Sat. Jul 4th, 2020

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

२८ पुस , काठमाडौ –

कपिलवस्तु, धनुषा, पाल्पा र रामेछापका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।कपिलवस्तुको कपिलवस्तु नगरपालिका(७ धरमपनियास्थित सडकमा लु १ ख ६९१३ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार रुपन्देही रोहणी गाउँपालिका ५ बस्ने ३५ वर्षीया प्रमोवती पाण्डेको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १४ जनालाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको नगराईन नगरपालिका २ जटही अस्पतालस्थित सडकमा ज ३ प ८८४७ नम्बरको मोटरसाइकलको चेनमा साडी फसेर आइतबार साँझ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका ४ शान्तीनगर बस्ने ५५ वर्षीया माध्यमी देवी ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी ठाकुरको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको रहेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका ४ लोच्चगोठमा लु २ त ७२५७ नम्बरको ट्याक्टर सडकबाट करिब ७ मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक नवलपरासी पश्चिम तिलकपुर(५ बस्ने ३२ वर्षीय पुस्पराज थारुको घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापको मन्थली नगरपालिका ११ भट्टारस्थित सडकमा आइतबार साँझ ज १ त ९०७५ नम्बरको गुडिरहेको ट्याक्टरबाट खसेर गम्भीर घइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका नाटिला बस्ने ६४ वर्षीय रिपु लामिछाने मगरको तामाकोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२०७६ पुस २८ गते प्रकाशित

Loading...