Sat. Sep 19th, 2020

भूकम्पपछिको पुननिर्माण : पक्की भवनमा मख्ख विद्यार्थी


४ माघ, धादिङ

२०७२ साल बैशाखमा जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३ मूलपानीमा रहेको महेन्द्रोदय माध्यमिक विद्यालय तहसनहनस बने । त्रिपाल र पूरानो जस्ता संकलन गरेर पढाई सूचारु गरे ।

चार हिउँद र चार बर्खा अस्थायी टहरामा कठिनाईका साथ पढ्न बाँध्य बनेको विद्यालयको कक्षा १२ मा अध्ययनरत सुस्मिता अधिकारीले बताइन् । ‘भूकम्पपछि अस्थायी टहरामा बसेर पढ्नुपढ्दा डरैडरले पढाई पनि बिर्सने र विद्यालय आउन पनि मन लाग्दैनथ्यो’, उनले भनिन्, ‘बर्खामा कक्षाकोठाभित्र पानी चुहिदाँ पढाई नै प्रभावित हुने गरेको थियो ।’ चार वर्ष अस्थायी टहराले थेगेको विद्यालयमा अहिले पक्की भवन निर्माण भएको छ । पक्की भवन निर्माणपछि विद्यार्थीहरु खुसी भएका छन् । अस्थायी टहरामा कष्टका साथ पढ्दै आइरहेका उनी पक्की भवन, शौचालय, ल्याबको सुविधासहितको सेवा पाएपछि फूरुङग छन् । अब विद्यालयले खेलमैदान, खानेपानीको सुविधा तथा अन्य गतिविधिलाई नियमित रुपमा संचालन गर्ने हो भने सुनमा सुगन्ध हुने उनले बताए ।

निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ । विद्यालय भवन निर्माण पछि पढाईमा पनि सहज भएको महेन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यपक कुमार नेपालीले बताए । पक्की भवन भएपछि बर्खामा घाम पानी तथा हावाहुरीको समस्या र जाडोमा कठ्याङिग्रनु पर्ने समस्या टरेको प्रधानाध्यपक नेपालीले बताए ।

विद्यालयमा विज्ञान प्रयोगशाला, कम्प्यूटर ल्यावको समेत निर्माण गरिएको छ । फर्निचरका सामग्री सहित भ्याट बाहेक ७ करोड ३१ लाख लागतमा भवन निर्माण गरिएको हो । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा नेपाल सरकार शिक्षा मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई जिल्ला आयोजना कार्यान्वयन इकाई धादिङले विद्यालय निर्माण गरेको हो । शौचालयसहितको ६ वटा भवनमा २० वटा कक्षाकोठा निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धादिङका प्रमुख युवराज बगालेले बताए ।

भूकम्पपछि जिल्लामा अधिकांश विद्यालय भत्किएका छन् । भत्किएका विद्यालयका संरचना निर्माण तथा पुनर्निर्माणका लागि सरकारी निकाय तथा संघसंस्थाहरुले काम गरिरहेका छन् । समयमै भवन निर्माण हुन नसक्दा हजारौँ बालबालिका चिसो भूँइ र खुल्ला आकाशमा पढ्न बाध्य छन् । तर निर्माण सामग्रीको अभाव, ढुवानीको समस्या, कामदारको कमी जस्ता कारणले विद्यालय पुनर्निर्माणमा ढिलाइ भइरहेको छ । केन्द्रिय आयोजना अन्तर्गत जापानी सहयोग नियोग (जाइका) को ऋण सहयोग, एसियाली विकास बैक (एडीबी) र भारत सरकारको अनुदान तथा ऋण सहयोगमा विद्यालय पुननिर्माणको क्रममा छन् ।

हालसम्म जिल्लाभर दुई सय ४६ विद्यालयका दुई हजार चार सय ५० कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् । निर्माण सम्पन्न गरिएको विद्यालयमा पठनपाठन समेत सूचारु भइसकेको आयोजनाका इन्जिनियर निर्मल बोगटीले बताए । बोगटीका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन किसिमिले विद्यालय निर्माण भइरहेको छ । संघसंस्था मार्फत ६३ वटा विद्यालयका ९ सय ८ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने २ सय २८ कक्षाकोटमा निर्माणाधिन छन् ।

विद्यालय व्यवस्थापन समिति मार्फत एक सय ७६ विद्यालयका एक हजार दुई सय ६१ कक्षाकोठमा निर्माण सम्पन्न भइसकेको छ भने १ सय ९४ विद्यालयमा ४ सय ६४ कक्षाकोठा निर्माणाधिन छन् । ठेक्कामार्फत ७ वटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने ५५ विद्यालयमा ४ सय ५८ कक्षाकोठा निर्माणाधिन छन् ।

२०७६ माघ ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: