Sun. Aug 9th, 2020

इलाका प्रहरी कार्यलय दार्खाको नयाँ भवन उद्घाटन

२५ मंसिर, धादिङ

उत्तरी धादिङको खनियावास गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यलय दार्खाको नयाँ भवन उद्घाटन गरिएको छ । ३ नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक शेर बहादुर बस्नेतले बुधवार एक समारोहको वीच उद्घाटन गरेका हुन् । नयाँ भवनको उद्घाटन गर्दै ३ नम्वर प्रदेश प्रहरी प्रमुख बस्नेतले नयाँ भवनले प्रहरीको दिने शान्ति सुरक्षामा समेत सहयोग पु¥याउने विश्वास ब्यक्त गरे ।

विनाशकारी भुकम्प पछि अत्यन्तै कष्टका साथ प्रहरीहरु टेन्ट र टहरामा बसेर सुरक्षा प्रदान गर्दै आइरहेको अवस्थामा नयाँ भवन उद्घाटन भएसंगै शान्ति सुरक्षाको सेवा प्रवाहमा धेरै सजिलो भएको धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारले बताएका छन् ।

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको २ करोड ३८ लाख ०२ हजार ८ सय ४३ रुपैयाको लागतमा इलाका प्रहरी कार्यलय दार्खाको नयाँ भवन निर्माण सम्पन्न भएको हो । कार्यलय भवनसंगै प्रहरी ब्यारेक, मेश र शौचालय समेत नयाँ बनेको छ ।

दार्खा प्रहरीको उक्त भवन निर्माण गर्नको लागि २०७४ बैशाख २९ गते सिरुवा कन्ट्रक्सन कम्पनीले १ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का लिएको थियो । तोकिएको अवधिमा निर्माण सम्पन्न नभएपछि पटक पटक म्याद थप गरि अहिले निर्माण सम्पन्न भएको हो ।

साढे २ तले नयाँ भवनमा साना ठुला १६ वटा कोठाहरु रहेका छन् । भवनमा महिला प्रहरीको लागि छुट्टै ब्यारेक कोठाको ब्यवस्था, भित्रै शोचालय सहितको महिला पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष समेत रहेको छ ।

भवन उद्घाटन समारोहमा खनियावास गाउँपालिकाका प्रमुख रण बहादुर तामाङ, उपप्रमुख योमाया तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, जिल्ला न्यायाधिबक्ता बालकृष्ण वाग्ले, जिल्ला अनुसन्धान धादिङका अनुसन्धान उपनिर्देशक मुकुन्द मरहठ्ठा, नेकपा खनियावास अध्यक्ष फुर बहादुर तामाङ, पत्रकार महासंघ धादिङ शाखाका अध्यक्ष नवराज छत्कुली लगायतको सहभागी रहेको थियो ।

दार्खामा प्रहरीको नयाँ भवन बनेसंगै स्थानीयबासीहरु पनि खुसी भएका छन् । टेन्ट र टहरामा बसेर जनताको सुरक्षाको लागि खटिनुपर्दा धेरै नै अप्ठ्यारो भएको तथा जनतालाइ सुरक्षा दिनुपर्ने प्रहरी नै असुरक्षित भइरहेको अवस्थामा नयाँ भवन हस्तान्तरण भएसंगै जनताले पनि शान्ति सुरक्षामा थप मजबुत हुने अपेक्षा गरेको स्थानीय हरि तामाङले बताए ।

भवन उद्घाटनको अवसरमा नयाँ भवन निर्माणमा सहयोग गर्ने निर्माण ब्यवसायी सुर्य बहादुर तामाङ, इन्जिनियर बासुदेव साकोटा, जिल्ला प्रहरी कार्यलय धादिङका लेखा शाखाका विष्णु गोपाल श्रेष्ठ, र दार्खा प्रहरीका हवल्दार रेशम प्रजालाइ सम्मानित पनि गरिएको थियो ।

२०७६ मंसिर २५ गते प्रकाशित

Loading...