दोलखा– दोलखाको पश्चिमी गाउँ लाँकुरीडाँडा–७ की मङ्गली श्रेष्ठ बिहीबार सदरमुकाम चरिकोटस्थित एक सुन पसलमा आफूले लगाएको कानको झुम्का फुकाल्दै गर्दा भेटिइन् ।
पसलमा सुन बिक्री गर्न आएकी मङ्गलीको एउटै उद्देश्य थियो ुसुन बेचेर जस्ताको टहरा जोड्ने ।ु सदरमुकामको सुन पसलेलाई आफूले लगाएको झुम्का, तिल्हरी र औँठी बेचेर मङ्गलीले ४८ हजार जम्मा गरी नजिकैको अर्को हाड्वेयर पसलमा पुगेर जस्ता खरिद गरिन् ।
दोलखा सदरमुकाम चरिकोटका सुन पसलहरूमा मङ्गलीजस्तै गहना बेच्न आउनेको भिड निकै देखिन्छ । यतिखेर गहना बेच्नेहरूको एउटै उद्देश्य भनेकै जस्ता खरिद गर्ने र अन्नपात किनेर त्यसको जोहो गर्ने । सदरमुकामका सुन व्यवसायीका अनुसार सुन बेच्न आउनेहरू निकै बढेका छन् ।
‘मेरो सुन लिईदिनुस भनेर धेरै जसो महिलाहरू आउँछन्, केही पुरुषहरू पनि आउने गरेका छन्’ सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकको केफो सुन चाँदी गहना पसलका सञ्चालक कृष्ण धनुकेले भने।
गत वैशाख १२ गतेको विनाशकारी भूकम्प र २९ गतेको शक्तिशाली कम्पनले घर भत्काइदिएपछि अस्थायी कटेरा बनाउन जिल्लाका स्थानीयले सुनसमेत बेचेर जस्ता पाता खरिद गर्न थालेका छन् ।
जस्ता खरिदका लागि सदरमुकाम आइपुग्ने अधिकांश महिला र केही पुरुष सुन बेचेर छानोको जोहो गर्नेहरू भेटिने गरेको स्थानीय बताउँछन् ।
मङ्गलीका श्रीमान रोजगारीका क्रममा खाडी मुलुकमा छन् । ‘श्रीमान खाडी मुलुक मलेसियामा श्रम गरिरेका छन्, यहाँ खानामा समस्या भयो, छ जनाको परिवार पाल्नुछ, आफ्नो घर लड्यो त्यसैले सुन बेचेर भएपनि परिवार त पाल्नै पर्यो’ सानो बच्चा काखमा बोकेकी मङ्गलीले आँखाभरि आँसु पार्दै सुन बेच्दै भनिन्, ‘विपत्तीले गर्नु गर्यो, जस्ता किनेर लगेर डकर्मीलाई दिने पैसा समेत यहीँबाट पुर्याउनु छ ।”
मङ्गलीसगैँ लापिलाङ गाविस ४ की कल्पना थामीको पिडा पनि उस्तै छ । । उनी सुन बेच्न सदरमुकाम आउँदै गर्दा भेटिइन् । ‘श्रीमान विदेशमा हुनुहुन्छ, तुरुन्त पैसा आउने सम्भावना छैनु, उनले भनिन्, ुघरव्यवहार धान्न आफूले लगाएको गहना बेच्नु बाध्यता हो ।’
भूकम्पले घर भत्काएर बिचल्ली पारेपछि कल्पनालाई १४ जनाको परिवार पाल्ने चिन्ता छ । ‘आफ्नो सम्पत्ति सबै भुकम्पले सखाप पार्योु, कल्पनाले वेदना सुनाइन्, ुजिन्दगी जिउनैका लागि सुन बेचेको पैसाले जस्तापाता किनेर टहरा बनाउँदै छु ।’ । रासस