Thu. Mar 28th, 2024

बुढीगण्डकी आयोजनाको मुआब्जा : प्रतिआना ५० हजार देखि ७ लाख रुपैयाँसम्म निर्धारण


१६ मंसिर, धादिङ –


बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने धादिङको आरुघाट र खहरे तथा गोरखाको आरुघाट र आर्खेतको मुआब्जा निर्धारण गरिएको छ । दुवै जिल्लाको मुआब्जा निर्धारण समितिको आइतबार राति बसेको संयुक्त बैठकले डुबानमा पर्ने जग्गालाई विभिन्न समूहमा वर्गिकरण गरि मूल्य निर्धारण गरिएको हो । जग्गाको अवस्था हेरेर प्रतिआना न्यूनतम ५० हजार देखि अधिकतम ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।

गोरखाको आरुघाट क्षेत्रमा ५ सय ३७ र आर्खेत क्षेत्रमा ७२ रोपनी तथा धादिङको खहरे क्षेत्रको २ सय ४५ र आरुघाट विशालनगरको ९ सय १० रोपनी जग्गाको मुआब्जा निर्धारण गरिएको हो । जस अन्तरगत आरुघाट बजारतर्फ मुख्य सडकले छोएको ठाउँहरुमा आनाको साढे २ लाख देखि ७ लाख रुपैयासम्म, सहायक मार्ग भएका ठाउँहरुमा आनाको २ लाख २५ हजार देखि ३ लाखसम्म, गोरेटो बाटो भएका जग्गाहरुमा आनाको १ लाख ५० हजार र कुनैपनि प्रकारका बाटो नभएको जग्गामा आनाको ५० हजार रुपैया तोकिएको छ ।

त्यस्तै धादिङको खहरे बजारतर्फ मुख्य सडकले संग जोडिएको १०० फिटसम्मको जग्गालाई आनाको ९० हजारदेखि १ लाख २० हजारसम्म मुआब्जा तोकिएको छ । त्यस्तै १०० फिटको रेन्ज भन्दा बाहिरको जग्गालाई आनाको ५० हजार तोकिएको तामाङले जानकारी दिए । खहरे बजार तर्फ पनि डुवानमा पर्ने जग्गाहरुलाई ७ प्रकारको मुआब्जा दररेट राखिएको छ ।

मुख्य सडकमार्गमा पर्ने, सहायक सडकमार्गमा पर्ने, शाखा बाटोले छोएको, शाखा बाटो र मोटरबाटोले नछोएको लगायतका पक्षलाई आधार मानेर मुआब्जा तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।

बूढीगण्डकी आयोजनाबाट गोरखाको साविक १४ र धादिङको १३ वटा गाविस प्रभावित हुनेछन् । प्रभावित क्षेत्रको जग्गाको मुआब्जा गोरखातर्फ २०७३ मंसिरमा र धादिङतर्फ त्यसै वर्षको पुसमा निर्धारण गरेर वितरण थालिएको थियो ।

आयोजना निर्माणका लागि ५८ हजार १ सय ५३ रोपनी जग्गा अधिग्रहण गरिएको छ । बुढिगण्डकी आयोजनाको डुबानमा पर्नेमध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैया मुआब्जा वितरण भइसकेको इकाइका प्रमुख कृष्ण कार्कीले बताए । मुआब्जा निर्धारण भएपछि अब बजारक्षेत्रको करिब १७ सय ६४ रोपनी जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु हुने कार्कीले बताए ।

२०७६ मंसिर १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: