Tue. Feb 18th, 2020

अस्ट्रेलियामा डढेलो निभाउने विमान दुर्घटनामा परेको आशंका

९ माघ , सिड्नी –

अस्ट्रेलियाको जंगलमा लागेको डढेलो निभाउन प्रयोग गरिएको हवाई जहाज दुर्घटनामा परेको आशंका गरिएको छ । एएफपीका अनुसार बिहीबार अस्ट्रेलियाको सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा जहाज दुर्घटनाग्रस्त भएको आशंका गरिएको हो ।

‘मोनारो क्षेत्रमा आगो निभाउँदै आएको एउटा एयर ट्यांकरसँग सम्बन्ध विच्छेद भएको छ,’ न्यु साउथ वेल्स ग्रामीण अग्निनियन्त्रण कार्यालयले विज्ञप्तिमा भनेको छ। स्थानीय अधिकारीहरुका अनुसार जहाज दुर्घटनामा परेको विज्ञप्तिमा जनाइएको छ। जहाजको अवस्था बुझ्नका लागि हेलिकप्टरहरु पठाइएको छ। घटनाको अनुसन्धान गरिरहेको पनि अधिकारीहरुले जनाएका छन्।
दुर्घटनामा परेको आशंका गरिएको विमान बोइङ ७३७ हो। ‘वाटर बम्बिङ प्लेन’ नामले चिनिने यस्तो जहाजमा सामान्यतयाः दुई जना पाइलट हुने गर्छन्। यसले १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता राख्छ। साथै यसले आगो निभाउन प्रयोग गरिने विभिन्न पदार्थ तथा पानीको सहायताले जमिनमा रहेका अग्निनियन्त्रकलाई सहयोग पुर्‍याउँछ ।

सिड्‍नीबाट पाँच घण्टाको दूरीमा रहेको पहाडी क्षेत्रको झन्डै ९४ हजार हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ।सेप्टेम्बरबाट विभिन्न अस्ट्रेलियामा फैलिएको भीषण आगलागीका कारण अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ। झन्डै २ हजार घर ध्वस्त भइसकेको छ ।

२०७६ माघ ९ गते प्रकाशित

Loading...