरेलु मैदानमा नेपाली खेलाडीभन्दा एक कदम अघि भने बंगलादेशी छन्।

दक्षिण एसियाली खेलुकद ९साग० मा भारतपछिको दाबेदार टोली बंगलादेश हो। बंगलादेशपछि मात्रै नेपालको नाम अगाडि आउँछ। त्यसमा पनि भुटान र श्रीलंकाले प्रतिस्पर्धाका लागि पछ्याउँदै आएका छन्। पाकिस्तान भने अली कमजोर टोलीमा चिनिन्छ। भारतको अनुपस्थितिले आर्चरीमा स्वर्णको लागि प्रतिस्पर्धा केही खुकुलो भने पक्कै भएको छ।

घरेलु मैदानमा दुईवटा स्वर्ण पदक जित्ने आशामा प्रशिक्षक छन्। स्वर्णमा पूर्ण रूपमा दाबेदारी गर्न सकिने सम्भावना भने प्रशिक्षकको भनाइले नै पुष्टि गरेको छ। ‘११औं र १२औं सागमा नेपालले कांस्य पदकमा मात्रै चित्त बुझाएको छ। अहिले घरेलु मैदानमा हँुदै छ। त्यसैले कम्तीमा पनि दुईवटा स्वर्ण पदक जित्ने आशामा छौं।’ आर्चरीका सहायक प्रशिक्षक वसन्त थकाली भन्छन्, ‘भारत नहँुदा सबैलाई स्वर्णका लागि सजिलो भएको छ।’

११औं सागमा नेपालले टिम इभेन्टमा कांस्य जित्दा १२औंमा पुरुष एकलतर्फको प्रतिस्पर्धामा प्रेम पुनले रिकर्भमा कांस्य पदक दिलाउँदै आर्चरीलाई पदकविहीनबाट जोगाए। सन २०१६ मा भारतबाट झन्डा बोकेर फर्किएको नेपाली टोली झन्डै तीन वर्षको अन्तरमा स्वर्णका लागि घरेलु मैदानमै प्रतिस्पर्धामा उत्रिँदै छ। अबको सात दिनपछि पोखरा मैदानमा ५० मिटर कम्पाउन्ड र ७० मिटरको रिकर्भ प्रतिस्पर्धा गर्नेछन्।

सरकारी लगानीअनुसार स्वर्णको अपेक्षा महँगो हुन्छ। आर्चरीको लागि सरकारी लगानी शून्यप्राय नै छ। शून्यप्राय लगानीबाट प्रतिफलको अपेक्षा गर्नु त्यति उपयुक्त पनि हुँदैन। यद्यपि घरेलु मैदानमा खेलाडीको उत्साहले पनि दुईवटा स्वर्ण पदकको अपेक्षा भने आशा गरिएको छ। ‘सरकारी लगानी शून्य छ। न मैदान स्तरीय छ न खेलाडीलाई प्रशिक्षण सामग्री नै,’ उनको भनाइ थियो।

उनका अनुसार बंगलादेशभन्दा हामी ६ वर्षअघिसम्म अगाडि थियौं। तर अहिले बंगलादेशले आर्चरीमा नेपाललाई धेरै पछाडि छाडेको छ। ‘सरकारी लगानी बढी छ। खेलाडीलाई सुविधा छ। आर्चरीको एकेडेमी नै छ,’ उनले भने, ‘१२ वर्षको उमेरदेखि नै एकेडेमीमा राखेर बच्चाहरूलाई आर्चरी सिकाउँछन्। नेपालमा भने त्यो छैन।’

बंगलादेशमा आर्मीको एकेडेमी छ। एकेडेमीमा बच्चाहरूलाई सिकाइन्छ। राम्रो गर्नेलाई त्यही नोकरीको अवसर हुन्छ। नेपालमा व्यवस्थित आर्चरी ग्राउन्ड छैन। ‘हाम्रोमा आर्चरी एकेडेमी नै छैन,’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने, ‘आवश्यक उपकरण पनि छैन। खेलाडीले आफ्नै बलबुताले खेल्दै आएका छन्।’ उनी आफैं सागमा कम्पाउन्डतर्फको प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै छन्।

उनका अनुसार पोखरामा बाहेक अन्यत्र उत्कृष्ट मैदान नै छैन। पोखरा रंगशालाभित्र आर्चरी मैदान निर्माणपछि पछिल्लो समय नियमित प्रशिक्षण हुँदै आएको छ। तीन वर्षयता नियमित प्रशिक्षणले पदकको आशा गर्न सकिने भन्दै आश मार्न नहुने उनको भनाइ थियो। १० स्वर्णका लागि नेपालसहित बंगलादेश, पाकिस्तान, भुटान र श्रीलंकाले प्रतिसपर्धा गर्नेछन्।

२०७६ मंसिर ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: